Successfully Copied

विपत्तिमा सहज एवं सुलभ पोषणयुक्त खाना

केही दिनदेखि चाउचाउ र बिस्कुट मात्र खाएर बसेका छौं । हामीलाई त ठीकै छ, साना नानीहरूलाई चाहिँ दाल–भात खान दिन पाए हुन्थ्यो’ भोटेचौरकी

केही दिनदेखि चाउचाउ र बिस्कुट मात्र खाएर बसेका छौं । हामीलाई त ठीकै छ, साना नानीहरूलाई चाहिँ दाल–भात खान दिन पाए हुन्थ्यो’ भोटेचौरकी एक महिलाले भूकम्प गएको पाँचौं दिन भनिन् । विभिन्न ठाउँमा सहायता दिन चाहने सहयोगी संस्था तथा व्यक्तिहरूले लगेका प्याकेटका खानेकुरा अति कठिन अवस्थामा त ठीकै हुन्छन् किनभने त्यतिबेला जसरी भए पनि ज्यान जोगाउनुपर्ने हुन्छ । यद्यपि यस्तो कठिन अवस्थामा पनि सांस्कृतिक रूपमा अमान्य हुने खाना वा पहिले कहिल्यै नखाएको खानेकुरा खान निकै कठिन हुन्छ । कतिपय संस्थाले टिनमा राखिएका माछा र मायोनेज (अण्डा र तेल हालेर बनाइएको सलाद बनाउने क्रिम) पनि पठाए । यस्ता खानेकुरा सहरमा बस्ने भूकम्प पीडितले त खान सक्लान् तर गाउँघरमा यस्ता बट्टाका खाना र मायोनेज खान अति नै कठिन हुन्छ । त्यसैले भूकम्पमा परेर पालमा बस्ने वा घरभित्र गैसकेका व्यक्तिहरूका लागि पनि भोजन र पोषणको समस्या पछिसम्म पनि कायम रहन्छ ।

सामान्य अवस्थामा सहजै पाइने खानेकुरा यस्तो बेला नपाइन सक्छ । यस्ता बेला हामी आफ्नै  वरिपरि भएका कतिपय पोषणयुक्त खानेकुरालाई बेवास्ता गरिरहेका हुन्छौं । यदी तिनलाई उपयोग गरियो भने कुपोषणबाट जोगिन सकिन्छ । विभिन्न ठाउँमा गएर सहयोग गर्ने व्यक्ति वा संस्थाहरूले पनि स्वास्थ्य, सररफाइ एवं पोषणमा काम गर्दा स्थानीय रूपमा उपलब्ध खानेकुरालाई कसरी प्रयोग गर्न सकिन्छ ध्यान पुर्‍याउनुपर्छ ।

भूकम्प गएको ८ दिनपछि काठमाडौंबाट दुई घन्टाको दूरीमा पर्ने भोटेचौर पुग्दा त्यहाँ महिला तथा पुरुषहरू खेतमा आलु खनिरहेका र ठाउँठाउँमा आलुका बोरा (५० देखि १ सय किलो) राखेको देखियो । यद्यपि कुनै पनि संघसंस्थाले त्यहीँ स्थानीय रूपमा फलेको आलु किनेर भूकम्पमा परेका व्यक्तिलाई सहयोग पुर्‍याएको देखिएन । त्यहाँका किसानहरूसँग मैले सोधें–‘कुनै संघसंस्था तपाईंको आलु किन्न आएका छन् ?’ ‘कोही पनि आएका छैनन्’ उनीहरूको जबाफ थियो ।

विभिन्न ठाउँबाट चामल, चाउचाउ, बिस्कुट दिने व्यक्तिहरूले आलुको प्रयोग गरे भूकम्प पीडितको स्वास्थ्यमा सकारात्मक असर पर्ने थियो । आलुमा चामलमा पाइने सबै पौष्टिक तत्व पाइन्छ भने यसलाई उसिनेर, भुटेर, पोलेर वा अन्य कुनै खानेकुरासँग मिसाएर खान सकिन्छ । अहिले बिस्तारै–बिस्तारै जनजीवन सामान्य बन्दै जाँदा बास र गाँसको समस्या निराकरण गर्न विभिन्न सामाजिक संस्था सक्रिय भैरहेका छन् । कतिपय मानिसले आफ्नै तरिकाले पनि घरको भोजनको व्यवस्था गर्न थालिसकेका छन् । यो अवस्थामा कसरी सहज र सस्तो तरिकाले भोजन खाने र विशेषगरी बालबालिका, गर्भवती, दूध ख्वाउने महिला एवं भूकम्पबाट चोटपटक लागेका बिरामीहरूलाई पोषणयुक्त खाना ख्वाउने भन्ने व्यावहारिक ज्ञान अत्यन्त आवश्यक छ ।

