सुनिता गाइसी
नेपालीको पहिचान भनेका चाडपर्वहरू नै हुन् ।आधुनिकताको लहरमा नेपाली समाज पनि विस्तारै रंगिदै गएको छ । हाम्रा चाडपर्व यसको प्रभावबाट पर हुन सकेका छैनन्। यति हुँदाहुँदै पनि हाम्रो परम्परा र संस्कृतिले समाजमा निकै राम्रो प्रभाव पारेको छ । विभिन्न जातजातिअनुसार विभिन्न चाडपर्वमनाइन्छ । यस्तै नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो, योमरी पूर्णिमा। मार्ग शुक्ल पूर्णिमामा पर्ने यो पर्वलाई धान्यपूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेष गरी अन्नपूर्ण माताको पूजा गरिन्छ । अन्नपूर्णमातालाई धर्ती माता पनि भनिन्छ । त्यसैले उनलाई खुसी पार्न मिठाईं स्वरूपमा योमरी बनाउने मान्यता पनि छ । यसै दिन धनका देवता कुवेरको पनि पूजा गरिन्छ ।
नेवारी समुदायमा योमरी विशेष परिकारका रूपमा मानिन्छ । कृषि प्रधान देश भएकाले बाली लगाउँदा र भित्र्याउँदाको समयलाई महत्वपूर्ण अवसरका रूपमा मनाउने चलन विभिन्न जातजातिमा छ । नेवार समुदायले पनि धान बाली भित्र्याएपछि योमरी पूर्णिमा मनाउँछन् । धान एक मुख्य बाली भएका कारणपनि किसानहरूले यसलाई विशेष प्राथमिकता दिने गर्छन् । सामान्यतया नयाँ धानलाई कुटेर त्यसको चामलको पिठोबाट परिकार बनाइन्छ, यसमा चाकु र तिल पकाएर लेदो बनाई राखिन्छ । हाल आएर चाकुको सट्टामा खुवा, चिनी, मासुको किमा राखी बनाउने चलन पनि बढ्दै गएको छ । चिसो मौसममा चाकुले शरीरलाई न्यानो बनाउनुका साथै तागत पनि दिने भएकाले योमरीमा चाकुको प्रयोग गरिएको बूढापाकाहरू बताउँछन् । योमरी पूर्णिमा विशेष गरी मंसिरमा पर्ने हुनाले चिसो बढ्दै गएको हुन्छ र यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउँछ ।
नेपाली खानाका परिकार हेर्ने हो भने मौसमअनुसार विशेष परिकार खाने चलन हाम्रो समाजमा छ । चाहे त्यो असारको १५ को दही–चिउरा, साउन १५ को खिर, जनैपूर्णिमामा बनाइने क्वाँटी, माघे संक्रान्तिको घिउचाकु नै किन नहोस् ।पहिले विशेषअवसरमा मात्र बनाइने योमरी हालव्यापारिक हिसाबले पनि बनाएर बेच्ने गरिन्छ । यो पर्वमा घरका सबै सदस्य एकै ठाउँमा जम्मा भई योमरी बनाउँछन् । साना बालबालिका र युवा भने घरघरमा गएर गीत गाउँदै योमरी माग्छन् । यसलाई नेवारीमा योमरी फोनेगु भनिन्छ । कतिपयले योमरी पूर्णिमालाई प्रेमको प्रतीकका रूपमा पनि मान्छन् । पहिलेयुवाहरू घर गएर गीत गाउँदै योमरी माग्न जाँदा त्यहीँ प्रेम सम्बन्ध पनि फस्टाउने गर्थ्यो । तर आधुनिकताको रीतिरिवाजपरिर्वतन आएको छ । हालयस्तो चलन हराउँदै गएको छ । अहिले त बालबालिकाहरू घरबाहिर निस्किएर रमाइलो गर्नेभन्दाआधुनिक ग्याजेटमा गेम खेल्न, मुभी हेर्न व्यस्त देखिन्छन् । त्यसैले आफ्नो संस्कृतिको संरक्षण हरेक जातजातिले आफै गर्नुपर्छ। हाम्रो मौलिक चाडपर्व, जात्रा, भाषा,वेशभूषा रहेमात्र हाम्रो पहिचान रहन्छ ।
पहिले योमरी पूर्णिमाका दिन मात्र योमरी बनाएर खाने गरिन्थ्यो । हाल भने धेरै मानिसले यसलाई व्यावसायिक रूपमा बेच्ने गरेका छन् । कम लागतमा बढी नाफा हुने र स्वास्थ्यका हिसाबले पनि अत्यन्तै फाइदाजक रहेकाले यसलाई धेरैले रुचाउँछन् । नेवार समुदायका विभिन्न परिकार, रोटीहरूमा यो पनि विशेष रहेको छ । विभिन्न मेला–जात्रामा पनि योमरी बनाएर बेच्ने गरिन्छ । सामान्यतया खाजाघरहरूमा एउटा योमरीलाई ५० देखि ८० रुपैयाँसम्म बेच्ने गरेको व्यवसायीहरू बताउँछन् । पहिला योमरीभित्र चाकु मात्र राखिन्थ्यो,हाल खुवा वा मासु हालेर पनि बनाइने गरेको पाइन्छ ।
स्थानीय सरकारले पनि नेवार समुदायको बसोबास रहेको ठाउँमा योमरी फेस्टिबल गर्ने गरेको छ । यसले गर्दा हाम्रो कला र संस्कृतिको जगेर्ना भइरहेको छ । सामान्य खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म हाल योमरी पाइन्छ । यसको माग बढ्नुकोकारण मौलिक र परम्परागत शैलीमा तयार गरिनुका साथै स्वस्थ रहेकाले नै हो ।