कयौंपल्टको हार, अनगिन्ती प्रयास । कहिलेकाहीँ त उनलाई लाग्ने गर्थ्यो–यो सब छाडेर विदेशतिर लागौं । त्यसो त विदेश पनि सजिलो कहाँ छ र ? यही प्रश्न फेरि अगाडि तेर्सिन्थ्यो । उनलाई परिवार विशेषगरी उनका बुवाले हरपल साथ दिइरहे । ‘हारमा पनि तिमी जित्न सक्छ्यौ’ भन्ने आँट भरिरहे । धेरै पटकको असफलताले बलियो बनाएकैले कागेश्वरी मनोहराको उपमेयरमा असफल रजनी थापा अहिले नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी छिन् । ‘यो सहज थिएन, किनभने पहिलो कुरा त जेसिसमा महिला अत्यन्तै कम अर्थात् १५ देखि २० प्रतिशत मात्रै छन् । हामीकहाँ महिला नेतृत्व स्वीकार गर्न गाह्रो छ । देशभरि यसको भोटिङ राइट्स छ, हर एक व्यक्तिको मन जितेर मात्रै भोट आउने संस्था हो यो,’ दुःखले प्राप्त गरेको सफलताको फेहरिस्त लाउँदै रजनी भन्छिन्, ‘जेसीआई मनोहराको २०१९ को शाखा अध्यक्ष थिएँ । २०२१ मा नेपाल जेसिसको उपाध्यक्ष र झापाको असाइन भएँ । उतिबेला मेरो नेतृत्वमा १६ वटा शाखामा अनगिन्ती काम भए । २०२३ मा आएर राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जितें । त्यतिबेला मैले गरेका काम र त्यसले ल्याएको सकारात्मक परिणामले अहिले काम गर्यो । कामले नै प्रमाणित गरेकाले यो जित हासिल गरेकी हुँ ।’
परराष्ट्र नीति तथा कूटनीति विषयमा त्रिविबाट विद्यावारिधि गरिरहेकी थापा बाल्यावस्थादेखि नै अत्यन्त जिज्ञासु, सक्रिय तथा जुझारु थिइन् । सन् २०११ मै मिस नेसनल क्विनको उपाधि जितेकी उनी उतिबेलै जापानको ‘फ्ल्याट प्लेग’ को एम्बेसडर भइसकेकी थिइन् । हाल उनी सामाजिक कार्यसँगै विभिन्न व्यवसायमा आबद्ध छिन् । सिंगटी हाइड्रोपावरको बोर्ड अफ डाइरेक्टर, मेरो साथी स्यानिटरी प्याडको अध्यक्ष, बैद्धिक ट्राभल्स एन्ड टुरको अध्यक्ष, रजनी सचेतना फाउन्डेसन नेपालको संस्थापकका रूपमा काम गरिरहेकी छन् ।
पहिलो स्थानीय निर्वाचनमा कागेश्वरी मनोहराबाट उपमेयरमा पराजित रजनीले दोस्रो पटक मेयरको प्रतिस्पर्धामा पनि हार बेहोर्नुपर्यो । त्यति मात्रै होइन, उनले नेपाल जेसिसको राष्ट्रिय अध्यक्षको चुनावमा बुटवलमा फेरि पराजय भोगिन् । ‘जेसिसमा यो मेरो दोस्रो प्रयास हो । हार्दाहार्दै पनि मन टुटेन, झन् बलियो भयो । कहिलेकाहीँ टुटौंटुटौं, छुटौंछुटौं लाग्थ्यो तर त्यतिबेला अभिभावक र परिवार सदा साथमै उभिइरहनुभयो,’ उनी आत्मविश्वासका साथ अघि बढिन्, ‘हार्दाहार्दै पनि जित्दा आफ्नै संघर्षसँग जितें । धैर्य, कडा परिश्रम र निरन्तरता ठूलो कुरा रहेछ । नदेखेको सपनाको आकार कहाँ हुन्छ र ? देखेकै सपना त साकार हुन्छ नि ! होइन र ?’
रजनीका अनुसार महिलाले आफूलाई प्रमाणित गर्न धेरै मेहनत गर्नुपर्ने हुन्छ । जेसिसबारे उनले प्रस्ट्याइन्, ‘यो नेतृत्व तथा व्यक्तित्व विकास गराउने संस्था हो । यहाँ विभिन्न तालिम, कार्यशालामार्फत सीप र कला सिकाएर नेतृत्व उत्पादन गरिन्छ । उद्यमशीलतालाई सही ढंगबाट अगाडि लैजाने कौशल पनि यहीँबाट सिकाइन्छ ।’ आफू नेतृत्वमा आइसकेपछि अबको एकवर्षे कार्यकालमा मुलुकका सातै प्रदेशमा स्थानीय तहसँग मिलेर संसदीय बैठक प्रणालीको तालिम गराउने, विकास बजेटका पूर्वाधारलाई प्रणालीमा लैजाने विधि सिकाउने उनका योजना छन् । आउँदै गरेको ‘जेसिस पढाऊ अभियान’ लाई देशभरि फैलाउने तथा समाजलाई प्रभाव पार्ने तालिम दिने, युवालाई व्यवसायी बनाई परिणाममुखी ढंगले अगाडि बढाउने लक्ष्य पनि छ ।
करिब ३ दर्जन मुलुक भ्रमण गरिसकेकी रजनीलाई अब रारा, मुस्ताङ, कागबेनी, श्रीअन्तु घुम्ने रहर छ । धापासीका तेजबहादुर र अनु थापाले छोरीलाई एजुकेसन र एक्सपोजरले मान्छे बनिन्छ भन्ने कुरा सानैदेखि दिमागभित्र हालिदिए । यही कुराले होला रजनी बौद्धस्थित स्तूपा हस्पिटलको नर्सिङ टपर (गोल्ड मेडलिस्ट) सम्म भएर निस्किइन् । उनको करिअरमा उनका इन्जिनियर भाइ सुजन प्रकाश थापाको उत्तिकै साथ, सहयोग र योगदान छ ।
फुर्सद पायो कि एकान्तमा बसेर पुस्तक पढ्न औधी रुचाउने रजनी नेपालमा महिलालाई नेतृत्व लिन सजिलो छ भन्ने भाष्य निर्माण भएको बताउँछिन् । ‘पहिलो कुरा त महिलालाई यहाँ चरित्र जोगाउनै गाह्रो छ । म सही छु है भनेको भन्यै गरिराख्नुपर्छ, यही कुरा पुरुषको हकमा कम लागू हुन्छ,’ उनी भन्छिन्, ‘आफूले आफैलाई हरेक क्षण प्रमाणित गरिराख्नुपर्छ । हाम्रो पेसामा त अझ रातबिरात, देश–विदेश हिँडिराख्नुपर्ने हुन्छ । यसले गर्दा झनै गाह्रो छ ।’ स्थानीय निकायसँग समन्वय र सहकार्य गर्ने, सञ्चारमाध्यममा नेपाल जेसिसको ब्रान्डिङ गर्ने र नेपाल जेसिसलाई तालिम प्रशिक्षण केन्द्रका रूपमा स्थापित गराउने उनका मूल एजेन्डा छन् । ‘यसमा बोलेर होइन कामै गरेर देखाउन लागिपरिरहेकी छु,’ उनी भन्छिन्, ‘फलदायी र सकारात्मक परिणाम आउनेमा ढुक्क छु, किनभने म कडा मेहनत गरेरै आएकी मान्छे हुँ, अझै गर्न सक्छु ।’