डा.लक्की शर्मा, फिजिसियन
काठमाडौं मेडिकल कलेज सिनामंगल
वैशाख १२ गते ११ बजेर ५६ मिनेट जाँदा आएको शक्तिशाली भूकम्पका कारण धेरै मानिसको जीवन कायापलट भएको छ। घरबारविहीन भएर बाहिर बस्दा बाहिरको खाना तथा भयावह स्थितिका कारण धेरैको स्वास्थ्यमा असर परेको हो।
नक्सालकी ३२ वर्षीया रीता बाहिर बस्दा चाउचाउ र पानीको भरमा बसिन्। यसले गर्दा उनलाई भोलिपल्टदेखि डायरिया भयो। त्यस्तै अवस्था टँुडिखेलमा बसेकी वर्षाको पनि छ। आफ्नो घर छोडेर बाहिर बस्दा खानपान तथा गास–बासको समस्या धेरैलाई भयो। अहिले वर्षा र रीताको जस्तो समस्या धेरैलाई परेको छ। खानपानसँगै अब के हुन्छ भन्ने चिन्ताले धेरैलाई सताएको छ।
देश नै विपत्तिमा छ। धेरै मानिस घरबारविहीन भएका छन्। यस्तो विषम परिस्थितिमा सबै मानिस एकै ठाउँमा बस्दा वरपरको वातावरण फोहोर हुन्छ। खानपान तथा दिसा–पिसाबको उचित व्यवस्थापन नहुँदा रोगले पनि छिट्टै आक्रमण गर्छ। फोहोर जथाभावी फाल्दा पनि रोग लाग्ने सम्भावना बढ्छ।
काठमाडौं मेडिकल कलेज सिनामंगलकी डा. लक्की शर्माका अनुसार भीडभाड, अपर्याप्त पानी तथा सरसफाइको अभावका कारण पनि रोग लाग्छ। यस्तो अवस्थामा कम्युनिकेबल डिजिजले छिट्टै आक्रमण गर्छ। सबैजना अझ भनौं देश नै विपत्तिमा भएका बेला विपद्मा परेकाहरूको उपचारमा प्राथमिकता दिनुपर्छ। त्यसैले सबैले आ–आफ्नो स्वास्थ्यमा ध्यान पुर्याउनु जरुरी छ।
भूकम्पले भत्किएको भौतिक संरचनामा पुरिएका मानिस तथा जनावरका शरीर सड्दा महामारीको जोखिम अझ बढ्छ। शव कुहिँदा उत्पन्न हुने जीवाणु खानेपानीको फुटेको पाइप लाइनमा मिसिने र वातावरणमा समेत फैलने खतरा रहन्छ। फलस्वरूप हैजा, झाडापखाला, टाइफाइड, जन्डिस, रगतमासीजस्ता रोगले मलजल पाउने डा. शर्मा बताउँछिन्।
शरीरमा खाना तथा पानी नपुग्दा रगतमा ग्लुकोजको स्तर कम हुन थाल्छ। फलस्वरूप पिसाब कम बन्छ। यसकारण मिर्गौलाको कार्यक्षमता घट्नुका साथै शरीरमा विषाक्त पदार्थको मात्रा बढ्न थाल्छ। कम उमेरका बालबालिका एवं वृद्धवृद्धाको तुलनामा स्वस्थ युवा खानपानविनाको जटिल स्थितिमा बढी समयसम्म बाँच्न सक्छन्।
उद्धार टोलीहरूले भूकम्पमा पुरिएका मानिसहरूको जीवितै उद्धार गरेका छन्। खानपानविना चिसो स्थानमा बढी बाँच्ने सम्भावना भएकाले पनि उनीहरू जीवित रहेको चिकित्सकहरू बताउँछन्। काठमाडौं उपत्यकामा यस्तो परिस्थितिमा एक साताभन्दा बढी बाँच्ने सम्भावना हुन्छ।
पानी मात्र पिउन पाएको विकट परिस्थितिमा बाँच्ने समय निक्कै लम्बिन सक्छ। फसेको ठाउँमा अक्सिजन पर्याप्त हुनु, मानिस घाइते नहुनु, उच्च इच्छाशक्ति हुनु तथा स्वस्थ शरीर आदिले बाँच्ने समय लम्ब्याउने चिकित्सकहरूको भनाइ छ।
यस्तो परिस्थितिमा गर्भवती तथा सुत्केरी महिलाहरूको बिचल्ली हुन्छ। त्यसैले खानपान तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ। पौष्टिक खानेकुरा खानुका साथै पानी पनि पर्याप्त मात्रामा पिउनुपर्छ।
पानीबाट लाग्ने रोग : यस्ता रोग अपर्याप्त पानी तथा सरसफाइको अभावका कारण लाग्छन्। यसबाट फैलने रोग निम्न छन् :
झाडापखाला : गर्मी मौसममा फोहोर खाना तथा दूषित पानीका कारण झाडापखाला लाग्छ। अहिले धेरै मानिस घरबारविहीन भएका छन्। यस्तो स्थितिमा फोहोरको उचित व्यवस्थापन नहँुदा पनि रोगले छिट्टै आक्रमण गर्छ। चर्पीको व्यवस्थापन नहुँदा तथा जथाभावी दिसा–पिसाब गराउँदा कीटाणुले संक्रमण गर्ने सम्भावना हुन्छ।
