Successfully Copied

औषधिबिना पनि बाँच्न सिक्नुहोस्

आधुनिक जीवनशैलीमा औषधि सबैलाई प्रिय छ । केही मानिस स–साना पीडाबाट बच्न पनि औषधि सेवन गरिहाल्छन् ।

आधुनिक जीवनशैलीमा औषधि सबैलाई प्रिय छ । केही मानिस स–साना पीडाबाट बच्न पनि औषधि सेवन गरिहाल्छन् । अहिलेको व्यस्त जीवनशैलीमा सबै क्षणभरमै पीडाबाट छुटकारा चाहन्छन् र चिकित्सकसँग सल्लाह नलिई औषधि सेवन गर्छन् । कोही तत्काल फिजिसियनकहाँ जान्छन् । औषधिबाट टाढा रहन सकिँदैन तर पनि केही रोगबाट विनाऔषधि पनि छुटकारा प्राप्त गर्न सकिन्छ । 

स्पर्श दिनु 

खाना बनाउँदा होस् वा आगोको अन्य काम गर्दा औंला जल्न सक्छ । त्यसो भए औंला मुखमा राखेर चुस्नुपर्छ । यसैगरी टाउको दुखे औंलाले टाउकोमा हल्का–हल्का थिच्नुपर्छ । यसो गर्दा आराम महसुस हुन्छ भने मस्तिष्कमा आफूले आफैंलाई ख्याल गरेको सन्देश पुग्छ । 

बरफले सेक्नु 

पीडा भएको स्थानमा बरफले सेक्नुपर्छ । यसबाट धेरै हदसम्म राहत मिल्छ । एउटा रुमालमा बरफको टुक्रा बेरेर वा कुनै प्लास्टिक ब्यागमा बरफको पानी भरेर सेक्नुपर्छ  । त्यसो गर्दा पनि सन्चो नभए कोल्ड ड्रिंक्सको चिसो बोतलले सेक्न सकिन्छ । 

सकारात्मक सोच 

कुनै पनि मानिस एक्लो भए जथाभावी कुरा मनमा खेल्न थाल्छ । त्यसैले एक्लो भए राम्रा कुरा सोच्नु, सम्झनुपर्छ । पछिल्लो पटक भएको रमाइलो कुनै घटना सम्झनुपर्छ । यसैगरी भावी योजनाका बारेमा पनि सोच्नुपर्छ । कुनै खास साथी, श्रीमान् वा सन्तानका साथमा भएको अनुभव गर्नुपर्छ । यसो गर्दा पीडामा राहत मिल्छ । 

व्यायाम गर्नुपर्छ 

औषधिलाई होइन, व्यायामलाई आफ्नो जीवनको हिस्सा बनाउनुपर्छ । धेरै आराम गरे शरीरका तन्तुलाई नोक्सान पुग्छ । पीडाको सुरुवातमा आराम गरिरहेका तन्तुमा एक किसिमको मर्मत पुग्छ । आरामपछि व्यायाम गरे त्यसले पम्पको जस्तै काम गर्छ र रक्तसंचार बढ्छ । व्यायाम चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ । 

पीडाबाट ध्यान हटाउनु 

पीडा हल्काफुल्का भए टिभी हेरेर तथा कुनै गेम खेलेर ध्यान अन्यत्र मोड्न सकिन्छ । नजिकका आफन्त तथा साथीभाइसँग फोनमा कुरा गर्न सकिन्छ । मन परेको संगीत सुनेर पनि ध्यान अन्यत्र मोड्न सकिन्छ । 

खास सास लिनुपर्छ 

पीडामा काबुमा रहने प्रयास गनुपर्छ । कुर्सीमा बस्दा होस् वा बेडमा बस्दा केही हल्का तथा गहिरो सास लिनुपर्छ । मुखबाट सास लिएर नाकबाट बिस्तारै बाहिर फाल्नुपर्छ । यो प्रक्रिया पटक–पटक दोहोर्‍याइरहनुपर्छ । यसो गर्दा तनाव कम हुन्छ । तनाव तथा थकानले पीडालाई बढाउँछ । खास तरिकाले सास लिए पीडा कम हुँदै जान्छ । 

केही विशेष उपाय 

–हल्का हातले मालिस गर्नुपर्छ । यसले मांसपेशी दुखेको, गर्दनको पीडा, टाउको दुखाइजस्ता पीडा कम हुन्छ । 

–तनाव, थकान तथा टाउको दुखाइमा ध्यान दिनु हुँदैन अन्यथा आफ्नो ध्यान त्यही विषयमा केन्द्रित हुन्छ । 

–योग एउटा यस्ता प्रक्रिया हो, जसले शरीरका सबै अङ्गलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । यो शारीरिक रूपमा स्वस्थ तथा मानसिक रूपमा स्वस्थ रहने उत्तम उपाय हो । मांसपेशी जकडिए तातोले सेक्नुपर्छ । 

 Image