पछिल्लो समय प्रविधिले प्रभावित नपारेको क्षेत्र हुन होला र ? कुनैबेला औधी चाखलाग्दा मानिएका प्रिन्ट र श्रव्य–दृश्य (रेडियो तथा टेलिभिजन) मिडियाको साटो अहिले रमाउने, दुःख र खुसी साट्ने अनि तत्काल सूचना प्राप्त गरिहाल्ने माध्यम बनेको छ, इन्टरनेट । अनलाइन न्युज पोर्टल, युट्युब, इन्स्टाग्राम, फेसबुक, टिकटक, ह्वाटसएप, भाइबर, टेलिग्रामदेखि लिएर भर्खरै आएका एआई, डिपसिकलगायतका इन्टरनेट/सोसल मिडियाको भीडमा अहिले निकै चलेको अर्को अर्को मिडिया छ– ‘पडकास्ट’ ।
धेरै समय भएको छैन नेपालमा पडकास्टको सुरुवात भएको । छोटै समयमा पनि निकै लोकप्रिय हुन सफल पडकास्टमा अहिले नेपाली युवतीहरू पनि सक्रिय देखिन थालेका छन् ।
पडकास्टको सुरुवात
पडकास्ट कसरी र कहाँबाट सुरु भयो?धेरैका लागि खुल्दुलीको विषय हुनसक्छ । सन् २००३ मा सफ्टवेयर विकासकर्ता डेभ विनरले पहिलो अडियो आरएसएस (रियल्ली सिम्पल सिन्डिकेसन) फिड सिर्जना गरे । त्यसको ठ्याक्कै एक वर्षपछि, संसारको पहिलो पडकास्ट सुन्ने यन्त्र भने क्रिस्टोफर लिडन र एडम करीले सिर्जना गरेका हुन्, जसलाई आइपडर भनियो ।
एडम करी एमटिभीको भिजे तथा रेडियोकर्मी थिए । सन् २००४ मा उनले ‘डेली सोर्स कोड’ नामक कार्यक्रमको सुरुवात गरे, जुन व्यापक रूपमा पहिलो पोडकास्टका रूपमा प्रसारित भयो । एक्सएमएल ले श्रोताहरूलाई सदस्यता लिन र स्वचालित रूपमा नयाँ एपिसोडहरू प्राप्त गर्नका लागि अनुमति दिँदै अडियो फाइलडेलिभर गर्न आरएसएस फिडतथाएक्सएमएल इन्क्लोजरप्रयोग गर्यो ।
किन भनियो पडकास्ट ?
प्रारम्भिक दिनमा यसलाई अडियो ब्लगिङ भनिन्थ्यो । मानिसले आफ्ना आवाज र भावनाका स–साना टुक्रारेकर्ड गर्ने र इन्टरनेटमा अडियो सामग्री साझा गर्ने । जस्तो कि श्रवण ब्लग पोस्टहरू । सन् २००४ मा ब्रिटिस प्रसारक बेन ह्यामर्सले पहिलो पटक यो नयाँ प्रकारको सामग्री वर्णन गर्न ‘पडकास्ट’ शब्द प्रयोग गरे । ‘वर्डस्’ र ‘आइपोड’ दुई शब्दलाई संयुक्त रूपमा मिश्रण गरी ‘पडकास्ट’ शब्दको जन्म भयो ।
बबिता बस्नेत(पत्रकार तथा पडकास्टर)
(समयभित्रको समय)
केही साताअघि पत्रकार बबिता बस्नेत सिंहदरबारभित्र साथीसँग गफिँदै हिँडिरहेकी थिइन् । एकजना हतारिँदै आएर सोधे, ‘हजुर त समयभित्रको समयको प्रस्तोता होइन ?’