हेपाटाइटिस ए तथा ई : हेपाटाइटिस ए विकासोन्मुख मुलुकमा धेरै नै पाइएको छ। बालबालिका यसबाट धेरै प्रभावित छन्। यस्तो अवस्थामा हेपाटाइटिस ई पनि फैलन सक्छ। गर्भवती महिलामा फ्याटलिटी रेट २५ प्रतिशतभन्दा माथि हुनसक्छ।
लिप्टोसपिटोसिस : यो जेनेटिक ब्याक्टेरियल रोग हो। यो छाला तथा पानीको माध्यमबाट शरीरमा प्रवेश गर्छ।
टाइफाइड : यस्तो प्रदूषणयुक्त वातावरणका कारण कतिपय मानिसमा टाइफाइडको समस्या पनि देखापर्छ।
भीडभाडमा देखिने रोग
अहिलेको अवस्थामा धेरै मानिस घरबारविहीन भएका छन्। आफ्नो घरमा बस्न सक्ने अवस्था छैन। पालमुनि खुल्ला चौरमा धेरैले एकै ठाउँमा दिन बिताउने गरेका छन्। यस्तो अवस्थामा निम्न रोग देखा पर्नसक्छन्।
दादुरा : यो विपत्तिमा दादुरा देखिनसक्छ। हावाको माध्यमबाट पनि रोग फैलनसक्छ। १५ वर्षमुनिका बालबालिका यस्तो समस्याबाट ग्रसित हुन्छन्।
मेनेन्जाइटिस : यो निसेरिया मेनेन्जाइटिसका कारण हुन्छ। विशेष भीडभाडको अवस्थामा यो रोग लाग्छ। यो सरुवा रोग हो।
एक्युट रेस्पिरेटरी इन्फेक्सन : अहिलेको विस्थापित अवस्थामा यो आम समस्या बनेको छ। यो विशेषगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकामा देखिन्छ। अपर्याप्त स्वास्थ्य सेवा तथा एन्टिबायोटिकको पहुँच कम हुँदा बिरामीको मृत्यु हुनसक्छ। विस्थापित जीवन, पोषण तत्वको कमी तथा भीडभाडमा यो रोग लाग्छ। धूवाँ तथा धूलोका कारण श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने सम्भावना रहेको शिक्षण अस्पतालका डा.साइत प्रधान बताउँछन्।
अहिले भीडभाड छ। गर्मीको मौसम छ। घरमा लामखुट्टेको म्याट प्रयोग गर्दा त लामखुट्टे लाग्छन् भने बाहिर खुल्ला तथा फोहोर ठाउँमा बसोबास गर्दा भने यसको प्रकोप बढी नै हुन्छ। रोगी मानिसलाई टोकेको लामखुट्टेले अर्को निरोगीलाई टोक्दा रोग सर्ने खतरा पनि उत्तिकै बढ्छ। यस्तो समयमा डेंगु, मलेरियाजस्ता रोगको प्रकोप पनि बढ्छ।
समाधानका उपाय
अहिले मुलुक नै विपत्तिमा परेको छ। अस्पतालमा भूकम्पका घाइतेकै नै उपचार गर्न भ्याइनभ्याई छ। यस्तो अवस्थामा सबै मानिस आफ्नो स्वास्थ्यका बारेमा जागरुक हुनु आवश्यक छ। पर्याप्त मात्रामा पानी पिउनुपर्छ। गेडागुडीको रस तथा झोल कुरा बढी खानुपर्छ। यसले शरीरमा रोगप्रतिरोधक क्षमता बढाउँछ। कतिपयले घर भत्किएको चिन्ताका कारण धूम्रपान तथा अल्कोहल सेवन गर्छन् जुन गलत हो। यसले शरीरमा नकारात्मक असर पुर्याउँछ। धैर्य गरेर परिस्थितिको सामना गर्नुपर्छ। विपत्तिका कारण निम्तिने महामारीबाट जोगिन निम्न उपाय अपनाउन सकिन्छ।
खाने सामान डेट एक्सपाएर भएको छ कि छैन हेर्नुपर्छ।
खानामा लसुन तथा प्याज समावेश गर्नुपर्छ।
बर्ड फ्लुको चर्चा पनि उत्तिकै रहेकाले माछा–मासु खानुहँुदैन।
विषम परिस्थितिलाई ध्यान दिएर सड्ने–गल्ने फोहोरलाई घरको खाली ठाउँमा विसर्जन गर्नुपर्छ।
पिउने पानी क्लोरिनयुक्त तथा उमालेको हुनुपर्छ।
खाना खानुअघि र पछि नियमित रूपमा साबुनपानीले हात धुनुपर्छ।
फोहोर व्यवस्थापन उचित ठाउँमा गर्नुपर्छ।
फोहोर व्यवस्थापन चर्पी बसेको ठाउँबाट केही पर बनाउनुपर्छ।
जथाभावी दिसा–पिसाब गर्नुहँुदैन। चर्पीमा मात्र गर्नुपर्छ।
स्वस्थ तथा राम्रोसँग पकाइएको खाना मात्र खानुपर्छ।
वरपरको वातावरण सफा राख्नुपर्छ।
मास्क लगाएर हिँड्नुपर्छ। लामखुट्टेको झुल तथा म्याट प्रयोग गर्नुपर्छ।
मरेका पशुलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ।
खुल्ला राखिएका खानेकुरा खानुहँुदैन।