स्तन क्यान्सर के हो ?
स्तनमा हुने क्यान्सर नै स्तन क्यान्सर हो। स्तनको कुनै पनि भागमा दुख्ने तथा नदुख्ने गिर्खा आउनु, दुवै स्तनको आकार समान नहुनु एवं स्तन सुन्निएर वा कडा भएर दुख्नु स्तन क्यान्सरको लक्षण हुनसक्छ।
कुन उमेरका महिलालाई स्तन क्यान्सर हुने सम्भावना छ ?
सामान्यतया २२ वर्षदेखि ९१ वर्षका महिलामा पनि स्तन क्यान्सर भएको पाइएको छ। नेपालमा महिलालाई मात्र नभएर पुरुषमा पनि स्तन क्यान्सर देखिएको छ। मेनापज (महिनावारी सुकेपछि) पछि स्तन क्यान्सरको जोखिम अझ बढ्छ।
स्तन क्यान्सरका लक्षण कस्ता हुन्छन् ?
स्तनको वरिपरिको भागमा गिर्खा आउने, दुवै स्तनको आकार समान नभई आकार तथा बनोटमा फरकपन देखापर्ने, स्तन सुन्निएर आउने तथा कडा भएर दुख्ने, स्तनको मुन्टाबाट पिप तथा रगत आउने, स्तनको मुन्टा सीधा बाहिर नफर्किएर दायाँ–बायाँ तथा घुमेर भित्रतिर फर्कने आदि लक्षण देखा पर्छन्। कतिपय अवस्थामा स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखिन्छ।
स्तन क्यान्सर हुने कारण के होला ?
जीवनशैली, खानपान तथा वंशानुगत कारणले गर्दा स्तन क्यान्सर हुने सम्भावना बढ्छ। मद्यपान तथा धूम्रपानका कारण पनि स्तन क्यान्सर हुनसक्छ। मोटोपन, ढिलो सन्तान जन्माउने, स्तनपान नगराउने तथा सन्तान नजन्माएका महिलामा पनि स्तन क्यान्सर हुने खतरा उत्तिकै छ।
यसबाट जोगिन के गर्न सकिन्छ ?
सबैभन्दा पहिले खानपान तथा जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ। आफैंले आफ्नो स्तन जाँच गर्नु स्तन क्यान्सर पत्ता लगाउने सबैभन्दा उत्तम उपाय हो। महिनावारी भएको ५ दिनमा ऐना हेरेर यस्तो जाँच आफैंले गर्न सकिन्छ। पहिले सीधा उभिएर दुवै हात माथि लाने। त्यसपछि दायाँ हातले हल्कासँग बायाँ स्तनको वरिपरि जाँच गर्ने। यसैगरी बायाँ स्तन पनि छाम्ने। यसो गर्दा गिर्खा भए–नभएको पत्ता लगाउन सकिन्छ। महिलाले लाज नमानी यो जाँच गरे रोग भए–नभएको समयमै पत्ता लाग्छ। यसबाहेक वर्षको एकपटक ३५ वर्ष उमेरभन्दा कमका महिलाले अल्ट्रासाउन्ड तथा ३५ वर्षमाथिका महिलाले म्यामोग्राम गराउनुपर्छ।
डा. ज्योति रायमाझी
ब्रेस्ट तथा कस्मेटिक सर्जन, वीरेन्द्र सैनिक अस्पताल, छाउनी