प्रणय दिवसमा भारतीय गुलाब
जाडो मौसममा गुलाब नफक्रिँदा आन्तरिक उत्पादनभन्दा आयातीतकै वर्चस्व गत वर्षको तुलनामा १५ प्रतिशत आन्तरिक उत्पादन बढ्ने अनुमान
पछिल्लो समय सहरी क्षेत्रमा प्रदूषणको स्तर बढेसँगै यसबाट बच्ने अनेकौं उपाय अपनाउन थालिएको छ । वृक्षारोपण र घर–घरमा बगैंचाको प्रचलनमा व्यापकता आएको छ । फरक प्रकारका बोट–बिरुवा लगाउने, स्वास्थ्यमैत्री बिरुवा खोजी–खोजी बगैंचामा रोप्ने गरिन्छ । अझ रोप्ने ठाउँ नै नभए पनि कोठा, बाल्कोनी वा छतमा बोट–बिरुवा रोप्ने चलन सुरु भइसकेको छ । तर कतिपय अवस्थामा भने रोपेका बिरुवालाई सही तरिकाले स्याहार–सुसार एवं हेरचाह गर्न नसक्दा बिरुवा मर्छन् । यस्तो अवस्थामा सबैभन्दा सहज र सरल विकल्प ‘वाटर प्लान्ट’ हुनसक्छ । पानीमा रोपिएका बिरुवाको हेरचाह गर्न सजिलो हुन्छ । यस्ता बिरुवालाई धेरै समय दिन नपर्ने भएकाले घरैमा पनि रोप्न सकिन्छ । यो जुनसुकै खाली सिसी वा प्लास्टिकको भाँडोमा रोप्न सकिन्छ । यसले घर एवं कोठाको सौन्दर्य बढाउँछ । यसरी पानीमा रोपिएका बिरुवाले घरको अशुद्ध हावालाई शुद्धीकरण गर्छ । यहाँ पानीमा रोप्न सकिने बिरुवा र त्यसको हेरचाहबारे चर्चा गरिएको छ ।
लक्की बेम्बो
लक्की बेम्बो पानीमा हुने सबैभन्दा राम्रो बिरुवा हो । यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । यसको जरा पानीमा डुबेको हुनुपर्छ । यसलाई पुरै सुख्खा हुन दिनुहुँदैन । यो बिरुवा घरको जुनसुकै ठाउँमा राख्न सकिन्छ । कोठाको सुन्दरतालाई यसले दोब्बर बढाउँछ । तर, केही सावधानी अपनाउनुपर्छ । यसमा क्लोरिन भएको पानी र धाराको पानी राख्नुहुँदैन । साथै पानीमा लेउ जमेको हुनुहुँदैन । जारको पानी राख्न सकिन्छ । बिरुवा स्वस्थ राख्न हरेक ७–१० दिनमा पानी परिवर्तन गरिदिनुपर्छ । बिरुवालाई पारदर्शी भाँडामा राख्दा यसको जरा अझ आकर्षक देखिन्छ । चिसो हावा आउने ठाउँमा बिरुवा राख्नुहुँदैन, साथै धेरै तातो हुने ठाउँमा पनि यो बिरुवा सप्रिँदैन ।




पोथोस/मनि प्लान्ट
पोथोसको ट्रेन्ड पछिल्लो समय निकै बढेको छ । यो बिरुवा अहिले जोकोहीको रोजाइमा पर्ने गर्छ । यसको पात हार्ट सेपको हुन्छ । यो धेरै प्रजातिमा पाइन्छ । कुनैको गाढा हरियो पात हुन्छ भने कुनैको हल्का हरियो हुन्छ । कुनैको ठूलो–ठूलो पात हुन्छ भने कुनैको सानो पात हुन्छ । यसलाई सिसाको बोतलमा राखेर सजाउन सकिन्छ । यसलाई माटोमा रोप्नुअघि पानीमा राख्यो भने चाँडै सर्छ । यसको कटिङ गर्दा दुई वा तीन पात छोडेर गर्नुपर्छ । यो बिरुवा कोठाको सेल्फ वा टेबलमाथि राख्दा सुन्दर देखिन्छ । झ्यालको छेउमा पनि राख्न सकिन्छ । यो बिरुवालाई सूर्यको हल्का किरण र हावाको आवश्यकता पर्छ । सातामा दुई पटक यसको पानी बदलिदिनुपर्छ भने नियमित रूपमा यसको कटिङ पनि गरिराख्नुपर्छ । यसले घरको सुन्दरता बढाउनुका साथै हावा शुद्धीकरण गर्छ ।
