Successfully Copied

दुर्गा शोव -आवाज नसुन्नेको आवाज

तीन दशक लामो दलित आन्दोलनमा सक्रिय रहेकी अधिकारकर्मी दुर्गा शोवले चाहेर अधिकारकर्मी भएकी होइनन् । समाजले जताततै उनीप्रति गरेको तिरस्कार र निषेधको परिणामस्वरूप अधिकारकर्मी भएकी हुन् ।




‘धारामा पानी लिन जाँदा छुट्टै बस्थें, स्कुलमा बेन्च परै राखिन्थ्यो । बाटोमा कोही कथित उपल्ला जातिले छोइहाले भने सुनपानी छर्किएर चोख्याइन्थ्यो । एउटै समाजमा मान्छेबीचको विभेद देखेर मलाई लाग्थ्यो–दलित भएर जन्मिनु दोष हो । तर, पछि बुझ्दै गएँ । यी सबै मान्छेले शोषण गर्न रचेका योजनाहरू हुन् । अनि समाज रूपान्तरण गर्न लागें ।’तीन दशक लामो दलित आन्दोलनमा सक्रिय रहेकी अधिकारकर्मी दुर्गा शोवले चाहेर अधिकारकर्मी भएकी होइनन् । समाजले जताततै उनीप्रति गरेको तिरस्कार र निषेधको परिणामस्वरूप अधिकारकर्मी भएकी हुन् । डोटीको सिलगढीजस्तो दुर्गम ठाउँमा जन्मिएकी दुर्गाले सानैदेखि जानीनजानी विभेदविरुद्धको कदम उठाइरहिन् । उनी दलित भएर विभेद खेप्नु त बेग्लै थियो । त्यसमा छोरी भएकीले लैगिंक विभेदजस्तो दोहोरो असमानताको पनि पीडित थिइन् । दुर्गालाई सम्झना छ, जब उनी कक्षा आठमा पढ्थिन् । केटीले गृहविज्ञान र केटाले लेखा विषय भनेर अघोषित रूपमा छुट्याइएको थियो । केटीले घर सम्हाल्ने सीप सिकाउनमा विद्यालय जोड दिन्थ्यो । त्यही केटाहरूलाई एकाउन्टेन पढ्नमा । शिक्षामा यस्तो खाले लैगिंकविभेद देखेर दुर्गाको मन बेचैन भयो । उनलाई विभेद भन्ने त थाहा थिएन । तर, केटीले एकाउन्ट विषय पढ्दा के होला ? भनेर जिज्ञासा राखिन् । र उनी जबर्जस्ती केटाहरूको जमातमा एकाउन्ट विषय पढ्न रोजिन् । ‘उतिबेला केटीले लेखा विषय लिने भन्दै अचम्मै परेर हेर्थे’, उनी भन्छिन्,‘मैले पढेरै छाडें ।’

दुर्गाको यो बाल्यकालदेखिको विद्रोही स्वभावको एउटा प्रतिबिम्ब मात्रै हो । समाजमा फस्टाएका जातीय, लैंगिक विभेदको चिरफारमा उनी सधै सक्रिय रहिन् । डोटीमा वि.सं. २०४१ मा उनको गाउँबाट पहिलो पटक एसएलसी परीक्षा उत्तीर्ण गर्ने प्रथम दलित महिला हुन् । यसअघि दलित समुदायका छोराछोरी स्कुल जान डराउँथे । गए भने पनि एसएलसीसम्म पुग्दैनथे । दुर्गा एसएलसीपछि दाजुका साथ काठमाडौं आइन् । काठमाडौंले उनलाई विभेद मात्रै होइन, व्यक्तिगत जीवन स्तर उकास्न सिकायो । अहिले त दलितले कोठा पाउन विभेद खेप्नुपर्ने काठमाडौंमा तीन दशकअघि चरम विभेद थियो । ‘दलित भन्दै धेरै पटक कोठाबाट निकाल्थे घरबेटीले’, उनी सम्झन्छिन्,‘विभेद र असमानता हटाउने हुटहुटी चलिरहन्थ्यो ।’


यतिमात्रै होइन, दुर्गा ०४६ सालको जनआन्दोलनदेखि ०६२÷०६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागी भइन् । ०६२÷०६३ को जनआन्दोलनमा त उनी नागरिक समाजको अगुवाका रूपमा सडकमै उत्रिइन् । त्यतिबेला समग्र महिलाको समानताको पक्षमा समेत उनले आवाज उठाइरहिन् । जब विभेद र असमानताका विरुद्ध लड्नुपर्छ दुर्गा कुनै जात, वर्ग र समुदाय हेर्दिनन् । मुद्दा विभेदको हो भने त्यसको निर्मूलनमा सबैलाई साथ दिनुपर्ने उनको मान्यता छ । त्यसैले राजनीतिमा महिला समावेसीका पक्षमा भएका आन्दोलनहरूमा दुर्गाको सक्रियता बुलन्द छ ।