यस्तो बेला कतिपय ठाउँमा हरियो तरकारी पाउन कठिन हुन्छ, जसको विकल्पमा टुसा उमारेका वस्तु, क्वाँटी आदि प्रयोग गर्न सकिन्छ । टुसा उमारेका खानेकुरामा विभिन्न किसिमका  सूक्ष्म पोषण तत्व सुकेका गेडागुडीभन्दा निकै बढी हुन्छ र यसको सुप, तरकारी बनाएर, दालमा हालेर, सलाद बनाएर वा अलिकता काँचै खाँदा पनि सूक्ष्म पोषण तत्व पाइन्छ । गेडागुडीबाट शरीरलाई चाहिने प्रोटिन पनि पर्याप्त रूपमा प्राप्त गर्न सकिन्छ । गेडागुडीमा पाइने भिटामिन सी र रेसादार पदार्थ पनि स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छन् । विशेषगरी सुत्केरी, बिरामीबाट तंग्रिन लागेका व्यक्ति दूध ख्वाउने आमा तथा बढ्दो उमेरका शिशुका लागि यस्ता गेडागुडी अति नै महत्वपूर्ण हुन्छन् । गेडागुडी उमार्न बढी मेहनत र ठाउँ पनि नचाहिने भएकाले कठिन समयमा यो अझ महत्वपूर्ण हुन्छ । गेडागुडीको रस सजिलैसँग पचाउन सकिन्छ । भूकम्प गएको ठाउँमा झाडापखाला फैलन सक्छ र त्यस्तो बेला शरीरलाई चाहिने पानीको कमीलाई पूरा गर्न यस्तो रसले मद्दत गर्छ ।

 त्यसैगरी शक्ति दिने खानेकुरा चामलका साथै आलु, मकैको च्याँख्ला, गहँु आदि उत्तम भोजन हुन् । पहाडी क्षेत्रमा जौ, फापर, कोदो आदि स्थानीय रूपमा उपलब्ध भए तिनीहरूको प्रयोग पनि विभिन्न तरिकाबाट गर्न सकिन्छ । सम्भव भएसम्म गाउँघरमा सहजै पाइने लुडे, बेथे तथा कर्कलोको साग प्रयोग गर्नु उपयुक्त हुन्छ । कसैलाई साग खान गार्‍हो लाग्छ भने पनि दाल, तरकारी वा भातमा हालेर खान सकिन्छ । सम्भव भए बदाम पनि प्रयोग गर्न सकिन्छ । बदाम अति सस्तो र पर्याप्त मात्रामा पोषण भएको खाना हो । बदामको प्रयोगले एलर्जी हुने व्यक्तिबाहेक जसलाई पनि स्वस्थ रहन मद्दत गर्छ । यसलाई काँचै, पकाएर, भुटेर, तरकारी वा दालमा हालेर वा अचार बनाएर खान सकिन्छ ।

बालबालिकाहरूलाई विभिन्न अन्नको लिटो दिनु उपयुक्त हुन्छ । यसले उनीहरूको पेट पनि राम्रोसँग भरिन्छ र पकाउन पनि सजिलो हुन्छ । लिटोमा सबै अन्नको मिश्रण भएकाले बालबालिकाको शरीरलाई चाहिने पोषण तत्व पनि पर्याप्त हुन्छ । पहिलेदेखि नै तयार पारिएको जौ वा चनाको सातु सफा पानीमा मिसाएर खानु बालबालिका र वयस्क सबैका लागि त्यत्तिकै लाभदायक छ । बजारमा कोदो, जौ आदिबाट बनाइएका तथा केही दूध र चिनी हालिएका वस्तु सिसीमा महँगो मूल्यमा बेचिन्छन् । त्यस्ता वस्तुहरू पनि केही संस्थाले समुदायसम्म पुर्‍याउँछन् । एक किलो यस्ता वस्तु किन्ने पैसाले १० किलो जौको सातु, चनाको सातु खरिद गर्न सकिन्छ । त्यस्ता संस्थाहरूले महँगो होइन कि पौष्टिक र सस्तो खाना किन्नुपर्छ । त्यसैगरी सूक्ष्म पोषण तत्वको कमीबाट जोगिन केही संस्थाले प्याकेटमा राखिएका खानेकुरा दिन्छन् र बालबालिकालाई ख्वाउन भन्छन् । ती संस्थाहरूलाई सरकारले भन्नुपर्छ कि हाम्रा देशका विभिन्न ठाउँमा सूक्ष्म पोषण तत्वले भरिपूर्ण खाना पाइन्छ, बाहिरबाट ल्याउनु पर्दैन । सूक्ष्म पोषणतत्व पर्याप्त पाइने खानेकुरा तिल, आलस, ज्वानो आदि हुन् । यिनलाई प्लास्टिकको खोलमा राखेर महँगो मूल्यमा नबेचिने हुनाले यस्ता खानेकुराका बारेमा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूले पनि वास्ता गर्दैनन् । नेपालमा पाइने वस्तुहरूलाई प्रयोग गरेर बालबालिकालाई राम्रो पोषण दिन चाहने हो भने यस्ता वस्तुको प्रयोग अति नै उपयुक्त हुन्छ ।