नेपालीपत्र, रेडियो नेपालको घटना र विचार तथा साप्ताहिक पत्रिका घटना र विचारको सम्पादक भएर ३३ वर्ष पत्रकारितामा बिताएकी बबितालाई अगाडि उभिएका युवाले सोधेको यो प्रश्नले अवाक् बनायो । ‘हामी उतिबेला छापामा काम गर्थ्यौं, हाम्रा गहकिला शब्द र सूचना प्राप्त गर्ने बौद्धिक वर्ग सीमित हुन्थे जस्तो लाग्यो,’ आफूले दुई वर्षदेखि चलाइरहेको पडकास्ट ‘समयभित्रको समय’ को प्रभावका विषयमा उनले भनिन्, ‘कुरा गर्दै जाँदा अघि त्यसरी प्रश्न सोध्ने व्यक्ति दुर्गमको कुनै गाउँका वडाध्यक्ष रहेछन् । यसले मलाई आफ्नो कामको दायरा निकै फराकिलो बनेको र कुनाकुनासम्म पनि प्रभाव छाडेको महसुस गरायो । छापा पत्रकारितामा लेखिने लेख–रचनाका तर्कका कुरा हुन्छन्, बौद्धिकता र ज्ञानका कुरा बढी हुन्छन् तर पडकास्टमा सरल र अत्यन्तै सहज ढंगले संवाद हुन्छ । बिनाहिचकिचाहट हरेक तथ्य र सूचना प्रस्तुत गरिन्छ, यही नै पडकास्टको विशेषता हो ।’
जीवनका थुप्रै दशक पत्रकारितामा गुजारेकी बस्नेतले नेपालका चल्तीका पडकास्ट सुन्ने गर्थिन्। पडकास्टरले सजिलो ढंगले अतिथिसँग गरेको संवाद, पब्लिक रेस्पोन्सलगायत यसको प्रभाव देख्दा उनलाई महिलाका क्षेत्रमा यस्तै केही गर्न पाए हुन्थ्यो जस्तो लाग्यो । समयभित्रको समयको अवधारणाबारे उनी भन्छिन्, ‘एकदिन मेडिटेसन गरिरहेकी थिएँ । मेरो दिमाग थुप्रै त्यस्ता स्टोरी भ्युज्युलाइज भए । योजनै मात्र बनाएर बस्ने बानी नभएकाले तत्काल सुरु पनि गरिहालें । दृश्य पत्रकारिताको अनुभव नभएकाले सुरुका एपिसोमा कता लाइट र कलर नमिल्ने, कता एंगल नमिल्ने जस्ता प्राविधिक त्रुटि पनि भएका छन् । तर विस्तारै गर्दै जाँदा पडकास्टमार्फत प्रवाह गर्न खोजिएका सूचना र आवाजको दायरा निकै विशाल भएकाले यसको प्रभाव पनि फराकिलो नै भएको पाएँ र निरन्तरता दिएँ ।’
‘समय साक्षी’, ‘सम्बन्धहीन सम्बन्धहरू’ लगायतपुस्तककी लेखकसमेत रहेकी बस्नेतले ‘स’ अक्षरसँग आफ्नो गहिरो सम्बन्ध भएकाले पडकास्टको नाम पनि ‘समयभित्रको समय’ राखेको बताइन् । पडकास्टले आफूलाई तल्लो तहमा पुर्याएको बताउने उनलाई कतिपयले राजपरिवारका अतिथि बढी बोलाउने गरेको आरोप पनि लगाउँछन् तर यो संजोग मात्र भएको उनको भनाइ छ । भनिन्, ‘त्यस्ता थुप्रै कथाका पात्रलाई मेरो पडकास्टमा ल्याएकी छु । त्यस्ता धेरै गेस्ट आइसकेपछि ग्यापमा कहिलेकाहीँ राजपरिवारका मान्छे बोलायो तिनै हिट हुन्छन्, इतिहास जान्न सायद धेरै मान्छे उत्सुक छन् ।’
