Successfully Copied

डाइट प्लानमा समावेश गरौं सात रंग

रंगबिना जीवनको कल्पना पनि गर्न सकिँदैन । रंगले जीवनमा खुसी, सुन्दरता, उत्साह र राम्रो स्वास्थ्य प्रदान गर्छ ।

रंगबिना जीवनको कल्पना पनि गर्न सकिँदैन । रंगले जीवनमा खुसी, सुन्दरता, उत्साह र राम्रो स्वास्थ्य प्रदान गर्छ । हरेक रंगका फल तथा तरकारीमा भएको पोषण एवं तिनका लाभका बारेमा जानकारी राख्न सके स्वस्थ रहन सकिन्छ । आफूलाई स्वस्थ र सुन्दर राख्न कलरफुल डाइट प्रयोग गर्नु उपयुक्त हुन्छ ।

हरियो रंग

वैदिक कालदेखि नै बोटबिरुवाको उपयोग औषधिका रूपमा गरिँदै आएको पाइन्छ जसले हामीलाई स्वस्थ रहन सहायता गर्छन् । हरियो रंगको फल तथा तरकारीमा पाइने सल्फोराफिन, आइसोथायोसानेट, इन्डोल, ल्युटिन आदि पोषण तत्वले आँखाको ज्योति बढाउँछ भने दाँत र हड्डी बलियो बनाउँछ । हरिया सागपात नियमित सेवन गर्नाले शरीरलाई भिटामिन ए, बी कम्प्लेक्स एवं सी प्राप्त हुनुका साथै क्याल्सियमको कमी पनि पूरा हुन्छ । 

के खाने ?

हरिया सागपात, बन्दागोभी, सिमी, ब्रोकाउली, हरियो प्याज, हरियो मटर, नासपाती, हरियो अंगुर, हरियो स्याउ आदि ।

रातो रंग

रातो रंगको फल तथा तरकारीमा लाइकोपेन र एन्थोसायनिन पाइन्छ । यो स्मरणशक्ति बढाउन र क्यान्सरको सम्भावना कम गर्न लाभदायक हुन्छ । यसबाट शरीरमा ऊर्जाको स्तर पनि बढ्ने हुँदा व्यक्ति दिनभरि फुर्तिलो रहन्छ ।

के खाने ?

टमाटर, रातो अंगुर, गाजर, स्ट्रबेरी, तरबुजा, रातो खुर्सानी, चेरी, स्याउ, अनार आदि रातो रंगका फल तथा तरकारी ।

सेतो रंग

सेतो रंगको फल तथा तरकारीमा पाइने एलिसिन, फ्लेबोनाइड आदि न्युट्रिएन्ट्सले कोलेस्ट्रोल लेभललाई कम गर्छ र मुटु स्वस्थ राख्छ । यसले क्यान्सर वा ट्युमर हुने सम्भावना पनि कम गर्छ ।

के खाने ?

केरा, मुला, मसरुम, काउली, आलु, सेतो प्याज, लसुन आदि ।

पहेंलो तथा सुन्तला रंग

यी रंगका फल तथा तरकारीमा पाइने अल्फा केरोटिन, बिटा केरोटिन, भिटामिन सी, बायो फ्लेबोनाइड आदिले रोग प्रतिरोधक क्षमता बढाउँछन् भने छालालाई स्वस्थ र जवान राख्छन् । पहेंलो तथा सुन्तला रंगका फल एवं तरकारीले फोक्सो मजबुत बनाउनुका साथै हृदय रोगको सम्भावना कम गर्छन् अनि रतन्धोमा पनि फाइदा पुर्‍याउँछन् । 

के खाने ?

सुन्तला, कागती, आँप, भुइँकटहर, नासपाती, आरु, मेवा, किबी, गाजर, पहेंलो टमाटर, पहेंलो भेंडेखुर्सानी, खरबुजा, मकै आदि ।

नीलो तथा बैजनी रंग

यी रंगका फल तथा तरकारीमा पाइने एन्थोसायनिनले छालालाई स्वस्थ र जवान राख्छ । यसले हृदय मजबुत बनाउनुका साथै क्यान्सर हुने सम्भावना पनि कम गर्छ ।

के खाने ?

आलुबखडा, पर्पल अंगुर, ब्ल्याक बेरी, ब्लु बेरी, पर्पल बन्दागोभी, भान्टा आदि ।

 Image