Successfully Copied

सुनसान बस्ती

उपत्यकाभित्रका सुकुम्बासी बस्ती सुनसान र उराठलाग्दा देखिए । मान्छे उठेको बस्तीजस्ता देखिने फुंग उडेका सुकुम्बासी टोल पुग्दा दिउँसोको टन्टलापुर घाममा प्रायः मानिस घरभित्रै सुस्ताइरहेका पाइयो ।



उपत्यकाभित्रका सुकुम्बासी बस्ती सुनसान र उराठलाग्दा देखिए । मान्छे उठेको बस्तीजस्ता देखिने फुंग उडेका सुकुम्बासी टोल पुग्दा दिउँसोको टन्टलापुर घाममा प्रायः मानिस घरभित्रै सुस्ताइरहेका पाइयो । थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी टोलको एउटा छाप्रोबाट फुत्त निस्किएकी ५९ वर्षीया जानुका पोख्रेलले भनिन्–‘अहिले त कोही बाहिर निस्किँदैनन् । किन निस्कनु ? कामै पाइँदैन । महिनामा दुई–चार दिन काम पाइहाले पैसै दिँदैनन् । बाहिर निस्कियो कि पैसा खर्च हुन्छ । बरु भोकै भए पनि घरभित्रै बस्यो, दिन काट्यो । यस्तोमा के चाडबाड, के हर्ष,के रमाइलो ?’
दुई दशकदेखि परिवारसहित यहीँ बसोबास गरिरहेकी जानुकाका तीन वटा जवान छोरा काम नपाएर बेरोजगार बसिरहेको उनले बताइन् । महिनौं खोज्दा पनि कामै नपाएको उनले सुनाइन् । आर्थिक मन्दीले त झनै उनको पाँच जनाको परिवारलाई हातमुख जोड्न निकै कठिन छ । ‘चाडबाड आउँदा पनि हर्ष न बिस्मात † सानोमा गरिबै भए पनि एकसरो नयाँ लुगा लाउन पाइन्थ्यो । अहिले त बाँच्न पनि गाह्रो छ, नयाँ लाउने कुरा त आकाशको फल, आँखा तरी मर भने झैं हो ।’ नियमित खानुपर्ने प्रेसरको औषधि खानसमेत हम्मे छ जानुकालाई । पर्वमा छोरी–ज्वाईं, नातिनातिना आउँछन्, मीठोमसिनो पकँएर ख्वाउन पाए हुन्थ्यो जस्तो लाग्छ तर के गर्नु मन मारेर बस्नुपर्छ । ‘ऋणले थिचेको छ । चाडबाडले धनी–गरिब भन्दैन–आएरै छाड्छ,’ न्याउरो अनुहार लगाउँदै उनले भनिन्, ‘तर हामीलाई भने चाडबाडको रमाइलो कहिल्यै आएन ।’