उनका अनुसार संसारका प्रत्येक मान्छेसँग कथा छन्, तिनलाई सेयर गर्ने उपयुक्त फोरम पाइरहेका हुँदैनन्, पडकास्ट भनेको त्यही फोरम हो जहाँ आफ्नो आवाज र भावना सेयर गर्न सेलिब्रेटी, ठूला–ठूला नेता, व्यवसायी वा धनाढ्य नै हुनुपर्छ भन्ने छैन । यो प्लेटफर्ममा साधारण कथा पनि सुन्दर ढंगले प्रस्तुत गरिने बस्नेतको तर्क छ । शालीन, सभ्य र नरम शैलीमा प्रश्न सोध्ने बबिता भ्युज, सब्सक्राइब बढाउने होडलाई पडकास्टको चुनौती भएको बताउँछिन् । यो उमेरसम्म सधैंजागिर गरेकी उनलाई अहिले मेरो आफ्नै केही छ भन्ने महसुस भएको छ । पडकास्टलाई पत्रकारिता नै भन्दा पनि यसको एक माध्यमका रूपमा लिने बबिता भन्छिन्, ‘सिर्जनात्मक हुन सके यो निकै राम्रो छ । युट्युबबाट आम्दानी पनि राम्रै छ । मुख्यतः यसमार्फत हामीले के र कस्तो सन्देश दिएका छौं भन्ने कुराले अर्थ राख्छ । मेरो पडकास्टको मूल सन्देश भनेकै समानता हो ।गेस्टहरू आएपछि मैले लैंगिक समानताको कुरा उठाएकै हुन्छु ।’
राधिका कँडेल (होस्ट, परफर्मर तथा कमेडियन)
(फिल फ्रि विथ राधिका)
सानैदेखि पढाइमा अब्बल, चुलबुले स्वभावकी सुर्खेतकी राधिका १७ वर्षे उमेरमा काठमाडौं पसेपछि थापाथली क्याम्पसमा इन्जिनियरिङकी विद्यार्थी थिइन् । सब–इन्जिनियरको पढाइपछि उनी रत्नराज्य क्याम्पसमा अंग्रेजी र पत्रकारिता पढ्न पुगिन् । २०७० सालदेखि रेडियो सिटी एफएममा पप र्याङकमार्फत आवाजको दुनियाँमा प्रवेश गरेकी उनी एक वर्षपछि स्टार एफएममा काम गर्न थालिन् । यसैबीच बुवाको स्वर्गारोहण भएकाले सबै काम छाडेर आमालाई साथ दिएरै बसिन् । केही समयपछि उनलाई लाग्यो मैले नै केही गर्नुपर्छ । त्यसपछि उनी पुनः काठमाडौं आएर रेडियो अडियोले खोलेको भ्याकेन्सीमा परीक्षा दिइन् । ४ सय जनामा उनको नाम टपटेनभित्र पर्यो त्यसपछि उनी फाइनल छनोटमा परिन् र १० वर्ष लगातार काम गरिन् ।
‘त्यहाँ काम गर्दा राजा राजेन्द्र दाइलगायतले तिम्रो स्क्रिप्टिङ रचनात्मक र प्रभावशाली छ भन्नुहुन्थ्यो । म कन्टेन्ट लेख्थें, हामी प्यारोडी बनाउँथ्यौं । गर्दै जाँदा लेख्न, बोल्न र कमेडी गर्न सक्दोरहेछु भन्ने लाग्यो । मिस चाम्रीको भूमिकामा म निकै हिट भएँ,’ राधिका भन्छिन्, ‘यसरी काम गर्दै जाँदा आत्मविश्वास बढ्दै गयो । दर्शक–श्रोताको माया, सद्भाव र सहकर्मीहरूको साथले आफ्नो क्षेत्रमार्फत केही गर्न सकें ।’
त्यसपछि उनले जनता टिभीमा स्ट्यान्डअप कमेडी गरेपछि स्ट्यान्डिङ होस्ट पनि गरिन् । एपी वान टिभीको कमेडी हब पनि राम्रै चल्यो । सबैभन्दा ताली पाएको मुन्द्रेको कमेडी क्लबमा उनले गरेको कोमल वलीको मिमिक्री हो ।