यसबाट भूकम्प पीडितका नाममा आएको पैसा विदेश नगएर देशकै वस्तु प्रयोग गर्नमा खर्च हुन्छ । यस्तो बेला गर्भवती एवं दूध ख्वाउने महिलाहरूको शारीरिक एवं मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । उनीहरूलाई खान मन नलाग्ने समस्या भयो भने उनीहरूको स्वास्थ्यका साथै गर्भस्था शिशुमा पनि नकारात्मक असर पर्न सक्छ । त्यसैले यस्तो अवस्थामा महिलालाई एकैपटक मन लागेन भने अलिअलि गरेर भए पनि खाना खान प्रेरणा दिइरहनुपर्छ ।

यस्तो समयमा कागतीको प्रयोगले पौष्टिक तत्व त पाइन्छ नै यस्तो समयमा हुने पेटको गडबडीबाट जोगिन समेत मद्दत मिल्छ । कागतीको रसले हैजाका कीटाणु वृद्धि हुन रोक्छ भन्ने कुरा नेपालमा गरिएको एक अनुसन्धानले स्पष्ट पारेको छ ।  खुमलटार ‘नेपाल एकेडमी अफ साइन्स र टेक्नोलोजी’ बाट गरिएको उक्त अनुसन्धान साधारण मानिसहरूको जानकारीका लागि बाहिर आएन र यस्तो महत्वपूर्ण अनुसन्धानको व्यावहारिक प्रयोग हुन पाएको छैन । कागतीको बोक्रामा रेसादार पदार्थ, भिटामिन सी तथा केही मात्रामा क्याल्सियम पनि पाइन्छ । कागतीको रस निकाल्नुअघि कागतीलाई धोएर काटी रस निकालेपछि बोक्रालाई स–साना टुक्रा पारेर सलादमा हालेर खान सकिन्छ । पहिले–पहिले स्वाद तीतो–तीतो लागे पनि पछि बानी बस्छ । तीतो स्वाद मन पर्दैन भने कागतीको बोक्रा सुकेपछि सिसीमा नुन र कागती हालेर केही दिन घाममा राखेपछि त्यो  अचारमा बदलिन्छ र त्यसलाई भात, रोटी आदिसँग खान सकिन्छ ।

अहिले हामी कठिन अवस्थाबाट गुज्रिरहेका छौं तर यस्तो दु:खद् अवस्थामा पनि थुप्रै ठाउँमा सकारात्मक दृश्य देखिएका छन् । विभिन्न युवायुवतीले आफैंले मिलेर भूकम्प पीडितहरूलाई अन्न वा औषधि आदि वितरण गरेको दृश्य देखिन्छ । यस्ता संघसंस्थाहरूले बाहिरबाट ल्याइएका खानेकुरा भन्दा आफ्नै वरिपरि पाइने खानेकुराको प्रयोग गर्न सके भने संस्कृति र खाने बानी एक अर्कासँग मेल खान्छ र राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्छ । श्रीलंका, लाओस, इरान, भारत आदि सुनामी, भूकम्प, बाढीपहिरो गएका ठाउँमा काम गर्दाको अनुभवले मलाई कठिन अवस्थामा पोषण र स्वास्थ्य बचाउन कसरी स्थानीय खानेकुरा नै प्रयोग गर्न समुदायलाई परिचालन गर्न सकिन्छ भन्ने अनुभव दिएको छ ।

 Image