३२ वर्षीया मैतीमाया तामाङका दुईवटी छोरी छन् । परार साल दसैंकै दिन श्रीमान्को मृत्यु भयो । त्यसपछि उनको जीवनमा पर्वको उल्लास आँसुका ढिक्का बनेर झर्ने गरेका छन् । ज्यामी काम गर्ने मैतीमाया अहिले त त्यही काम पनि नपाएर खाली बस्नुपरेको छ । भन्छिन्–‘यी दुईवटी छोरीलाई फुटपाथकै भए पनि एकसरो नयाँ लुगासम्म हाल्दिन पाए हुन्थ्यो भन्ने छ । दसैं त मलाई दशाजस्तो लाग्छ ।’
अञ्जली पासवान २२ वर्षकी भइन् । उनका पनि दुई सन्तान छन् । मिस्त्री काम गर्ने उनका श्रीमान्को कमाइले बहिनीर पाँच जनालाई पालनपोषण गर्नुपरेको छ । वर्षमा एकपटक आउने चाडमा मीठोमसिनो खान र राम्रो लाउन सबैलाई मन हुन्छ तर आफूहरू मन फुकाएर रमाइलो गर्न नसक्ने उनी बताउँछिन् ।
सुकुम्बासी बस्तीमै बसोबास गरिरहेकी २९ वर्षीया गीता महतोमा चार सन्तान र श्रीमान् गरी छ जनाको परिवार छ । मिस्त्री काम गर्ने श्रीमान्को एकल कमाइले परिवार धान्न निकै गाह्रो भएको उनको भनाइ छ । ‘सबैजना चाडबाडमा नया“ लुगा लगाएर, मासु–भात खाई रमाउ“छन्, आफूलाई भने बालबच्चालाई नया“ लुगा दिन नसक्दा चित्त दुख्छ । मलाई त यो दसैं पनि नआए हुन्थ्यो जस्तो लाग्छ,’ रुन्चे स्वरमा गीताले भनिन्–‘यस्तै रैछ जिन्दगी, सधै दुःखैदुःख ।’
सामाखुसीको सुकुम्बासी बस्ती चाहार्दै जाँदा ३० वर्षीया सीता तामाङ आफ्नो छाप्रो अगाडि सानो चटपटे पसलमा झिंगा धपाएर बसिरहेकी भेटिइन् । घरैअगाडिको खोलासँगै मुस्किलले दुई फिटे बाटो धराप थियो । महानगरपालिकाले डोजर लगाएर पुल भत्काइदिएपछि त्यहाँका सुकुम्बासीले यो धरापे जोखिम झेल्न परेको हो । उनले भनिन्–‘डोजर नलाउँदासम्म त अलिअलि चटपटे बिक्री हुन्थ्यो अहिले त दिनको सयको व्यापार हुन पनि मुस्किल छ । आम्दानीको बाटो यही पसलबाहेक अर्को विकल्प छैन । यस्तो नाजुक अवस्थामा के पर्वको रमाइलो हुन्छ र ? हामी गरिब–दुःखीलाई कहिल्यै सन्तोष भएन । मलाई त यो दसैं पनि दशा जस्तै लाग्छ । पैसा भए पो किनमेल गर्ने, मीठो खाने † पैसा छैन ऋण काढेर रमाइलो गरौं, तिर्न सकिँदैन । भए खाने, नभए चुप लागेर बस्ने । धनीको हाउभाउ देख्दा मन थामेर बस्नुपर्छ ।’