सञ्चारका विभिन्न विधामार्फत सूचना र मनोरञ्जन पस्किइरहेकी राधिकालाई लागिरहन्थ्यो, केही नयाँ गर्न पाए हुन्थ्यो । साधारण अन्तर्वार्ता त उनले लिइरहेकै थिइन् । उनलाई लाग्यो, बिना सेन्सरसीप, बढी सम्पादन नगरी स्वतन्त्र भएर मनका कुरा पोख्ने ठाउँ भए हुन्थ्यो । पडकास्टलाई उनले आफूले खोजेको जस्तै प्लेटफर्मका रूपमा भेटाइन्।अनि सुरु भयो ‘फिल फ्रि विथ राधिका’ ।
‘कुनै पनि कुरामा नबाँधिएर, सेन्सरको टेन्सन नलिई आनन्दले स्वतन्त्र रूपमा रमाउँदै कुरा गर्ने ठाउँ हो पडकास्ट । यो मलाई अडियोको भिडियो भर्सनजस्तो लाग्छ,’ उनी भन्छिन्,‘मेरो पडकास्ट मूलतः महिला मुद्दामैत्री हुन्छन् । यसका लागि म पहिले रिसर्च गर्छु, कन्टेन्ट बनाउँछु । मेरो प्रस्तुति र त्यसमा भएका कन्टेन्टले नै गेस्ट आउने हुन् । तसर्थ म यी कुरामा सदा सजग छु ।’
१ लाख ३५ हजार सब्सक्राइबर भएको उनको पडकास्ट च्यानल सूचना र मनोरञ्जनले भरिएको हुन्छ । उनलाई लाग्छ, यो सहज उपलब्ध हुने, फेसबुक र युट्युबबाट पनि हेर्न मिल्ने भएकाले सबै उमेर समूहका मानिसका लागि उपयुक्त र सञ्चालकका लागि आर्थिक हिसाबले सबल छ । उनका अनुसार आजकल पडकास्टलाई रुने, थर्काएर प्रश्न सोध्ने, मोटिभेसनल स्पिच दिने माध्यम पनि बनाइएको छ तर आफ्नो च्यानल यीभन्दा नितान्त फरक रहेको उनी तर्क गर्छिन् ।
नेपाली कमेडी शो, मुन्द्रेको कमेडी क्लब, कमेडी हब, गाईजात्रा–२०८१ (डिजिटल) मा आफ्नो कला प्रस्तुत गरिसकेकी राधिकाले नेपाल तथा अमेरिका टुर गरिसकेकी छिन् । ‘पडकास्टले मेरो करियरलाई अर्को उचाइमा पुर्याएको छ । फराकिलो दायरामा फैलिन पाएकी छु । तिमी महिला मात्रै हौ भनेर फिल गराउन खोजेपनि म फिल गर्दिनँ, आफ्नो काममा ध्यान दिन्छु,’ उनी भन्छिन्,‘भविष्यका बारे तनाव लिन्नँ, वर्तमानको कर्म गर्छु । पडकास्टको भविष्य उज्ज्वल देखेर नै ५ वर्षदेखि निरन्तरता दिइरहेकी छु । अझै दशकौं यसैमा काम गर्नुछ ।’
सम्पदा लिम्बू (सञ्चारकर्मी तथा पडकास्टर)
(यात्रा)
नसुनिएका आवाज सुनाउले थलो हो ‘यात्रा’ । पाँचथर फिदिम बजारकी अन्तरमुखी बालिका सम्पदा लिम्बू आज बहिर्मुखी स्वभावका साथ यात्रा हाँकिरहेकी छिन् । सम्पदा सानी छँदा राजनीतिज्ञ बुवा बमबहादुर योङयाकै कारण घरमा मान्छेको लर्को कहिल्यै छुटेन । लेखक तथा शिक्षिका आमा मीना राईको प्रभावले उनी बाल्यावस्थामै मुक्तक, कविता लेख्थिन् ।
