Successfully Copied

सामाजिक सञ्जालका वक्ता

महिला अधिकारकर्मी हिमा विष्ट बलात्कारदेखि, महिला हिंसाका कुराहरू लेख्ने गर्छिन् । बलात्कारविरुद्ध, पुरुषहरूविरुद्ध बोलेको आरोप खेपिरहनुपर्छ, उनलाई । उनलाई समाज भड्काएको आरोपदेखि छोरीहरू बिगारेको आरोपसम्म आउँछ ।


आफ्ना हरेक कुराहरू सामाजिक सञ्जालमा अभिव्यक्त गर्छिन्, मानवी पौडेल । आफूलाई लागेका कुरा सोसल मिडियामा लेखिहाल्छिन् । उनले बाटोमा देखेका गतिविधिदेखि लिएर सामाजिक घटनाहरू लेख्ने गर्छिन् । जस्तै बाटोमा तारा झरेकोदेखि लिएर खाल्डाखुल्डीहरू देखे स्टाटस लेख्छिन् र समाधानको समेत पहल गर्छिन् । उनका कति स्टाटस समाचार बनेका छन् र सकारात्मक काम पनि भएका छन् । उनका ४५ हजार फलोअर भएको ट्वीटरमार्फत आफ्ना धारणा व्यक्त गर्छिन् । कहिले गाली खान्छिन् भने कहिले उनको आलोचना हुन्छ । यसलाई सहर्ष स्वीकार गर्छिन् उनी । उनी भन्छिन्, ‘जहाँ बोलिन्छ त्यहाँ प्रतिक्रिया हुन्छ । यसलाई मैलै स्वाभाविक रूपमा लिएकी छु ।’ समाजदेखि राजनीतिसम्म चासो राख्ने उनी आफ्ना कुरा राख्न पछाडि पर्न नहुने बताउँछिन् । हरेक युवापुस्तालाई आफ्ना कुरा राख्न आग्रह गर्छिन्, उनी । महिला भएकै कारण स्टाटसमा गाली र आलोचना भएको ठहर पनि उनको छ । महिलाहरू कति बोलेको, किन बोल्नुपरेको भनेर विरोध गर्ने गरेको उनी बताउँछिन् । उनलाई लाग्छ, आफ्नै वालमा आफूलाई लागेको कुरा निस्फिक्री भएर लेख्दा हुन्छ अरुको डर मान्नु हुदैन ।’



महिला अधिकारकर्मी हिमा विष्ट सामाजिक, राजनीतिकदेखि हिंसाका कुरा उठाउँछिन् । उनले बलात्कारदेखि, महिला हिंसाका कुराहरू लेख्ने गर्छिन् । बलात्कारविरुद्ध, पुरुषहरूविरुद्ध बोलेको आरोप खेपिरहनुपर्छ, उनलाई । उनलाई समाज भड्काएको आरोपदेखि छोरीहरू बिगारेको आरोपसम्म आउँछ । उनी भन्छिन्, ‘छोरीहरूलाई समाज बिगारे भनेर आलोचना गरिन्छ । तर पनि हरेक छोरी बोल्न र आफ्ना कुरा भन्न डराउनु हुँदैन । पितृसत्तात्मक सोचले अझै पनि महिलाहरू स्वतन्त्र हुन सकेका छैनन् । सुरुसुरुमा त आलोचनाले निकै चित्त दुख्ने गरे पनि अहिले त्यसलाई सहज रूपमा लिन थालेकी छन् । उनले भनिन्, जहाँ गाली हुन्छ त्यहाँ ताली पनि हुन्छ । कराउने कराउँदै गर्छन् बोल्नेहरू बोल्छन् तर आफ्ना कुरा भन्न छोड्न त भएन ? आलोचना सहन नसक्दा कतिपय अवस्थामा पुस्तक पढ्ने गरेकी छु । सामाजिक सञ्जालमा महिला आवाज कम हुनु पनि पित्तृसत्तात्मक सोच भन्ठान्छिन् उनी । उनी भन्छिन्, ‘महिलाहरूमाथि यति तुच्छ गाली–बेइज्जती भए पनि उनीहरूमा सहन सक्ने क्षमता पनि एकदमै कम हुन्छ । अर्को कुरा महिलालाई सपोर्ट पनि गरि“दैन । एउटी महिलाले बोलेको कुरा अर्की महिलाले सपोर्ट गर्नुपर्ने हो तर अवस्था त्यस्तो छैन ।’ महिलालाई परिवारदेखि समाजले नै सपोर्ट नगरेपछि उनीहरू बोल्न र आफ्ना कुरा राख्ने हिम्मत नै गर्न नसक्ने अवस्था रहेको उनी बताउँछिन् । बोल्यो कि झम्टिहाल्छन् अनि कसरी बोल्न सक्छन् त ? पुरुषले बोल्दा आलोचना कम हुने र उनीहरूलाई सपोर्ट पनि मिल्ने भएकाले नै सामाजिक सञ्जालमा पुरुषको आवाज धेरै देखिएको हो ।

