२०६४ साल अघिसम्म सुरक्षा फौजमा पुरुषकै बाहुल्य थियो । त्यसयता विकसित समानता र समावेशीकरणको अवधारणले अन्य क्षेत्रमा जस्तै सुरक्षा फौजमा पनि महिला उपस्थिति बढ्दै गएको छ । यसको प्रभावकारिता र सहभागिता देखिन्छ, संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति मिसनमा । जहाँ नेपाली सेना, प्रहरी, सशस्त्र निकायका महिलाको सहभागिता बढेको छ । यूएन मिसनसम्म पुगेका केही महिला सैनिकको अनुभवलाई यो अंकको नारीमा समेटेका छौं ।
बिरामीको सेवामा डा. सरिता
नेपाली सेना र तिनका सपरिवारको उपचारमा खटिरहेकी छन्, सहायक रथी (जर्नेल) सरिता केसी । सेनाको छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उनी ‘अंको सर्जन’ हुन् । टाउको नाक र घाटीको क्यान्सर विशेषज्ञका रूपमा सेवा दिइरहेकी छन् । उनमा सानैदेखि बिरामीको सेवा गर्ने अठोट थियो, जुन सपना यतिबेला पूरा गरिरहेकी छन् । काठमाडौं महाराजगन्जकी उनले सैनिक बिद्यालयबाटै आइएस्सी पढिन् । भारतको पुना स्थित आर्म्ड फोर्सेस मेडिकल कलेजबाट एमबीबीएस पूरा गरिन् । टाटा मेमोरियल क्यान्सर अस्पताल मुम्बईमा क्यान्सर विशेषज्ञता हासिल गरिन् । बुवाको पदछाप पछ्याउँदै उनी सेनामा जागिर खान पुगेकी हुन् । सेवा प्रवेशको अर्को वर्ष २०५६ मै उनी शान्ति मिसनका लागि लेबनान पुगिन्, जहाँ उनको जिम्मेवारी थियो मेडिकल अफिसर ।
शान्ति सेनामा सहभागि हुने नेपाली महिला शान्ति सैनिकहरुमा आफ्नो पहिलो महिला शान्ति सैनिक रहेको उनको भनाइ छ । महिलालाई पठाउन संगठनले पनि विश्वास गरिनसकेको अवस्था थियो । आँट गरिन्, आत्मविश्वास बढाइन् । अन्ततः उनको साथमा स्टाफ नर्स पनि जाने अवस्था बन्यो । ‘युद्धग्रस्त क्षेत्रमा बंकरमा लुक्नुपर्छ, खानेबस्ने टुंगो हुन्न भन्ने डर थियो नै । तर मैले सक्छु भनेर आँट गरेपछि संगठनले पठाएको हो,’ उनले अनुभव सुनाइन्, ‘लेबनान पुग्दा महिला आएको भनेर हेर्न आउनेको भीड थियो । भाषाका कारण केही समस्या भए पनि मुस्लिम समुदायका महिलालाई सेवा दिन पाउँदा आनन्द आएको उनले सुनाइन् । ‘द्वन्द्वपीडित महिला, वृद्धवृद्धा र केटाकेटीले खुलेर कुरा गरे,’ उनी भन्छिन्, ‘मेरो ठाउँमा पुरुष सैनिक थिए भने मुस्लिम समुदायका महिलालाई बोल्न सहज हुँदैन थियो, उनीहरूलाई जुन काउन्सिलिङ गरेँ, त्यसले धेरैको मनमा मलमपट्टीको काम गरेको महसुस गरेँ ।’
नयाँ चुनौती सामना गर्न रुचाउने सरिता दोस्रोपटक २००८ मा सुडान डार्फर पुगिन् र मेडिकल टिमसँगै उनले नेतृत्वको क्षमता पनि विकास गरिन् । परिस्थितिलाई सम्हाल्न सक्ने क्षमताले नै सक्षम बनाउने उनी बताउँछिन् । ‘हामी जिम्मेवारी बोकेर आएका हुन्छौं, काम नै यही हो भनेर सम्झन्छौं,’ भन्छिन्, ‘दायित्व र कर्तव्यबाट पन्छिन हामीलाई छूट छैन । त्यही भएर डटेर लड्ने गर्छौं ।’ दुई वटा मिसनपछि २०१७ मा यूएन हेडक्वाटर ‘प्लानिङ मेडिकल अफिसर’ को जिम्मेवारी पूरा गरेर उनी फर्किएकी छन् ।
