जाडो मौसममा निमोनियाँको संक्रमण बढी देखिन्छ । निमोनियाँ दिवस हरेक वर्ष १२ नोभेम्बरका दिन मनाइन्छ । निमोनियाँका बारेमा जनचेतना फैलाउन सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो । यो वर्षको निमोनियाँ दिवसको नारा ‘स्टप निमोनियाँ’ थियो ।
निमोनियाँ छातीमा हुने संक्रमण हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा यसको जोखिम बढी हुन्छ ।
यसको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या सिर्जना हुन्छ । कीटाणुले फोक्सोमा आक्रमण गर्ने भएका कारण फोक्सोका कोषहरू सुन्निन्छन् अनि सास फेर्न कठिन हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाँका कारण एक वर्षमा पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुन्छ भने नेपालमा उक्त संख्या पाँच हजारभन्दा माथि छ ।
लक्षण
रुघाखोकी लाग्नु ।
छिटोछिटो सास फेर्नु । सास फेर्दा घ्यारघ्यार आवाज आउनु ।
दूध खाने बालबालिकाले दूध चुस्न नसक्नु ।
कोखा हान्ने समस्या । निमोनियाँका लक्षण देखिए तत्काल अस्पताल लानुपर्छ । समयमै उपचार भएन भने ज्यानसम्म जान सक्छ । यसको उपचार अवस्था हेरेर गरिन्छ । कतिपय अवस्थामा सरल उपचारले निको हुन्छ भने कतिपय अवस्थामा एन्टिबायोटिक औषधि नै सेवन गर्नुपर्ने हुन्छ ।