तीनकुने सिनामंगलमा रहेका सुकुम्बासीको अवस्था झनै नाजुक देखियो । ४१ वर्षकी सरु राउत आफैं बिरामी छिन् । काम गर्न सक्दिनन् । श्रीमान्ले काम गर्ने ठाउँमा तलब नदिएको २१ महिना भयो रे । ७० वर्ष कटेका उनी दिनहुँ अफिस जाने भन्दै त्रिपुरेश्वरतिर हानिन्छन् । काम गरिसकेको ठाउँमा एक न एक दिन त कस्सो तलब नपाइएला भन्ने उनमा आशा छ । सरु भन्छिन्–‘जीविका धान्न धौ भयो । औषधि खाने पैसा पनि हुँदैन । श्रीमान्को वृद्ध भत्तालगायतले बाँचिएको छ । दसंै–तिहार त मलाई केहीजस्तो लाग्दैन, वास्तै लाग्दैन मलाई त । अब त अरु कुराभन्दा पनि बसिरहेको बास नभत्काइदिए हुन्थ्यो जस्तो मात्रै लाग्छ अरु त त्यस्तै हो ।’
रामेछापकी ४७ वर्षीया कुमारी तामाङ सिनामंगलको सुकुम्बासीमा बसेको २६ वर्ष भयो । उनको पनि दुखेसो उही छ । घर भत्काइदिने हो कि भन्ने त्रास मनभित्र हरक्षण हुन्छ । ‘काम गर्न खोज्दा कामै पाइँदैन । पाइहाले पनि तलब दिँदैनन् । पहिला त ज्यामी काम गर्छु भन्दा पाइन्थ्यो । अहिले त त्यही पनि छैन अनि कसरी मनाउने चाडबाड ?’ यही बस्तीकी २३ वर्र्षीया ज्योति रत्नले १२ कक्षासम्म पढेकी छिन् । जागिरको खोजीमा उनले थुप्रै ठाउँ चहारिन् र पनि कतै जागिर भेटिनन् । भन्छिन्–‘गरी खान्छु भन्दा पनि हामीजस्ता गरिबले काम पाउँदैनौं, सोर्सफोर्स चल्ने भएर हो वा आर्थिक मन्दीको मार परेको हो बुझ्नै सकिएन । यसपटकको दसैं त गतवर्षको भन्दा अझ नाजुक र नरमाइलो हुने भयो ।’ छेवैमा बसेकी ५० वर्षीया रामकुमारी श्रेष्ठले थपिन्–‘३० वर्ष भयो यहाँ बसेको । यहीँ जुनी कट्यो । चार छोरा, बुहारीहरू र नातिनातिना छन् । श्रीमान् हुनुहुन्न । खर्चकै कारण दसंै नआए हुन्थ्यो जस्तो लाग्छ । केही छैन जीवन यस्तै भयो, वैरागी भइयो ।’
०४६ सालमा यही बस्तीमा आएर बसेकी फूलमाया तामाङको दुःखका कथा प्रेरणादायी छन् । २०१४ सालमा पनौतीमा जन्मिएकी उनी बाल्यकालमै मामाका छोराको भरथेगमा काठमाडौं झरिन् । ०३२ सालमा मामाका छोराको विवाह भएपछि दसैंकै दिन फूलमायालाई घरबाट निकालियो । गलैंचा बुनेर गुजारा चलाइरहेकी फूलमायालाई कोटेश्वरका पराजुली थरका एकजनाले सिनामंगल सुकुम्बासीमा ल्याइपु¥याए । ‘यहाँ जताततै फाँट थियो । घरहरू थिएनन् । कसको जग्गा–जमिन, के–कसो केही थाहा थिएन । आएर नरकटको झुप्रो हालेर बसियो । यहीँ जीवन कट्यो, यो ठाउँको माया लाग्छ । अहिले भत्काउने कुरा सुन्दा मुटु भक्कानिएर आउँछ’ चाडबाडको प्रसंग कोट्याउँदा मन अमिलो पार्दै उनले भनिन्–‘आ † मलाई त केही रमाइलो लाग्दैन । ०४६ सालदेखि अहिलेसम्म एकजोर नयाँ लुगा किनेकी छैन । त्यसअघि गलैंचा बुन्दा कहिलेकसो नयाँ लुगा हाल्थें । अहिले त कसैले दिए लगाउँछु नदिए यसै बस्छु ।’ एकजना छोराको कमाइमा छ जनाको परिवार पालिनुपरेको फूलमायाले दुखेसो पोखिन् । उनलाई आफू बसिरहेको वासस्थानमा डोजर नहुलिदिए हुन्थ्यो भन्ने मात्रै एउटै पिरलो छ । भन्छिन्–‘अब भगवान् भरोसा । भगवान्ले हात थापे डोजर हट्छ, नत्र लगाउँछन् डोजर । मन त कति कुरामा छन् कति † तर मन भएर मात्रै के गर्ने नानी † धन छैन । अब यहीँ बसेर मर्न पाए हुन्थ्यो ।’

६० वर्षकी सीता परियारलाई पनि आमसुकुम्बासीलाई जस्तै दसैं दशा जस्तो लाग्छ । आफूलाई पैसाले नपुगेकै कारण कहिल्यै राम्रो र खुसी नलाग्ने उनी बताउँछिन् । पहिला ज्यामी काम गर्ने उनलाई अब यो काम गर्न स्वास्थ्यले साथ दिएन । मन भारी पार्दै उनले भनिन्–‘हामी गरिबलाई के दसैं के तिहार नानी † बिहान–बेलुका पेट भर्न पाए हुन्थ्यो भन्नेमै चिन्ता छ । उमेर छँदा काम गरिन्थ्यो । दसैं आउन केही दिनअघि नै जिरामसला, सस्तै भए पनि लत्ताकपडा किनिन्थ्यो । अहिले त काम गर्न सकिँदैन । चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्छ । छोरा–बुहारीले बिहान–बेलुका भातसम्म ख्वाइरहेका छन् । पर्व त हामीलाई मर्म बनेर आउँछ ।’

तस्बिरहरुः महेशमान प्रधान

 Image