गुल्मकोनेतृत्व गर्दै दीक्षा
नारायणहिटीस्थित नेपाली सेनाको गोरखकाली गुल्म एक मात्र महिला गुल्म हो । जसको कमान्ड गरिरहेकी छन्, गुल्मपति सेनानी दीक्षा राजभण्डारी । कार्य जिम्मेवारी सम्हालेको एक वर्ष पुग्नै लाग्दा महिलामैत्री वातावरण निर्माण आफ्नो प्राथमिकता रहेको उनले सुनाइन् । ‘महिलाको शारीरिकदेखि पारिवारिक समस्यालाई ख्याल गर्दै उनीहरूलाई सहज वातावरण निर्माणको पक्षमा छु,’ गुल्मपति दीक्षा भन्छिन्, ‘महिलाको समस्या महिलाले नै बुझिदिनुपर्छ । महिनावारी, सुत्केरीजस्ता अवस्थालाई ख्याल गर्दै कार्यजिम्मेवारी बाँडफाँट हुने गरेको उनी बताउँछिन् । उक्त गुल्ममा ड्राइभर, प्लम्बरलगायत हरेक क्षेक्रका महिला जनशत्ति छन् । आफ्नो जिम्मेवारीमा उनीहरू पोख्त पनि छन् ।
परिवारले दीक्षाका दाइलाई सेनामा प्रवेश गराउन चाहन्थ्यो । तर, उनले पनि आँट गरिन् । ‘म पनि के कम, परिवारलाई चुनौती दिँदै २०६३ मा महिला अधिकृत क्याडेटमा प्रवेश गरेँ,’ उनले सुनाइन्, ‘दाइभाइभन्दा म कमजोर छु भन्ने महसुस नगरेकाले सैनिक संगठन रोजेँ ।’ काठमाडौंमा हुर्किएकी उनले परिवारमा दाइभाइसरह नै अवसर प्राप्त गरिन् । पारिवारिक वातावरणले पनि उनमा ‘महिला भएर हार्न हुँदैन’ भन्ने आत्मविश्वास पलायो । त्यो समय नेवारी समुदायमा महिलाबाहिर निस्कने चलन त्यति थिएन तर परिवारको साथ पाइन् र पुगिन् सेनामा जागिर खान । कठिन परिस्थिति सामना गर्न पछि हटिनन् । प्रवेशको समय हुने कठिन तालिमले उनको ज्वरो फुट्यो, निमोनिया देखापर्यो । सबैले भन्थे, ‘सेनाको तालिम गाह्रो छ, सक्दिनौ अब छाड्देऊ ।’ तर पनि उनले साहस जुटाइरहिन् । ‘मैले त्यसबेला छाडेको भए महिला भएर सकिन भन्ने भाष्य निर्माण हुन्थ्यो,’ उनी गर्वसाथ भन्छिन्, ‘तर मलाई प्रमाणित गर्नु थियो ।’ अधिकृत आधार तालिम तालिम पश्चात सहायक सेनानीबाट सेनामा जागिर सुरु भएको हो उनको । २०६४ मा ‘इयोडी होल्डिङ युनिट’बाट बम डिस्पोजल तालिम मार्फत बम डिस्पोजलको जिम्मेवारी सम्हाल्न पुगीन् । जोखिमपूर्ण भए पनि तालिम, प्रविधि र टिमवर्कले काममा कठिनाइ नहुने उनको अनुभव छ । त्यसो त चुनौतीपूर्ण समयमा आफूलाई कसरी संयमित राखेर काम फत्ते गर्ने उनलाई सैनिक तालिमले सिकाइसकेको छ । ‘बम डिस्पोज गर्नु चुनौतीपूर्ण र जोखिमपूर्ण काम हो,’ उनी भन्छिन्, ‘पब्लिकदेखि आफूलाई बचाएर धैर्यसाथ फोकस भएर काम गर्नुपर्ने हुन्छ ।’