स्पाइडर प्लान्ट
स्पाइडर प्लान्टलाई पानीमा राखेर कोठामा सजाउन सकिन्छ । यो बिरुवा टाढाबाट हेर्दा स्पाइडर जस्तो सेपमा देखिने भएकाले यसलाई स्पाइडर प्लान्ट भनिएको हो । यसको लुक्स असाध्यै आकर्षक देखिने भएकाले यसले कोठाको सुन्दरतामा थप निखार्छ । यसले धेरै मात्रामा अक्सिजन फाल्ने भएकाले कोठामा राख्न एकदमै राम्रो हुन्छ । यो बिरुवा हेरचाह गर्न एकदमै सजिलो हुन्छ । यसलाई घामबाट टाढै राख्नुपर्छ । पानीमा राख्दा यो बिरुवाको जरा मात्र पानीमा डुब्नुपर्छ, यसको पात पानीमा पर्यो भने सुक्न थाल्छ । यसको पानी भने दुई/तीनदिनमा बदलिराख्नुपर्छ ।
इंग्लिस आइवी
इंग्लिस आइवीले जोकोहीलाई आकर्षित गर्छ । यो हेर्दा निकै आकर्षक देखिन्छ । यसको सही हेरचाह गर्न सके यो बिरुवा चाँडै बढ्छ । यो बिरुवालाई छायाँ परेको ठाउँ निकै मनपर्छ । यसका लागि सामान्य तापक्रम र हल्का ओसिलो भएको ठाउँ उपयुक्त हुन्छ । यसलाई कहिलेकाहीँ ताजा हावाको पनि आवश्यकता पर्छ । त्यसैले केही समयको अन्तरालमा यो बिरुवालाई झ्यालको छेउ वा बाल्कोनीमा राख्न सकिन्छ । यसलाई पानी राखेर पारदर्शी भाँडोमा राख्दा निकै आकर्षक देखिन्छ । यसको पानी सातामा एक वा दुई पटकसम्म बदल्न सकिन्छ ।




फिलोडेनड्रोन
यो बिरुवा सजिलैसँग रोप्न सकिन्छ । यो सदाबहार बिरुवा हो । यसको हेरचाह गर्न त्यति गाह्रो छैन । यसले कोठाको तापक्रमअनुसार आफूलाई ‘एडजस्ट’ गर्छ । कटिङ गर्दा यसको तीन वा चार वटा पात छोडेर गर्नुपर्छ । पानीमा राखेको केही सातामै यसको जरा पलाउन थाल्छ । फिलोडेनड्रोन धेरै प्रजातिमा पाइन्छ, जुन हेर्दा पनि निकै आकर्षक देखिन्छ । यसको बिरुवालाई कुनै पनि सेपको सिसाको कचौरामा राख्न सकिन्छ । यसको पानी चारदेखि पाँच दिनमा बदल्नुपर्छ । यो बिरुवामा पानीको मात्रामा मात्र ध्यान दिए पुग्छ । पानीको लेभल कम हुन नदिन बेलाबेलामा हेर्नुपर्छ र पानी थपिदिनुपर्छ ।
पिस लिली
तपाईं घरमा फूल फुल्ने र आकर्षण देखिने बिरुवाको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि सबैभन्दा राम्रो विकल्प ‘पिस लिली’ हुनसक्छ । यो बिरुवाले पनि हावा शुद्धीकरण गर्छ । साथै यसले घरको सुन्दरता पनि बढाउँछ । यो बिरुवाको स्याहार–सुसारमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यसलाई सिधा घाम पर्ने ठाउँमा राख्नुहुँदैन । तर यो बिरुवाको वृद्धि विकासका लागि सूर्यको प्रकाश आवश्यक पर्ने भएकाले झ्यालको छेउ वा रुखहरूबाट छिरेर आउने घाम भएको ठाउँमा राख्नुपर्छ । पिस लिली राखिएको कोठा उज्यालो हुनुपर्छ । यसलाई एसीमुनि वा पंखामुनि राख्नुहुँदैन ।
