यो यस्तो रोग हो जसमा बिरामीहरूले विभिन्न रोगको लक्षण अनुभव गर्छन् । बिरामीहरू वर्षौंसम्म अनौठो लक्षणले ग्रसित हुन्छन् । रोग निको नहुँदा बिरामीहरू डाक्टरकहाँ जान्छन् र एक्सरे, इन्डोस्कोपी आदि गराउँछन् । कतिपय बिरामी क्यान्सर भएको शंका गर्छन् भने कतिपय बिरामी एड्स भयो भनेर चिन्तित हुन्छन् । यस्ता बिरामीहरू डाक्टरकहाँ जान्छन् तर समस्या भने मनोवैज्ञानिक हुन्छ । कसै–कसैमा वंशानुगत रूपमा यो रोग पाइन्छ । कतिपय टाउको दुख्ने, पेट दुख्ने, हात–खुट्टा नीलो भएको, सुन्निएको महसुस गर्छन् तर वास्तविक रूपमा त्यस्तो भएको पाइँदैन । कोही नाक, मुख आदिमा गडबडी भएको वा बिग्रिएको महसुस गर्छन् भने कोही आन्द्रा कुहिएको शंका गरी चिकित्सककहाँ पुग्छन् ।
लक्षण
शरीरका विभिन्न अंगमा रोगका लक्षण देखिए पनि परीक्षण गर्दा कुनै रोग देखिँदैन । यस्ता रोगका लक्षण अनौठा हुन्छन्, देब्रे खुट्टामा हानेको सिर्का दाहिने हातसम्म पुग्छ । शरीरभरि तातो महसुस हुन्छ । गुप्ताङ्गमा गडबडी भएको त तातो अनुभव भएको, झमझम गर्ने र शारीरिक सम्पर्क कम भएको महसुस हुन्छ । बिरामीहरू यस्ता लक्षण देखिएपछि चिकित्सककहाँ जान्छन् । कोही एड्स भएको र कोही क्यान्सर भएको शंका गर्छन् । अपच भएको महसुस गर्छन् । पेट पोलेको वा पेटमा अप्ठ्यारो महसुस गर्छन् । टाउको दुख्छ । मुटुको ढुकढुकी बढ्छ । ढाड दुख्छ । पखाला लागेको वा कब्जियत भएको अनुभव बारम्बार गर्छन् । कसै–कसैले शरीरका अंग बिग्रिएको महसुस गर्छन् । पेटमा हावा भरिएको अनुभूति हुन्छ । मुटु ढुकढुक गर्छ । छिटो–छिटो सास फेर्छन् ।
यो रोग कसरी छुट्याउने ?
यो रोगको लक्षण एकपटक मात्र देखिँदैन । यो बारम्बार दोहोरिन्छ र बिरामी उपचारबाट सन्तोष मान्दैनन् । रगत परीक्षण एवं एक्सरे गराउँदा पनि रोग पत्ता लाग्दैन ।
कुन उमेरमा यो रोग बढी पाइन्छ ?
यो रोग प्राय: ३५ वर्षअघि नै सुरु हुन्छ र वर्षौंसम्म रहन सक्छ ।
किन यस्तो रोग देखा पर्छ ?
यो रोगका धेरै कारण छन् । यद्यपि मनोवैज्ञानिक समस्या नै यसको प्रमुख कारण हो । दिनहुँ हुने नराम्रा घटनाहरू, चिन्ता, रोगका सम्बन्धमा थोरै जानकारी आदिले गर्दा हाम्रो बेहोसी मस्तिष्कमा यस्ता नकारात्मक कुरा सञ्चित भएर बसेका हुन्छन् जसले गर्दा यस्ता लक्षण आएको विश्वास गरिन्छ । त्यसबाहेक हाम्रो मस्तिष्कको नसामा न्युरोट्रान्समिटर भन्ने वस्तुमा गडबडी हुन्छ जसलाई सिटी स्क्यान एवं एम. आर. आई.जस्ता आधुनिक परीक्षणले पनि देखाउन सक्दैनन् ।
यो रोग निको हुन्छ ?
राम्रोसँग उपचार गरे यो रोग निको हुन्छ ।
उपचार कसरी गरिन्छ ?
बिरामीलाई सर्पोटिभ साइकोथेरापी दिइन्छ । बिरामीलाई समस्या अवगत गराइन्छ र बेहोसी मस्तिष्कमा रहेको ट्रेसलाई निराकरण गरिन्छ । विभिन्न किसिमका औषधि प्रयोग गरिन्छ ।
मानसिक रूपमा कसरी स्वस्थ रहने ?
अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोच नलिने । अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । पुराना कुरामा विश्वास नगर्ने । हरेक काममा खुसी, सन्तुष्ट र सुखी हुन सिक्ने । जे छ त्यसमा सन्तुष्ट हुने तर परिश्रम गर्न नछाड्ने । लागूपदार्थ एवं रक्सी सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै हुने भएकाले ती वस्तुबाट टाढै रहने। दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने । समाज वा घरपरिवारबाट नकारात्मक वातावरण अन्त्य गर्ने । अति नैतिकवान् नबन्ने र अरूबाट पनि त्यस्तो आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार तथा साथीभाइहरूलाई भन्ने बानी बसाल्ने जसबाट मनको चिन्ता कम हुन्छ । मनलाई सधै शान्त राख्ने । अति सानादेखि ठूला मानसिक समस्या हुन्छन् जसमा यस्तो समस्या छ उसले आवश्यक सरसल्लाह लिनुपर्छ ।
बिरामीले जान्नैपर्ने कुरा
शरीरका विभिन्न अंगको समस्या एकैपटक आउने हुनाले यो नसाको समस्या हो भन्ने बुझ्नुपर्छ । बिरामी उपचारका लागि सम्बन्धित ठाउँमा जानुपर्छ । रोगका बारेमा अनावश्यक शंका गर्नुहुँदैन । खानामा खासै बार्नु पर्दैन, सामान्य मानिसले खाने खाना खानुपर्छ । सम्बन्धित विशेषज्ञको रायअनुसार औषधि सेवन गर्नुपर्छ । यस्ता बिरामीले औषधि सेवन गरेको एक हप्तापछि मात्र समस्या समाधान भएको महसुस गर्छन् । कतिपय बिरामी घरायसी, जागिर, अध्ययन आदि समस्याबाट पीडित हुन्छन् । यस्ता बिरामी यी समस्याबाट निकै चिन्तित हुन्छन् तर त्यसरी आत्तिनु पर्दैन । कतिपय बिरामी शरीर पोल्ने हुनाले नुहाउँछन् । पाठेघरको शल्यक्रियापछि धेरै महिलामा यस्तो समस्या देखा पर्नसक्छ ।
यो रोगका बारेमा राम्रो जानकारी नहुँदा बिरामी धेरै उपचार केन्द्रमा पुग्छन् तर रोग निको हुँदैन । बिरामीहरूले नशा पोल्यो, नशा दुख्यो, क्यान्सर भयो र एड्स लाग्यो आदि भन्ने गरेको पाइएको छ ।
(नशा तथा मनोरोग विशेषज्ञ डा. सी. पी. सेडाईंसँगको कुराकानीमा आधारित समाग्री )