Successfully Copied

कृषिमा मेसिन प्रयोग

तरकारी खेतीका साथै अन्नबाली लगाउन मिनी टिलर, पावर टिलर सहयोगी बनेको छ । मेसिनरी सामान चलाउन सिकेपछि खेतीबाली लगाउन धेरै सहज भएको छ ।

माधव अर्याल


दाङको लमही नगरपालिका–७, फचकपुरकी रुविया चौधरी व्यावसायिक किसान हुन् । ३५ वर्षीया चौधरीले तरकारी खेती गर्न लागेको छ वर्ष भयो । उनले मकैको बीउ पनि उत्पादनगर्छिन् । घर खर्चका लागि सिजनअनुसारका अन्य अन्न बाली लगाउँदै आएकी छन् । गाउँमा सरकारी तवरबाट मकै जोन संचालनमा छ । व्यावसायिक बनेपछि यन्त्रको सहायताले खेती गर्न पनि जोड दिन थालिन् । पहिले गोरु, पाडा, ठूला टेक्टर लगाएर खेतबारी जोतेको अनुभव उनमा छ ।

धान, मकै, तोरी लगाउन पहिले निकै दुःख थियो ।अहिले कामदार पाइँदैनन् । गाउँमा युवा छैनन् । सबैजना बिदेसिन थालेका छन् । ‘कामदार नपाएपछि के गर्नु आफै सबै काम सिक्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘त्यसैले मैले कष्टम हायरिङ चलाउन सिकें । जसले गर्दा अहिले मलाई व्यावसायिक कृषिमा सहज भएको छ ।’

तरकारी खेतीका साथै अन्नबाली लगाउन मिनी टिलर, पावर टिलर सहयोगी बनेको छ । मेसिनरी सामान चलाउन सिकेपछि खेतीबाली लगाउन धेरै सहज भएको छ । ‘सुरुमा लाज लागे पनि पछिल्ला दिनमा धेरै महिलाले चलाउन थालेका छन्,’ उनले भनिन्, ‘अब हामी यस्ता यन्त्र चलाउन सक्ने मात्र होइन, बाध्य भएका छौं ।’ वार्षिक १० देखि १५ लाखको तरकारी, मकै र अन्नबालीको कारोबार हुन्छ । श्रीमान् हरिकृष्ण पनि खेतीबालीमै व्यस्त छन् । छोरीले पनि पढ्दै घरमा सघाउन थालेपछि सहज भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकैको सुपरजोन संचालन भएपछि यान्त्रिकरणमा जोड दिएको उनले बताइन् । ‘हामीले त्यसअघिसम्म भने गोरु, पाडा र ठूला टेक्टर लगाउँथ्यौ,’ उनले भनिन्, ‘पछिल्ला दिनमा भने हामीले चलाउन सक्ने यान्त्रिकरणले सहज भएको छ ।’ मकैको बीउ बिक्री, तरकारी, तोरी, धान सबै बिक्री गर्ने गरी काम गर्ने उनले बताइन् । मकै बिक्री गर्न पनि कुनै समस्या छैन ।

पाल्पा निस्दी गाउँपालिका–४, गल्धाकी दिलमाया सारु अदुवा प्रशोधन उद्योग संचालनमा सबै काम गर्छिन् । महिला सहकारीमार्फत विभिन्न सरकारी र गैरसरकारी संस्थाको सहयोगमा मिनी टिलर, पावर टिलर, हाते टेक्टर, कम्बाइन मिल आदि वितरण गरिएको छ । ‘गाउँका धेरै महिलालाई मैले नै सामग्री चलाउन सिकाउने गरेकी छु,’ ३४ वर्षीया सारुले भनिन्, ‘सुरुमा निकै अप्ठेरो लागेको थियो । अहिले भने मज्जाले चलाउन सक्छु । गल्धा सदरमुकाम तानसेनदेखि ६० किलोमिटर टाढा दुर्गम गाउँ हो । यहाँका महिला पिछडिएका छन् । यहाँ चालु आर्थिक वर्षमै १७ लाख बढी अदुवाको कारोबार भएको थियो ।