‘घरमा राजनीतिक र साहित्यिक माहौल थियो । सानो भाँडोमा थोरै चटक्क पकाएर मीठो खाएको कुनै दिन याद छैन । तर मान्छेको जति ठूलो भीड भएपनि म बोल्दिनथें,’ उनी स्मरण गर्छिन्, ‘मलाई रेडियोमा बोल्ने काम गर्ली भनेर कसैले पत्याएका थिएनन् । बरु म मुना पत्रिकामा घोत्लिएर बस्थें, बोल्दिनथें ।’ पछि गएर तिनै अन्तरमुखी सम्पदा फिदिमको इगल एफएममा जोडिएर आवाजको दुनियाँमा प्रवेश गरिन् । एक वर्ष रेडियोमा ‘आधा आकाश ः नारी’ चलाएपछि उनी कलेज पढ्न बिर्तामोड झरिन् । उनलाई त्यहाँ बस्नै मन नलागेपछि पुन ः फिदिम फर्किइन् । उच्चशिक्षाका लागि उनी काठमाडौं आइन् । उनी भन्छिन्, ‘यहाँ आएपछि फिदिम सम्झेर निकै नरमाइलो लाग्ने, जहाँ गएपनि जे गरेपनि नरमाइलो लाग्ने, केही समय त एककिसिमको डिप्रेसन नै भयो । तर धेरैपछि मात्रै यहाँको वातावरणमा भिज्दै गएँ ।’
काठमाडौं बसाइमा उनले कुनै एक एफएमरेडियोमा बिनापारिश्रमिक काम गर्न परेको पीडा पनि सुनाइन् । त्यसपछि उनी इन्डिजिनियस टिभीमा पुगिन्, जहाँ उनले कहिलेकसो युट्युबबाट पैसा कमाइन्छ भन्ने सुनिरहन्थिन् । यसले उनलाई आकर्षित गर्यो । तब सुरु भयो उनको रिदम अनलाइन टिभी । ५ वर्षदेखि यसैमा सक्रिय उनका ४ लाखभन्दा बढी सब्सक्राइबर छन् भने कुनै भिडियो १० लाखले पनि हेरेका छन् । उनकोपडकास्ट सुरु भएको भने १ वर्ष भयो । उनी भन्छिन्,‘यसलाई पत्रकारिता नै त भन्न नमिल्ला, पत्रकारिताका लागि त कति पढ्नुपर्छ, कति दुःख हुन्छ, मिडिया ल एन्ड इथिक्सका कुरा होलान् तर पडकास्ट मिडियाको एउटा माध्यम भने हो । म आफूलाई कन्टेन्ट क्रिएटर भन्न रुचाउँछु । पत्रकारितालाई यसले विस्थापित गर्छ जस्तो मलाई लाग्दैन ।’
उनका अनुसार पडकास्ट हेर्दा जति सरल देखिन्छ यसभित्र उत्ति नै चुनौती छन् । जस्तो कि बोलाइएका गेस्टहरूले भ्युज, सब्क्राइबर र कन्टेन्ट हेरेर विचार गर्छन्, आर्थिक चुनौती पनि उत्तिकै छ । उनको ‘यात्रा’ को हरेक एपिसोडले कुनै न कुनै सन्देश र कथा बोकेको हुन्छ । उनका कन्टेन्ट दमदार हुन्छन् । अतिथि छनोटमा विषयगत ज्ञानमा जोड दिन्छिन् । उनले प्रेरणादायक कथाभन्ने गरेकी छिन् । यति गर्दागर्दै पनि उनलाई डिजिटल मिडियामा चुनौती छ भन्ने लाग्छ। उनले आफू कहिल्यै पैसामुखी नभएको बताइन् । ठट्यौली पारामा भनिन्, ‘आमाबुवाले नाम, इज्जत, प्रतिष्ठा कमाऊ भनेर सिकाउनुभयो तर कहिल्यै पैसा कमाऊ भनेर सिकाउनुभएन । त्यही पथमा हिँडेकाले शतप्रतिशत सहज छैन ।’
उनलाई लाग्छ, अन्तर्वार्ता र पडकास्ट फरक छ । पडकास्ट सुन्नमा आनन्द र सहज छ । सडकका कथा पनि ल्याउने र नसुनिएका आवाज सुनाउने भएकाले उनको यात्रालाई धेरैले माया गरेका छन् । सम्पदालाई अब यसलाई नियमन गर्ने नीति बनिदिए हुन्थ्यो जस्तो लागेको छ, किनभने युट्युबबाट आउने पैसाका लागि समेत विदेश बस्ने मान्छेको नाममा खाता खोल्नुपर्ने जस्ता झन्झट छन् । उनी भन्छिन्, ‘जे होस् म कपाल सेतै फुले पनि, दाँत झरेपनि पडकास्ट नै गर्ने हो ।’