अधिकृतबाट सेवा प्रवेश गरेकी उनी हाल सेनानी (मेजर) छिन् । यसबीच उनले थुप्रै कार्यजिम्मेवारी सम्हालिन् । शान्ति मिसन उनका लागि अविस्मरणीय छन् । हाइटी, माली र सेन्टर अप्रिकन रिपब्लिकगरी ३ पटक शान्ति मिसनमा पुगेकी छन् । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु र पीडितको सहयोग गर्नु नै सेनाको मुख्य जिम्मेवारी हुन्छ । जिम्मेवारी निभाउन भने आफूलाई मानसिक एवं शारीरिक रूपमा सशक्त हुनुपर्ने उनी बताउँछिन् ।
पश्चिम अफ्रिकाको एक द्वन्द्वग्रस्तदेश मालीमा ज्यान जोगाउन कठिन भएको अनुभव छ, उनीसँग । बम र रकेटको प्रहारबाट बाँचेर फर्किनु नै ठूलो सफलता ठान्छिन् उनी । टिम लिडरका रूपमा त्यहाँ पुगेकी उनले बम डिस्पोजको जिम्मेवारी निभाइन् । ‘युद्धग्रस्त क्षेत्रमा वातावरण सहज हुँदैन, पाल र बंकरभित्र बसेर जस्तोसुकै अवस्थामा पनि आफूलाई बचाउनुपर्ने हुन्छ,’ उनले अनुभव सुनाइन् । माली मिसनको समयमा हो, उनले समयको महत्व बुझेको । एक सेकेन्डले पनि ज्यान जान सक्ने अवस्थामा द्वन्द्वपीडितको सेवा गर्न सकेकामा उनलाई गर्व महसुस हुन्छ ।
दुई छोरीकी आमा उनी आफ्नो जिम्मेवारी निभाउँदै कर्ममा निरन्तर खटिइरहेकी छन् । सेनाको जागिर अधिकांश बाहिर नै रहनुपर्दा परिवारसँग रहने समय निकै कम हुन्छ । उनका श्रीमान् पनि यही क्षेत्रमा भएकाले उनलाई सहज छ । एउटै क्षेत्रमा भएकाले एक–अर्काले समस्या र परिस्थितिलाई बुझ्न सक्दा समाधानको उपाय निकाल्न सहज हुने उनको अनुभव छ । उनी बाहिर हुँदा श्रीमान्ले घर सम्हाल्छन् भने श्रीमान् बाहिर हुँदा उनले । ‘छोरीलाई म धेरै ठाउँमा लिएर पुग्छु,’ भन्छिन्, ‘यसो गर्दा उनीहरूले मेरो कामका बारेमा थाहा पाउँछन्, अर्को उनीहरूसँग समय बिताउन पाउँछु ।’
गाडी हाँक्ने उमा
सेनामा फौजी हुने रहरले सिपाहीमा भर्ती भइन्, उमा ज्ञवाली । सुर्खेतमा आर्मी कुँदेको देखेर नै उनमा सैनिक बन्ने सोच पलाएको हो । तर, जिम्मेवारी भने फरक भइदियो । निश्चित तालिमपछि उनको काम ड्राइभिङ गर्नु थियो । गाडी कसरी चल्छ भन्ने अन्योलमै उनले ड्राइभिङ सिकिन् । ‘सेनाभित्र पनि गाडी चलाउने काम हुँदो रहेछ भनेर छक्क परेकी थिएँ,’ उनले सुनाइन् । बर्दी लगाएपछि मात्रै उनले साँच्चिकै सैनिक बनेको महसुस गरेकी रहिछन् । ‘बुट लगाएर हिँड्दा सुरुमा त असहज महसुस भयो, पछि बानी परिहाल्यो,’ उनले हाँस्दै सुनाइन् । सानो गाडीबाट नै उनले काम सुरु गरिन्, विस्तारै यसले आत्मविश्वास बढायो । अहिले त उनी ठूला गाडी पनि कुँदाउन सक्ने भएकी छन् ।