रूपन्देहीकी २७ वर्षीया सिर्जना चौधरी देश–परदेशकी अनुभवी युवा हुन् । शुद्धोधन गाउ“पालिका–७, खुन्गावा (छपियाक्षेत्र) की चौधरी इजरायलको साढे ११ महिनाको तालिम प्राप्त अनुभवी हुन् । माछा सुपरजोन संचालन समितिकी सदस्य रहेकी उनले चार वटा ठूला माछापोखरीसंचालन गरेकी छन् । पछिल्लो दिनमा एक बिघा जग्गा भाडामा लिएर सिंगो पोखरी निर्माण गरेकी छन् । ‘विदेशमा गएर सिकेको अनुभवलाई मैले यहाँ सिको गर्दै काम गरेकी छु,’ उनले भनिन्, ‘माछा पोखरीका लागि आवश्यक सबै काम आफै गर्छु ।’ वार्षिक २५ लाख बढीको कारोबार गर्ने उनले फोर पाइडलको एरिएटर मेसिन, समरसेल पम्प, फिडर मेसिन चलाउन सक्छिन् । उनले युवा उद्यमीबाट लुम्बिनी प्रदेशस्तरीय अवार्ड पुरस्कारसमेत पाइसकेकी छिन् ।

रोल्पा नगरपालिका–४, लिवाङ टुँडिखेलकी हीराकुमारी घलेले बारीमा मिनी टिलर आफै चलाउँछिन् । पुरुषले गर्ने कामलाई महिलाले गर्न सक्छन् भन्ने उनमा छ । हाते टेक्टरलगायत अन्य मेसिनरी सामग्री चलाउन उनलाई कुनै समस्या छैन । ‘म मात्र होइन, धेरै महिला यान्त्रिकरणमा अघि बढ्नुभएको छ,’ उनले भनिन्, ‘खेतबारी जोत्न अब गोरुको प्रयोगभन्दा बढी मेसिन नै प्रयोग गरिन्छ ।’ पहाडमा ठूला टेक्टरले जोत्न खासै मिल्दैन । साना यन्त्रको प्रयोग बढेको छ । घले सिर्जनशील कृषि महिला सहकारीमा आबद्ध छिन् । सहकारीले मकैको बीउ उत्पादन गर्छ । मनकामना–३ जातको मकै बीउ उत्पादन गर्दै आएकाले यसका लागि महिला सहभागिता बढ्दो छ । ‘म सहकारीकी अध्यक्ष हु“ तर मैले पनि मकैको बीउ उत्पादन गर्छु,’ उनले भनिन्, ‘समय व्यवस्थापन मिलाएर लिवाङमा कोसेली घर पनि चलाएकी छु ।’

स्थानीय सरकार, प्रदेश र संघीय सरकारले पनि यान्त्रिकरणमा जोड दिएका छन् । घलेले पनि ग्रेडिङ, प्याकेजिङ, लेवलिङ, मोस्चयरिङ, बोरा सिलाई सबै मेसिनबाटै हुने बताइन् । सबै काम गर्न महिला सक्षम भइसकेका छन् । जसले गर्दा सबैजनामा उत्साह बढेको छ । महिलाले काम गर्न सक्दैनन् भन्नेहरूलेसमेत गतिलो जवाफ पाएको उनले बताइन् । यसवर्ष मात्र ४० क्विन्टल मकैको बीउ विभिन्न जिल्लामा पठाएका छन् । ९० रुपैयाँ किलोमा मकैको बीउ बिक्री हुन्छ । मिनि टिलर, हाते टेक्टरले जोत्ने गर्छन् । ‘महिलाले चलाउन सक्छन् भन्ने हामीकहाँ हेर्न आउँछ हुन्छ,’ उनले ढुक्क भएर भनिन्, ‘यान्त्रिकरणले गर्दा कामको बोझ धेरै कमी भएको छ ।’

पाल्पा, रोल्पा, दाङ र रूपन्देहीका केही महिला पात्र उदाहरण मात्र हुन् । रुकुमपूर्वकी प्रेमा बढुाथोकी, बाँकेकी सविता चौधरी, प्यूठानकी तारा पोखरेल, कपिलवस्तुकी वीणा भट्टराई पाठक, बर्दियाकी सीता अर्याल, गुल्मीकी नरमाया रानामगर पनि उदाहरणीय युवा महिला हुन् । पछिल्लो १० वर्षयता संघीय, प्रदेश र स्थानीय सरकार मात्र होइन गैरसरकारी संस्थाले पनि महिलालाई यान्त्रिकरणमा लैजान यन्त्र वितरण गर्दै आएको छ । कति यन्त्र वितरण भए भन्ने तथ्यांकसमेत पाउन कठिन हुने अवस्था आइसकेको छ ।