सुजिता श्रेष्ठ (सञ्चारकर्मी तथा पडकास्टर)
(द अदर्स साइड)
बाल्यावस्थादेखि निकै बोल्नुपर्ने, टुथब्रसलाई माइक बनाएर इन्टरभ्यु लिएको नक्कल गर्नुपर्ने घरको माहौलले बनायो सुजितालाई पडकास्टर । दाइ र दिदी होस्टल बस्थे, उनी घरमा एक्लै हुन्थिन्, यसले गर्दा उनलाई एक्लै बोल्ने बानी बस्यो । उनी कान्तिपुरमा सुरज सिंह ठकुरीका शो हेर्थिन् भने एमटिभीमा विभिन्न मोडल र टिभी स्टारका कार्यक्रम । उनलाई सानैदेखि प्रश्न गर्न मन पर्थ्यो । टिनएजर्स प्रवेश गरेसँगै उनी नेपाल वान टिभीमा हेल्लो नेपाल कार्यक्रम र क्याम्पमेनिया चलाउन पुगिन् । ३ वर्षपछि उनले कान्तिपुर टिभी हुँदै ग्यालेक्सी फोर के सम्मको यात्रा गरिन् । कोरोना महामारी सुरु भएयता उनले जागिर छाडेर फ्रिलान्सिङ गर्न थालिन्। न्युज–२४, नेपहप श्रीपेचलगायतमा उनले आफ्नो कला र सिर्जना प्रस्तुत गरिन् ।
‘त्यसपछि मलाई अर्काको काम गर्न मन लागेन । आफैं केही गरौं भन्ने थियो । अनि सुरु गरें यलोअर्स टिभी (प्रडक्सन हाउस) । ३ वर्षदेखि राम्रै भएको छ,’ सुजिता भन्छिन्, ‘छापा तथा विद्युतीय माध्यमका मिडियामा कतिकुरा काट्नुपर्ने, छाँट्नुपर्ने हुन्छ । कतिपय बोल्न मन लागेका कुरा बोल्न पाइँदैन, मन नलागेका कुरा बोलिदिनुपर्ने हुन्छ । तर डिजिटल मिडिया अर्थात् पडकास्ट जस्ता शोमा स्वतन्त्र–स्वच्छन्द रूपमा धक फुकाएर बोल्न पाइन्छ भन्ने लाग्यो । अनि ‘लेट्स वि द भ्वाइस अफ वुमन’ भनेर द अदर्स साइड सुरु गरें । तर मैले सुरुमा सोचेको जस्तो जे पनि कुरा बोल्न पाइनेपनि होइन रहेछ । पछि मात्रै ज्ञान भयो, यहाँ पनि निश्चित कुरामा सेन्सरसीप हुनेरहेछ ।’ यो कुराले उनलाई पत्रकारिता पढेर आउनु र नपढीकन आउनुमा फरक रहेछ भन्ने बोध गरायो । एपेक्स कलेजबाट ब्याचलर गरेकी सुजिता पत्रकारिताका कतिपय ‘ल एन्ड इथिक्स’ मिडियाकर्मीले थाहा पाउनुपर्ने बताउँछिन् । तसर्थ पनि उनलाई पडकास्ट पत्रकारिता हो भन्ने लाग्दैन । उनका लागि पडकास्ट मनोरञ्जनात्मक सूचना प्रदान गर्ने माध्यम हो ।
डिजिटल मिडियामा वक्तालगायत आर्थिक चुनौती पनि रहेको उनी स्वीकार गर्छिन् । अर्को कुरा गलत तथ्य र सूचना प्रवाह हुने शंका पनि यसमा रहने रहेको बताउँदै उनी भन्छिन्, ‘आजकल त झन् भिडियोका स–साना सर्टस्, क्लिप्स निकालेर युट्युबमा हालिदिन्छन्, जुन हाम्रो हातमा हुँदैन, जसले गर्दा गलत सूचना प्रवाह हुने, अर्को अर्थ लाग्ने सन्देश फैलने सम्भावना रहन्छ ।’ मान्छेहरूले नचिनेसम्म पडकास्टमा उनलाई खुब सकस भयो । पिरियड ट्याबुबाट सुरु गरेको उनको पडकास्टमा आज पनि ‘जेन्डर बायस’ का मुद्दामाथि बलिया आवाज सुनिन्छन् । सुरुवाती दिनमा उनलाई सोसल मिडियामा आएका हेट कमेन्टले खुब तनाव दिन्थे अहिले भने उनलाई यस्ता कुरामा कुनै वास्ता छैन । उनी भन्छिन्, ‘हामी देश बनाउने, कानुन बनाउने, संसार हाँक्ने ठूला कुरा गर्छौं तर दैनिक जीवनमा भोगिरहेका स–साना मुद्दालाई बेवास्ता गर्छौं । मलाई त्यस्ता साना मुद्दामा काम गरेर हरेकको जीवन सहज बनाउन मनपर्छ । यिनै साना कुरामा थोरै पनि परिवर्तन ल्याउन सकियो भने समाजलाई केही दिएको महसुस हुन्छ, आत्मसन्तुष्टि मिल्छ ।’
कमेडी दरबारको होस्टसमेत रहेकी सुजिता पडकास्टमनको सन्तुष्टि पाएको बताउँछिन् । भन्छिन्,‘मेरो केही त छ, जसमार्फत समाज र देशका लागि केही योगदान गर्न सक्छु भन्ने महसुस भएको छ । पडकास्टले मेरो पहिचानलाई नेक्स्ट लेभलमा लगेको ठानेकी छु ।’
सृष्टि काफ्ले (सञ्चारकर्मी तथा पडकास्टर)
(पिरियडका कुरा)
महिनावारीबारे जति नै राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्का बहस चले पनि नेपालमा भने यो मुद्दा ज्युँका त्युँ छ । यसलाई अझैसम्म पनि सोसल ट्याबु र स्टिग्माका रूपमा हेरिन्छ । अपवित्रताको संज्ञा पाएको महिनावारीका विषयमा सञ्चारकर्मी सृष्टि काफ्लेलाई सधैं बोल्न मन लागिरहन्छ । उनको पडकास्ट ‘पिरियडका कुरा’ सुरु हुन पछाडि पनि एउटा रोचक कथा छ ।
सृष्टिलाई लाग्छ पडकास्ट सुन्ने माध्यम हो तसर्थ उनी ‘पिरियडका कुरा’ अडियो भर्सनमै प्रसारण गर्छिन् । यसलाई नेपालका विभिन्न रेडियोले आफ्ना च्यानलमार्फत प्रसारण गर्छन् । ‘लकडाउनताका हो घरमा यत्तिकै बस्दा के गर्ने भइराथ्यो । म र मेरी साथी प्रियंका बुढाथोकी महिनावारीका विषयमा यत्तिकै क्याजुअल गफ गरिरहेका थियौं । उसले आफ्नो महिनावारीको कथा सुनाउँदा मलाई निकै चाख लाग्यो, मैले आफ्नो पनि उसलाई सेयर गरें । यसैलाई हामीले रेकर्ड गरेका थियौं । हामीबीचको विषयगत संवादमा थुप्रै बोल्नु र भन्नुपर्ने कुरा निस्किए । अनि हामीलाई महसुस भयो यसरी नै अरुका फरक कथा पनि सुनाउनुपर्छ ।’ ‘पिरियडका कुरा’ को जन्म र कारणबारे सृष्टि भन्छिन्, ‘महिनावारीका कुरा खुसुरखुसुर गर्ने, खुलेर कुरा नगर्ने, कसैले थाहा पाए भने लाजमर्नु हुन्छ भन्ने सोच्ने गर्दा कतिपयलाई मानसिक तनाव र एन्जाइटी भएको पाइयो । पिरियड हुँदा तातोपानी खाऊ भन्नेबाहेक हामीकहाँ अर्को कुनै ट्रेन्ड नै देखिएन । त्यसपछि हामीले डाक्टर, मनोविद्लगायतका विशेषज्ञ ल्याएर पडकास्टमा कुरा गर्न थाल्यौं । उतिबेला मासिक २ वटा कार्यक्रम चलाउँथ्यौं । प्रियंका विदेश गएपछि यो मासिक कार्यक्रम बनेको छ तर रोकिएको छैन ।’
