गर्मीमा अमिलो, पिरो, फ्राई कुरा खाने मन सबैमा हुन्छ ।
स्वादका लागि मीठो भए पनि यस्ता खानाले मानिसलाई दीर्घरोगी बनाउँछ ।
सफा पानीले नपखालेका तथा नपाकेका सागसब्जी तथा माछा–मासु खाँदा अनेकौं समस्या उत्पन्न हुन सक्छन् ।
राम्रोसँग पखालेका फाइबरयुक्त खानेकुरा तथा फलफूल मात्र खानुपर्छ ।
बासी, सडेगलेका तथा बाहिर खुल्ला राखेका खानेकुरा खानुहुँदैन ।
जंकफुड तथा स्ट्रिट फुड नखानु नै वेश हुन्छ ।
सीधै फ्रिजका खानेकुरा खाँदा टन्सिल हुन सक्छ ।
गर्मीमा कम पानी पिउँदा जल वियोजन हुनसक्छ । त्यसैले दिनहुँ कम्तीमा पनि तीन–चार लिटर पानी पिउनुपर्छ ।
पानी पिउँदा छालासम्बन्धी रोगबाट पनि जोगिन सकिन्छ । पानी एकैपटक होइन पटक–पटक गरेर पिउनु लाभदायक हुन्छ ।
यो मौसममा दिनहुँ दही खाए शीतलता प्राप्त हुनुका साथै जलवियोजनबाट जोगिन सकिन्छ ।
यो मौसममा काँक्रा, खरबुजा आदि खान सकिन्छ जसमा प्रशस्त मात्रामा पानी हुन्छ ।
बाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्नुपर्छ ।
के गर्ने ?
पानी राम्रोसँग उमालेर मात्र पिउनुपर्छ ।
खाना बनाउनुअघि तथा खाना खानुअघि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।
दिसा–पिसाब गरेपछि तथा बाहिर गएर आएपछि साबुनपानीले हात धुनुपर्छ ।
सम्भव भए हातमा स्यानिटाइजर प्रयोग गर्न सकिन्छ ।
काँचा खानेकुरा खानुहुँदैन । खुल्ला रूपमा बेच्न राखिएका फलफूल, झिँगा भन्किएका खानेकुरा खानु हुँदैन ।
यतिबेला बाहिरको सलाद खानुहुँदैन । खानुपरे राम्रो पानीले २–३ पटक पखालेर मात्र खानुपर्छ ।
गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले फ्रिजमा राख्नुपर्छ ।
जारको पानी उमालेर तथा स्वच्छ बनाएर मात्र पिउनुपर्छ ।
दूध पनि राम्रोसँग उमालेर मात्र पिउनुपर्छ ।
बाहिर हिँड्दा मास्क प्रयोग गर्नुपर्छ ।
घरभित्र–बाहिर सफा राख्नुपर्छ । गमलाको प्लेटमा पानी जमेको भए पनि सफा गरिरहनुपर्छ । घर वरपर पानी जमेका खाल्डा पुर्नुपर्छ ।
सुत्ने बेलामा हातखुट्टामा तेल तथा क्रिम लगाउनुपर्छ ।
लामखुट्टेले फुल पार्ने तथा पानी जम्मा हुने सम्भावना नै समाप्त गर्नुपर्छ ।
लामखुट्टे तथा अन्य कीराको टोकाइबाट जोगिन फुल स्लिभका पहिरन लगाउनुपर्छ । सम्भव भए साँझ घरबाहिर निस्कनु हुँदैन ।
नियमित रूपमा झुल प्रयोग गर्नुपर्छ । फोहोर पानीमा पौडी खेल्नुहुँदैन ।