लुम्बिनी प्रदेशमा मात्र वार्षिक १० हजार बढी यस्ता उपकरण वितरण हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रूपन्देहीका प्रमुख नारायण काफ्लेले बताए । महिलामैत्री औजारहरूको विकास र विस्तार हुनु, विभिन्न संघसंस्थाबाट मेसिनरी औजाहरूमा अनुदान प्रवाह हुनु, विभिन्न तालिम तथा भ्रमणहरूमा महिला प्राथमिकता हुँदा पनि कृषि यन्त्र उपकरण प्रयोगमा महिलाको अवसर बढेको उनले बताए । ‘सरकारी निकायबाट मेसिनरीमा अनुदानको उपलब्धता साथै कृषिमा मेसिनरीको बढ्दो प्रयोगले पनि महिलाले प्रयोग गर्छन्,’ उनले भने, ‘स्वचालित यन्त्र उपकरणले महिलाको श्रम कम गरेको छ भने व्यावसायिक कृषिमा बढ्दो महिला सहभागिताले पनि यसमा लगाब बढेको हो ।’

लुम्बिनी प्रदेशका १२ जिल्लामा १० हजार बढी महिला स्वरोजगार छन् । त्यसमा १६ देखि ४० वर्षका युवा महिला अधिक छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाका प्रमुख टुकबहादुर थापाका अनुसार खेतबारीमा विषादी छर्ने पावर स्प्रेयर, कम्बाइन मिल, सिकेचर, डिजिटल व्यालेन्स, हाते टेक्टर, थ्रेडिङ मेसिनलगायत चलाउन सक्ने धेरै महिला छन् । बिरुवा लगाउने, खाडल खन्ने, तेल पेल्ने, कफीको बोक्रा छोडाउने, ग्रेडिङ गर्ने, पल्पिङ मेसिन, दाना पिस्नेलगायतका काममा महिला अग्रसर छन् । ‘अवसर पाए भने महिलाले काम गर्न सक्छन् भन्ने देखिन थालेको छ,’ उनले भने, ‘यान्त्रिकरणमा युवा महिलाको अग्रसरता बढ्दा उत्पादनमा पनि वृद्धि भएको छ ।’

वैदेशिक रोजगारीमा पुरुषको सहभागिता बढ्दै जाँदा पनि महिलाहरू यान्त्रिकरणमा अघि बढेका हुन् । कृषि विभागका वरिष्ठ इन्जिनियर डा. जितबहादुर चन्दका अनुसार अझै पनि कृषि यन्त्र उपकरण प्रयोगमा महिला सहभागिता बढाउन समस्या छन् । समान कामका लागि समान ज्याला, फर्म, समूह, सहकारीमा अझै पनि महिला सहभागिता बढाउन नसक्नु, महिला मैत्री यान्त्रिकरणको विकास विस्तार नभएको उनले बताए । ‘अझै पनि महिला र पुरुष समान शारीरिक क्षमताका छन् भन्ने जाँगर तथा जनचेतनाको कमी देखिन्छ,’ उनले भने, ‘महिलाहरूलाई पनि अब कृषि मेसिनरी संचालन, मर्मतसम्बन्धी प्राविधिक सीप दिनुपर्ने देखिन्छ ।’

लुम्बिनी प्रदेशका गुल्मीमा मकै, सुन्तला, फलफूल, कफी, बाख्रा जोनमा महिला सहभागिता बढ्दो छ । अर्घाखाँचीमा तरकारी, बाख्रा, कफी, सुन्तला, पाल्पामा तरकारी, सुन्तलाजात, अदुवाबेसार जोन संचालनमा छ । रोल्पामा मकै, आलु छ भने रुकुमपूर्वमा ओखर जोन संचालनमा छ । कपिलवस्तुमा धान, तरकारी, माछा बाँकेमा मकै र धानको जोन संचालनमा छ । रूपन्देहीमा माछाको सुपरजोन, गहुँ, केरा जोन संचालनमा छ ।

 Image