राजनीतिक, सामाजिक रूपान्तरणका आन्दोलन चलिरहेका थिए । दलित आन्दोलन पनि तीव्र थियो । यसै आन्दोलनमा दलित महिलाको सबला सधै ओझेल पथ्र्याे । एकातिर महिलाहरूकै मुद्दामा दलित महिला चुपचाप हुन्थे भने दलित आन्दोलनले समेत दलित महिलाको योगदानको खासै चर्चा गरेको पाइँदैनथ्यो । दुर्गाले फेरि आन्दोलनमै दलित महिला विभेदमा परेको महसुस गरिन् । झन्डै एक दशकअघिको घटना हो । ललितपुरको दुर्गम स्थान प्युटारमा दलित महिला कल्ली कुमारीमाथि मगर समुदायकी शिक्षिकाले बोक्सीको आरोपमा दिसा खुवाएर कुटपिट गरेको घटना सुनियो । त्यतिबेला घटनास्थल पुगेर अवस्था बुझ्न दुर्गाले मानव अधिकारकर्मी र पत्रकारसहितको टोली लगेकी थिइन् । त्यहाँ पुग्दा पीडक पक्षले लठ्ठीले धपाउन थालेपछि भागाभाग भएको स्थिति दुर्गा सम्झन्छिन् ।

‘विभेदविरुद्ध लड्दा धेरै पटक जेलनेल भोगेकी छु’, उनी भन्छिन्,‘डर, त्रास र धम्की त कति खाएँ–खाएँ ।’ यद्यपि उनी आवाजविहीन दलितको आवाज बन्न भने छोडिनन् । मौन दलित महिलाको आवाज बन्ने हेतुले दलित महिला संघ खोल्ने परिकल्पना गरिन् । उनको यो परिकल्पना अहिले सार्थक भएर फुलेको छ, फैलिएको छ । दुर्गाले तीन दशकअघि दलित महिला संघ गठन गर्न त्यति सजिलो नभएको बताँउछिन् ।त्यतिबेला दलित महिला कार्यसमितिमा राख्न संख्या पु¥याउनै कठिन भएको उनी बताउँछिन् । बल्लतल्ल सात जनाको समिति बनाएर संगठन बन्यो । सेवा दुर्गम, पिछडा र अभाव जहाँ छ, त्यहिँबाट सुरु गर्नुपर्ने उद्देश्यका साथ दुर्गाले फेडोको पहिलो कार्यस्थल मधेसको सिराहरका दलित महिला माझ भएको बताइन् ।


दलित महिला संघ नै किन ? धेरैले उनलाई अहिलेसम्म सोध्ने साझा प्रश्न हो । दुर्गाको अनुभवमा समाजमा सबै दलित महिलाको अवस्था अरु समुदायको भन्दा भिन्न छ । विभेदमा महिला छन् । यद्यपि दलित महिलाले भोग्ने सबै खाले विभेद अन्य महिलाले भोग्नुपरेको छैन । त्यो विभेद भनेको जाति विभेद हो । जुन गैरदलित समुदायका महिलाले भोग्नु पर्दैन । दुर्गाले यही मुद्दा बुझाउन तीन दशक लागेको छ । अझै पनि दलित महिलाको मुद्दामा समाजका उच्च वर्गका व्यक्ति नै संवेदनशील नभएको देख्दा उनी खिन्न हुन्छिन् । भन्छिन्,‘जब सचेत व्यक्तिले नै दलित महिलाको समस्या हाँसोमा उडाउँदा मन पोल्छ ।’दलित महिला संघले स्थापनाकालदेखि लगभग ७७ जिल्लामा फोक पर्सन र शाखाहरू विस्तार गरेको छ । विगतको तुलनामा दलित महिलाको अवस्थामा आकाश–जमिन फरक आएको दुर्गा बताउँछिन् । समाजमा बोल्न सक्ने क्षमता नभएका उनीहरू अहिले वडामा सदस्य प्रतिनिधित्व गर्न सक्ने भएका छन् ।

विद्यालयमा पढाउने, पैसा कमाउने र सहकारीको नेतृत्व गर्ने भएका छन् । फोडोले दलित महिलाको क्षमता र नेतृत्व विकासमा निरन्तर लागिपरेको उनले सुनाइन् । यद्यपि अधिकारका क्षेत्रमा लागेको यतिका दशक बित्दा समेत दलित समुदायमाथिका जातीय विभेद झनै डरलाग्दो भएर आएको उनले बनाइन् । ‘हामीले विभेद मुक्त समाजको परिकल्पना गरेका थियौं’, उनी भन्छिन्, ‘राजनीतिक, आर्थिक परिवर्तन भएपनि समाजमा विभेद उस्तै छ ।’ असमानता समाजले कुनै पनि वर्ग समुदायको उत्थान नगर्ने हुँदा समानता ल्याउन जरुरी रहेको उनको अभियानको मुख्य उद्देश्य छ । विभेद हटाउन र दलित महिलालाई समान पहँचसम्म पु¥याउने मुद्दा उठाउँदा दुर्गाले समाज बिथोलेको भनेर आरोप पनि लगाउँछन् । तर, उनी आन्दोलनमा प्रस्ट छिन् । दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गाले दलित महिलाको मुद्दा समाधान हुनु भनेको समाजमा विखण्डन नभएको बताउँछिन् । समाजमा अन्तरघुल र सद्भाव सिर्जना भए विकास सम्भव छ । उनी भन्छिन्,‘समानतामै देशको समृद्धि सम्भव छ ।’

 Image