उनको गाडीको स्टेयरिङ काठमाडौंमा मात्र घुम्दैन । गोरखा, धादिङजस्ता जिल्लामा पनि उनी पुगिसकेकी छन् । आवश्यकतानुसार जुनसुकै गाडी पनि उनले हाँक्नुपर्ने हुन्छ । ‘गाडी चलाउनु पनि महत्वपुर्ण जिम्मेवारी लाग्छ, किनकि पल्टन नै लिएर हिँड्नुपर्ने हुन्छ,’ उनी भन्छिन् ।नेपाली सेनामा प्युठ रहेकी उनको यात्रा शान्ति मिसनसम्म पुगिसकेको छ । पहिलोपटक उनी सुडान पुगेकी हुन्, फरक भूमिका र आवश्यकतानुसार काममा खटिन तयार भएर । मिसनमा उनको जिम्मेवारी सीमित थिएन । ‘मिसनमा गएपछि यही जिम्मेवारी हुन्छ भन्ने हुँदैन,’ उनको अनुभवले भन्छ, ‘त्यहाँको अवस्थाले जिम्मेवारी तोकिन्छ र आवश्यकतानुसार जुनसुकै काम गर्न तयार हुनुपर्छ ।’स्वदेशमा मात्र नभई विदेशमा सेवा गर्दा उनले थुप्रै अनुभव बटुलिन् । अन्य देशका सैनिकसँग काम गर्दा र पीडितलाई सेवा गर्न पाउँदा खुसी लाग्छ ।
शारीरिक एवं मानसिक रूपमा तनाव हुने भए पनि मिसनको ओजले आनन्दित बनाउने उनी बताउँछिन् । ‘युद्धग्रस्त क्षेत्रमा धेरै तनाव हुने नै भयो, तर समूहगत कामले धेरै सहज बनाउने रहेछ,’ उनी भन्छिन्, ‘त्यस्ता फरक अनुभवले आफूलाई थप जिम्मेवार पनि बनाउदो रहेछ ।’ उनी सैनिक संगठनमा प्रवेश गरेको १३ वर्ष बितिसकेको छ । उनका श्रीमान् पनि सेनामै छन् । सात बर्षको बच्चालाई सासू–ससुराले हेरचाह गरिरहेका छन् । सेनामा धेरै समय परिवारबाट टाढा रहनु परे पनि सेवा सुविधाका हिसाबले राम्रो रहेको उमा बताउँछिन् । ‘तलबबाहेक अन्य सेवा सुविधाले जीवनयापमा सहज भएको छ,’ उनले भनिन् । उनका अनुसार तालिमको डरले धेरैजसो सेनामा आउनै डराउँछन् । तर, समूहगत तालिम हुने भएकाले एकलाई हेरेर अर्कोमा आँट आउने गरेको उनको अनुभव छ ।
स्कर्टिङमा नानु
सेनाको विरासत बोकेको परिवार हो, नानु तामाङको । बुवा र दाइले हजुरबुवाकै पथ पछ्याए । यही क्रममा नानु आइपुगिन् । राम्रो जागिर र सुविधा हुन्छ भनेर परिवारले नै हौसला दिएपछि उनी सिपाहीबाट सेनामा प्रवेश गरिन् । अहिले जमदारका रूपमा सैनिक प्रहरी गणमा कार्यरत छन् । आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले नै सेनामा जागिरको मोह बढेको उनको भनाइ छ ।
उनको मुख्य काम हो भीभीआईपीको स्कर्टिङमा खटिनु । हाइटी र सेन्ट्रल अफ्रिका मिसनमा पुगेकी छन्, उनी । भूकम्पका समयमा हाइटीमा सहयोग गर्न पुगिन् भने द्वन्द्वग्रस्त क्षेत्र सेन्ट्रल अफ्रिकामा पुग्दा वातावरण फरक थियो । सेनाले मिसनमा जानुअगाडि त्यहाँको भौगोलिक अवस्थाबारे अवगत गराएको हुन्छ । शान्ति मिसनमा जानुमा के फाइदा भन्ने प्रश्नमा उनी भन्छिन्, ‘चुनौती सामना गर्न सिकाउँछ ।’
जागिरको १९ वर्षे यात्रामा पारिवारिक र सामाजिक सम्मान मिलेको उनले सुनाइन् । सेनामा महिलालाई हेर्ने नजर परिवर्तन हुँदै गएको उनको अनुभव छ । ‘सरकारी जागिर सुरक्षित भएकाले सेनामा धेरै महिलाका लागि अवसर छ,’ ।