इटहरीमा जन्मिएकी सृष्टिलाई उतिबेला टिभीका समाचारवाचकले मन लोभ्याएका थिए । त्यसपछि उनी मदन भण्डारी कलेजमा पत्रकारिता र अंग्रेजी विषय लिएर स्नातकोत्तर गरिन् र भइन्चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाकी फुल टाइम पत्रकार । ७ वर्ष काम गरेपछि उनलाई लाग्यो बाँधिएर काम गर्नुभन्दा स्वतन्त्र रूपमा काम गर्नुको मज्जा बेग्लै छ । त्यसपछि उनी अहिले एसिया प्यासिफिक डेलीलगायत विभिन्न चिनियाँ मिडियामा लेख्नेगर्छिन् साथै उनी नेपाल वातावरण पत्रकार समूहको सचिव पनि हुन् ।
कतै कामका सिलसिलामा पुग्दा पनि उनलाई पडकास्टका कथा खोज्न मन लाग्छ । सोही क्रममा उनले सातै प्रदेशका कथा ल्याएकी छिन् । मेनापज (रजोनिवृत्ति) अघि र पछि हुने समस्या, त्यसले निम्त्याउने भयानक मानसिक असरबारे उनको पडकास्टमा सिरिज नै चल्यो । यो पडकास्ट सृष्टि र प्रियंकाले नितान्त व्यक्तिगत पहलमा सुरु गरेका थिए । अहिले पनि व्यक्तिगत पहलमै चलाइरहेका छन् ।पडकास्टले कुनाकाप्चाका श्रोतालाई पनि सम्बोधन गर्छ । उनी भन्छिन्, ‘पत्रकारिताको मुटु समाचार हो भने पडकास्टको मुटु सूचना हो तर यो विशुद्ध पत्रकारिता भने होइन । अहिले त सबैको हातहातमा मोबाइल छ । सिटिजन जर्नालिजमको अवधारणा आइसक्यो । अब यसका लागि मोनिटरिङ मेकानिजम बनाउनु जरुरी छ । यसको भविष्य उज्ज्वल छ । अहिले ग्रोइङ मिडियामै भर पर्नुपर्ने अवस्था छैन ।’
महिनावारी महिलाको मुद्दा मात्रै होइन, सिंगो परिवार र समाज नै यसमा जोडिएकाले पनि आफूलाई यो विषयमा बोल्न मन लागेको सृष्टिले बताइन् । भन्छिन्,‘यो प्राकृतिक प्रक्रिया हो भन्ने कुरामा जोड दिन्छौं । हामी एक–दुईजनाले बोलेर मात्रै हुँदैन अरु थुप्रै कथाले हामीलाई बोल्न प्रेरित गरिरहेका छन्, हामीलाई माध्यम बनाएका छन् । पडकास्ट सुरु गर्नुअघि साधारण मुद्दा याद गरिँदैनथ्यो, पडकास्टपछि साना मुद्दाले पनि ठूला असर पार्दा रहेछन् भन्ने थाहा भयो । अहिले त कतै यात्रा गर्दा तिनै कथा खोज्नमा कौतूहलता र उत्सुकता भरिन्छ ।’
कुनै एक विषयमा गरिने ‘क्यान्डिड क्याजुअल कन्भरसेसन’ लाई पडकास्ट भन्ने सृष्टि जतिपनि भिडियो भर्सन छन्, तिनलाई युट्युब च्यानलका कन्टेन्ट हुन् भन्न रुचाउँछिन्। उनले गरेका बौद्धिक अपांगताभएका मानिसले महिनावारी व्यवस्थापन कसरी गर्छन्, महिनावारी मानसिक स्वास्थ्यसँग कसरी जोडिएर आउँछ भन्ने जस्ता गहन पडकास्ट छलफल देशभर निकै रुचाइएको थियो । उनले भनिन्, ‘यस्तै प्लेटफर्म उपलब्ध भएकै कारण आज हामीले कसैको लगानी र सहयोगबिना नै यी मुद्दा सबैका सामु पुर्याउन सफल भयौं । यसको नियमन जरुरी छ नियन्त्रण होइन ।’