बानेश्वरकी ११ वर्षीया निस्मा (नाम परिवर्तन) आमाका साथमा आफ्नो शारीरिक विकास नभएको गुनासो गर्दै वयोधा हस्पिटलमा डा. मनीषा मिश्रलाई भेट्न पुगिन् । उपचारको सिलसिलामा उनलाई थाइराइड भएको थाहा भयो । यसले गर्दा नै उनको शारीरिक विकास उचित ढंगमा नभएको रहेछ । निस्माको जस्तो समस्या अहिले धेरै बालबालिकामा देखा पर्न थालेको छ । ठूला मानिसको तुलनामा बालबालिकामा देखिने थाइराइड फरक हुन्छ । बालबालिकामा जन्मजात देखिने थाइराइडलाई कन्जेनाइटल हाइपोथाइराडिज्म भनिन्छ ।
- डा. मनीषा मिश्र, कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट, वयोधा हस्पिटल
थाइराइड किन हुन्छ ?
थाइराइड ग्रन्थि बन्ने बेलामा कुनै जटिल समस्या भएर यसको उत्पादनमा गड्बढी हुन्छ । त्यसले उत्पादन गर्ने हार्मोनको मात्रा धेरै न्यून तथा उत्पादन नै नहुँदा यो समस्या जन्मजात रूपमा देखिन्छ । गर्भवती महिलाले थाइराइडको औषधि सेवन गरिरहेको भए शिशुलाई पनि थाइराइड हुने सम्भावना हुन्छ । वंशानुगत कारणले पनि थाइराइड हुनसक्छ । यसैगरी आयोडिनको कमीका कारण पनि बालबालिकामा थाइराइडको समस्या देखापर्छ । घाँटीमा हुने थाइराइड ग्रन्थिबाट टी ३, टी ४ हार्मोनको उत्पादन हुन्छ । त्यसको कमी भएमा हाइपो थाइराडिजम देखिन्छ भने बढी उत्पादन भएमा हाइपरथाइराडिजम देखिन्छ । हाइपोथालामस र पिट्युटरी ग्रन्थिबाट थाइराइडमा जाने सन्देशात्मक हार्मोनमा गढबढी आउनाले पछि थाइराइडको समस्या देखापर्छ । थाइराइड हर्मोन लगायत अरु हर्मोनको पनि समस्या देखिन थाल्छ । जस्तो ग्रोथ हर्मोन, सेक्स हर्मोन ।
कस्ता समस्या देखापर्छन् ?
सामान्यत: कुनै एउटा मात्र समस्या वा लक्षणबाट जन्मजात थाइराइड भए नभएको छुट्याउन सकिँदैन । जन्मपछि क्रमिक रूपमा शारीरिक एवं मानसिक वृद्धि विकास हुँदै जाँदा देखिने लक्षणका आधारमा विशेषज्ञले मात्र यो रोग पहिचान गर्न सक्छन् ।
नवजात शिशुमा देखिने लक्षण
–दूध चुस्ने बेलामा समस्या ।
–कमलपित्त, सुस्तता, जिब्रो सामान्यभन्दा ठूलो ।
जन्मिएको केही सातापछि देखिने लक्षण
– अनुहारको आकृति फरक हुनु,
–पेट ठूलो हुनु र फुल्नु,
–गलगाँड देखापर्नु ।
बालबालिकामा देखिने लक्षण
–मोटोपन शिशुको तौल बढ्दै जानु ।
–धेरै दिनसम्म दिसा नआउनु, कब्जियत हुनु ।
–आलस्य हुनु, उचाइ नबढ्नु ।
–कुनै कुरामा ध्यान केन्द्रित नहुनु, सुस्त हुनु ।
–थाकेको महसुस हुनु, गल्नु ।
–टाउको दुख्नु । हातखुट्टा अनुहार सुन्निनु ।
–धेरै पसिना आउनु , छाला सुख्खा लगायत अन्य छालासम्बन्धी समस्या पनि देखिन सक्छ ।
–यी लक्षणबाहेक कतिपय बालबालिकामा थाइराइड ग्रन्थि सुन्नियो, घाँटीमा डल्लाडुल्ली देखियो भने पनि थाइराइड भएको हुनसक्छ ।
परीक्षणका लागि
थाइराइड भए नभएको थाहा पाउन रगतमा थाइराइड हार्मोनको मात्रा कति छ थाहा पाउनु आवश्यक हुन्छ । बालबालिकाको उमेरअनुसार थाइराइड हार्मोनको मात्रा फरक हुन्छ । हातखुट्टाको एक्सरे, घाँटीको अल्ट्रासाउन्ड तथा एफएनएसी थाइराइड ग्ल्यान्डबाट विशेष परीक्षण गर्न सकिन्छ ।
अहिले धेरै महिलामा थाइराइड पाइन्छ । त्यस्ता महिला गर्भवती भएपछि जन्माउने शिशुको पनि जन्मनासाथ थाइराइड चेकअप गर्ने ट्रेन्ड विकसित भएको छ । यसो गर्दा छिटो रोगको पहिचान भै शिशुमा पर्ने नकारात्मक मानसिक एवं शारीरिक असर समयमै कम गर्न सकिन्छ ।
सामान्यत: थाइराइड दुई किसिमका हुन्छन्– हाइपरथाइराडिज्म र हाइपोथाइराडिज्म । थाइराइड हार्मोन बढी उत्पादन हुने अवस्थालाई हाइपरथाइराडिज्म भनिन्छ भने कमी हुने अवस्थालाई हाइपो थाइराडिज्म भनिन्छ । धेरैजसोलाई हाइपोथाइराडिज्म भएको पाइन्छ ।
उपचार
थाइराइडबाट हार्मोन उत्पादन नहुने वा अति न्यून उत्पादन हुने एक मात्र उपचार विधि हो । थाइराइडको कमी हुँदा हर्मोन पूर्ति (रिप्लेसमेन्ट) गरिन्छ । र बढी उत्पादन हुँदा थाइराइड सप्रेसन गनुपर्ने हुन्छ । थाइराइडको उपचारपछि सामान्य जीवन यापन गर्न सकिन्छ । यसमा बालबालिकाले आफ्नो उमेरअनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ ।
थप जानकारी
–थाइराइडको औषधि सेवन गरिरहेका सबै महिलाले जन्माउने शिशुको थाइराइड जाँच गर्नु आवश्यक छ तर सबै शिशुमा थाइराइड हुन्छ भन्ने छैन ।
–अहिले ८–९ वर्षका बालबालिकामा बढी थाइराइड पाइएको छ ।
–प्राय: अभिभावकले बालबालिकाको विकासक्रम ख्याल गर्दैनन् । उचाइ नबढेपछि मात्र अस्पताल आउँछन् ।
–समयअनुसार शारीरिक विकास नहुनु तथा समय अगावै विकास हुँदा पनि थाइराइड हुने सम्भावना हुन्छ ।
–आयोडिनयुक्त खानेकुराको कमीका कारण पहाडी तथा हिमाली क्षेत्रका बालबालिकामा पनि थाइराइड देखिन्छ ।
–आयोडिन तथा अटो इम्युनका कारण थाइराइड ग्रन्थि बढेर गलगाँड देखिनसक्छ ।