Successfully Copied

रोचक रचना

चटपटे बनाउँदा–बनाउँदै रचना रिमाल कसरी चर्चित गायिका बनिन् ? सानो ठाउँमा रमाइरहेकी उनले कसरी देश–विदेशको उडान भरिन् ?


चटपटे बनाउँदा–बनाउँदै रचना रिमाल कसरी चर्चित गायिका बनिन् ? सानो ठाउँमा रमाइरहेकी उनले कसरी देश–विदेशको उडान भरिन् ? छोटो समयमै लोकप्रिय बनेकी गायिकाको यात्रा रमाइलो र रोचक पनि उत्तिकै छ । ‘फोटो फिरिममा’ उनको प्रीति, सुनन पियारी, तिमी त पोखरेली, चाहन्छु माया बढोस् उनका चर्चित गीत हुन् । छोटो समयमा चर्चित र लोकप्रिय हुनुको कारण श्रोताहरूको माया ठान्छिन् उनी । उनी भन्छिन्, ‘मलाई सबैले माया गर्नुहुन्छ,गीत गाउन प्रोत्साहन गर्नुहुन्छ । त्यसैले गायनमा सफलता मिलेजस्तो लाग्छ । त्यसो त उनी सामाजिक सञ्जालबाट उदाएकी गायिका हुन् । पढाइमा सधै अब्बल उनी गायन क्षेत्रमा पनि राम्री गायिका बनिन् । गाउने र नृत्य गर्ने सोख उनको बाल्यकालदेखिकै हो । विद्यालयका कार्यक्रममा उनी भजन र गीत गाउँथिन् । शिक्षकहरूको हौसलाले उनलाई गायन क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन मिलेको बताइन् । त्यही दृढता र निरन्तरताले नै उनलाई लोकप्रिय गायिकाको श्रेणीमा उभ्याइदिएको हो ।

घरको त्यो सपना
उनी तेह्रथुम जिल्लामा जन्मिएर झापाको भद्रपुरमा हुर्किइन् । उनी घरकी माहिली छोरी हुन् । घरको आर्थिक अवस्था कमजोर थियो । जसले गर्दा पानी पर्दा छत चुहिन्थ्यो, हावा लाग्दा टिन उड््थे र गर्मीमा घरभित्र सर्प पस्थे । वैदेशिक रोजगारीमा गएका बुवालाई घर धान्न निकै कठिन थियो । पढाइमा अब्बल भएकीले घरको आश पनि रचनामा थियो । सबैले उनलाई भन्थे, नानी डाक्टर बन्नुपर्छ । तर रचनाको भने राम्रो घर र बुवालाई बाइक किनिदिने सपना थियो । उनले भनिन्, ‘मेरो बाल्यकालदेखिको सपना भनेकै राम्रो घर बनाउने र बुवालाई बाइक किनिदिने थियो ।’ उनको यो सपना दुई वर्षअघि नै पूरा भइसकेको छ । उनले पक्की घर बनाइसकेकी छन् । बुवालाई उनले बाइक होइन अटोरिक्सा किनिदिएकी छन् । यति चाँडै यो सपना पूरा होला भनेर उनले सोचेकी पनि थिइनन् । कर्णप्रिय स्वरका कारण नै उनले छोटो समयमा सफलता हात पारिन् । यतिले मात्र उनको परिवारको जिम्मेवारी पूरा भएको छैन घरको आर्थिक भार पनि उनकै काँधमा छ । उनी भन्छिन्, ‘परिवारको सहयोग नभएको भए यहाँसम्म म आउने थिइन ।’

नेपाल आइडलको चिनारी
उनी १७ वर्ष पुग्दै थिइन् । सामाजिक सञ्जालबाट स्वरका कारण भाइरल भइन् । र नेपाल आइडलमा गाउन पुगेपनि टप ८ बाट बाहिरिइन् । यही प्लेटफर्मबाटै उनको थप परिचय भयो । उनले भनिन्, ‘सबै जनाले हौसला दिएपछि नेपाल आइडलमा सहभागी भएँ । त्यहाँबाट म सबैमाझ परिचित भएँ।’ राम्रो गीत गाउने र बाहिरिने भनेर कमेन्ट पनि थुप्रै आए । प्रतिभाभन्दा पनि भोटका कारण विजेता घोषणा हुने कुरामा उनले चित्त बुझाइन् । नेपाल आइडलबाट बाहिरिएसँगै उनी गायन क्षेत्रमा प्रवेश गरिन् । संगीतकार वसन्त सापकोटाले पहिलो गीत गाउने अवसर दिए । उनी रेकर्डिङ गराउनुअघि नै भाइरल भइसकेकी थिइन् । उनले ‘रुमाल चिनो’ पहिलो गीत रेकर्ड गराइन् । यही गीत रेकर्ड गरेपछि भने उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । उनले दैनिक ५ वटा गीत रेकर्ड गराइसकेकी छन् । हालसम्म गणना गर्दा एक हजार दुई सय पुगिसकेको उनी बताउँछिन् ।

सिक्दै अघि बढ्दै
गायन क्षेत्रमा आएसँगै उनले धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । हाल उनी संगीतमा स्नातक गर्दैछन् । उनले भनिन्, ‘आफूले गरेको कामलाई अध्ययनले थप निखारता ल्याउँछ । त्यसैले संगीतको अध्ययन गर्न थालेकी हुँ, अझै बुझेर अगाडि बढ्ने रहर छ । उनी झापाबाट काठमाडौं झरिन् । काठमाडौंको वातावरणमा घुलमिल हुन उनलाई धेरै समय लाग्यो । उनले बोलेका कुरा धेरै ट्रोल हुन्थे । त्यसैले आफूलाई जे सही लाग्छ त्यही जवाफ फर्काउँथिन् । सेलिब्रेटी हुन त्यति सहज थिएन । हरेक कुरामा सचेत हुनुपर्ने उनले बुझेकी छन् । उनले आफ्नो बोलीचाली र जीवनशैलीमा धेरै कुरा सुधार गर्दै अघि बढेको बताउँदै देश–विदेशको भ्रमण गर्दा पनि अनुशासनमा बस्नुपर्ने बताइन् । भनिन्, ‘थोरै गल्ती बोलियो भने पनि यहाँ ट्रोल बनाइन्छ जसले गर्दा अहिले सचेत भएर बोल्दै हिँडेकी छु ।’

तस्बिरहरुः महेश प्रधान
पहिरनः केबी फेसन स्टुडियो, सिमरा
हेयर एन्ड मेकअपः खुशी पाठक, ऐना युनिसेक्स सलनु, त्रिपुरेश्वर
लोकेसनः लेमन ट्री प्रिमियर, बुढानिलकण्ठ

 Image