महिला भएका कारण थुप्रै्र्र आलोचना सुन्नु परेको बताउँछिन्– समाजशास्त्री, निर्मला ढकाल । उनलाई लाग्छ महिला भएर किन बोलेकोदेखि लिएर आफूले लगाएको पहिरनमा समेत आलोचना हुन्छ । उनले भनिन्, ‘महिलाहरूलाई बोल्न र आफ्ना विचार व्यक्त गर्न अझै पनि स्वतन्त्रता छैन । समाजले दबाउन खोज्छ र घरमा छाडा भएर यिनीहरू यसरी बोलेका हुन् भन्ने आरोप लगाउँछ ।’ उनले पनि लेख्नेदेखि लिएर व्यायाम गरेको र नाचेको भिडियो राख्ने गर्छिन् । ट्वीटरमा करिब ६० हजार फलोअर्स भएको अकाउन्टबाट उनी आफ्नो विचार राख्छिन् र बोल्छिन् । धेरै महिलाको अभिव्यक्तिको प्रतिनिधित्व गरेको उनी बताउ“छिन् । उनको विचारको भन्दा पनि पहिरन र शैलीमा बढी मानिसको कमेन्ट आउने गरेको छ । आलोचना भए पनि उनी निर्धक्क बोल्ने र फोटो हाल्ने गर्छिन् । अरुको विचारसँग सहमति जनाउनुपर्छ भन्ने लाग्दैन उनलाई । उनको अभिव्यक्तिलाई लिएर थुप्रै अभिभावकले प्रशंसा पनि गरेका छन् । कतिपय अभिभावकले आफ्ना छोरीहरू पनि यस्तै बोल्न सकून् भन्ने चाहना रहेको बताउँछिन् उनी । उनले भनिन्, ‘धेरै अभिभावकको चाहना आफ्ना छोरीहरू बोलून् र प्रतिकार गरून् भन्ने हुँदो रहेछ ।’ सामाजिक सञ्जालमा लेख्नु र बोल्नु देख्दा सामान्य लागे पनि यो एउटा आँट र साहस भएको उनको धारणा छ । सामाजिक सञ्जालमा लेख्ने, बोल्नेले आलोचनादेखि ताली, गाली सबै सहनुपर्छ । साँच्चै भन्नुपर्दा आलोचना सहनेले मात्रै बोल्न र लेख्न सक्छ । उनले भनिन्, ‘बोल्न, विरोध गर्न र आलोचना सहन साँच्चै साहस र हिम्मत चाहिन्छ । अहिले बोल्न डराउनु हुँदैन । सामाजिक सञ्जाल धेरैले चलाउने भए पनि कमैले मात्र बोल्ने र प्रतिक्रिया दिने गर्छन् । उनले आफूले लेखेका सबै स्टाटसहरूको कमेन्ट हेर्दिनन् पनि । तर कहिलेकाहीँ यस्ता प्रतिक्रियाले आफूलाई सच्चिने मौका समेत मिल्ने उनको अनुभव छ । कमेन्टहरूले कतै आफूले नराम्रो र नबुझी लेखेकी भनेर झस्काउँछ ।

लेखक तथा पत्रकार अमृता लम्साल पनि सामाजिक सञ्जालमा सक्रिय छिन् । उनले सामाजिक विषयवस्तुदेखि महिलाका मुद्दाहरू उठाउँछिन् । आफूलाई लागेको विषयमा बोल्नुपर्छ भन्ने लाग्छ, उनलाई । आफ्ना विचार राखेवापत आलोचना पनि सुन्नुपर्छ । लेखेकै आधारमा सामाजिक सञ्जालमा धेरै पटक उनको झगडा भएको छ । कमेन्टहरूमा रिप्लाइसँगै थुप्रै असहमति पनि भएका छन् । तर उनी खासै वास्ता गर्दिनन् । मेरो विचारसँग सहमति नजनाउन पाइन्छ । जति नै आलोचना भएपनि लेख्न र बोल्न छाड्नु  भन्ने उनलाई लाग्छ । यसो गरे केही न केही प्रभाव त पक्कै पर्छ । उनको ‘मिडिया महिला र म’ पुस्तक सार्वजनिक भएको छ । त्यसमा उनले महिलाका इतिहासहरू मेटिँदै गएको लेखेकी छन् । उनले भनिन्, ‘इतिहासमा महिलाहरू मेटिँदै गएका छन्, यसकारण महिलाहरूले निरन्तर बोल्ने र लेख्ने गर्नुपर्छ ।’

जातीय विभेद र सामाजिक कुरीतिविरुद्ध बोलिरहन्छिन्, विन्दु परियार थापा । नेपाल दलित महिला उत्थान संघ (एड्वान) की अध्यक्ष रहेकी उनले निरन्तर विभेदविरुद्ध आवाज उठाइरहन्छिन् । कुरीतिविरुद्ध मैले नबोले कसले बोल्छ भन्ने उनलाई लागिरहन्छ । पछिल्लो समय सेलिब्रेटीहरूद्वारा बलात्कारका घटना आइरहेका छन् । सेलिब्रेटीहरू बलात्कारी हुन सक्दैनन् भने सामाजिक भाष्यलाई उनले चिर्न खोजेकी छन् । उनी भन्छिन्, ‘सो भाष्य चिर्न पनि निरन्तर रूपमा बोलिरहेकी छु ।’ आफ्ना कुरा बोल्न र सामाजिक सञ्जालमा राख्न त्यति सहज नभएको उनको ठहर छ । गाली र आलोचनाको कुनै सीमा हुँदैन । धेरै पटक उनी विचलित पनि भएकी छन् । उनीमाथि महिला र जातका कारण प्रहार भइरहन्छ । जातीय विभेदको विरुद्धमा बोल्दा पछिल्लो पुस्ताले उनलाई आलोचना गरिरहन्छ । यसले उनलाई लाग्छ समाज परिवर्तन त भएकै छैन । डराएर बस्यो भने यस्ता समस्या झनै ओझेलमा पर्छन् त्यसैले पनि उनले बोल्न र सामाजिक परिवर्तनका लागि आँट र साहस बटुलेकी छन् । उनले भनिन्, ‘कुरीतिविरुद्ध बोल्दा डलरवादी भनिन्छ, समाजका बुद्धिजीवीकै यस्तोे आलोचना देख्दा दुःख लागेर आउँछ ।’ आलोचना सहेरै भए पनि परिवर्तनको प्रयास गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।

 Image