नेपालमा उद्यमशीलता बढ्दै गएको छ । स्वदेशमा बसेर होस् वा विदेशबाट फर्किएर युवाहरू साना–ठूला उद्यमहरू खोल्दै अघि बढिरहेका छन् । महिला उद्यमीहरू पनि आफूलाई स्थापित गर्दै अगाडि बढिरहेका छन् । सानादेखि ठूला व्यवसायसम्ममा उनीहरूको उपस्थिति बाक्लिँदै गएको छ । युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना साख भन्छिन्–‘नयाँ सोचका साथ स्टार्टअपदेखि उद्यमसम्म महिलाहरू अगाडि बढिरहेका छन् तर युवा उद्यमीलाई अग्रसर बनाउने निकाय र नियमन गर्ने कानुन स्पष्ट नहुँदा उनीहरू निरुत्साहित छन् । ’
सफ्टवेयरमा प्रार्थना
युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरकी अध्यक्ष हुन् प्रार्थना साखः । उनी प्रथम महिला अध्यक्ष हुन् । युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने र युवाहरूलाई एउटै प्लेटफर्म नेटवर्क बिल्ड गर्ने संस्थाको नेतृत्व यतिबेला उनको हातमा छ । उद्यमी उनले अब थुप्रै युवालाई उद्यमी बनाउनु छ र विदेश जानबाट रोक्नु छ । अध्यक्षका रूपमा रोजगार सिर्जना गर्ने वातावरण निर्माणदेखि उनीहरूलाई सिक्ने प्लेटफर्मको विकास गर्नु छ उनलाई । उनी भन्छिन्–‘मेरो मुख्य उद्देश्य युवाहरूलाई कसरी रोजगारी सिर्जना गर्ने र विदेश पलायन हुनबाट रोक्ने भन्ने नै हो, यसका लागि युवालाई प्लेटफर्म दिनेदेखि लिएर नेटवर्क बिल्डिङ कनफ्रेन्स सिकाइको अभ्यासका काम पनि भइरहेका छन् ।’ नेपाली अवसरको खोजीमा विदेश पलायन हुने दर बढ्दै गएको छ तर देशमा अवसर नभएको भने होइन भन्छिन् उनी । गर्न सके र यही राम्रो प्लेटफर्म पाउन सके युवाहरूमा नेपालमै उद्यमी बन्न सक्ने उनी बताउँछिन् । प्रार्थनाको उद्यमीको यात्रा सन् २०१६ बाट सुरु भएको हो ।
उनले हेलमेट्स नेपालमार्फत् आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी हुन् । त्यसबेला हेलमेट लगाउनुपर्छ भन्ने मात्र चेतना थियो । सुरक्षाको विषय कसैले पनि बुझ्न सकेका थिएनन् । हेलमेट नेपाललाई ब्रान्डिङ गर्दै अनलाइनमार्फत डेलिभर गर्ने र गुणस्तरमा ध्यान दिनका लागि व्यवसाय सुरुवात भएको थियो । ‘न्यून गुणस्तरको हेलमेट त्यति सुरक्षित नहुने सन्देश दिन खोजेका थियौं’–उनले भनिन् । हेलमेटको व्यवसाय गर्दै उनी अनलाइन व्यवसायलाई व्यवसायीकरण गर्दै लकडाउनसम्म आइपुगिन् । कोरोना र लकडाउनले डिजिटल व्यवसायलाई झन् प्रोत्साहन ग¥यो । सबै कारोबार डिजिटलमा हुन थाल्यो र वित्तीय कारोबारदेखि हिसाब–किताब अडिट भने डिजिटलमा भएको थिएन । व्यवस्थापन अध्ययन गरेकी उनलाई लाग्यो–अब हिसाब–किताबलाई कसरी डिजिटलाइजेसन गर्ने ? यसका लागि नेपालमा कुनै पनि सफ्टवेयर छैन विदेशमा भने यसको प्राक्टिस छ । यो समस्या समाधानका लागि सिए नेपाल भारतका सिए इन्जिनियरसँगको सुझाव र सल्लाहमा सुरु भयो ‘टिग नेपाल’ । प्रार्थना कोफाउन्डर र बिजनेस डेभलपमेन्ट अफिसरका रूपमा यो कम्पनीलाई प्रवद्र्धन गर्न थालिन् ।
टिग नेपाल एउटा अकाउन्टिङ सफ्टवेयर हो यसमा डिजिटलका रूपमा हिसाबदेखि कारोबारसम्म गर्न मिल्छ । यसमा २० मिनेटमा डेबिट क्रेडिट थाहा नहुनेले पनि सहज रूपमा हिसाब गर्न सकिन्छ । यतिमात्र नभई यो एपमार्फत् व्यवसायीले आफ्नो कर प्रतिवेदन पनि बुझाउन सक्ने उनी बताउँछिन् । हाल टिगमा आठ सय कम्पनी र करिब ३० हजार मानिस जोडिएका छन् । आवद्ध ग्राहकहरूसँग वर्षको ३० हजारका रूपमा उनीहरूले सेवा दिइरहेका छन् । न्यूनतम खर्चमा हरेकले यो एप चलाउन सकून् भनेर अफर पनि दिइरहेको उनको भनाइ छ । उनी भन्छिन्–‘हिसाब–किताब राख्नका लागि तलब दिएर मानिस राख्नुभन्दा पनि सस्तो छ यो एप जसले घरमै बसेर हिसाब गर्न सकिन्छ ।’ यसलाई विस्तार गर्दै लैजाने उनको योजना छ ।
कर्पोरेट ट्रेनर इच्छा
व्यावसायिक घरानामा हुर्किइन् इच्छा मल्ल । उच्च शिक्षा भारतमा र एमबीए स्नातकोत्तर अमेरिकामा गरिन् । उनी अमेरिकामा भएपनि नेपाललाई नजिकबाट नियालिरहेकी हुन्थिन् । उनलाई लाग्थ्यो–नेपालमा विकास हुन नसक्नु र व्यवस्थित हुन नसक्नुमा सरकारको कमजोरी छ । उनले सोसल मिडिया हेर्थिन्–सरकारलाई नै गाली गरेको पाउँथिन् । साथीहरूसँग आफ्नो देशको कुरा गर्दा यो सरकारले केही गर्दैन भन्ने जवाफ पाउँथिन् । त्यसबेला उनलाई लाग्थ्यो–सरकारलाई कसरी सुधार्ने र व्यवस्थित बनाउने ? सन् २०१५ मा पढाइ सकेर स्वदेश फर्किइन् ।
परिवारको इच्छा थियो–पारिवारिक व्यवसाय सम्हाल्ने । तर उनको हुटहुटी भने सरकारलाई सुधार्नु थियो । पारिवारिक व्यवसाय भन्दा पनि बेग्लै केही गर्नु थियो । उनले भनिन्–‘अमेरिकाबाट फर्किएपछि पारिवारिक व्यवसायभन्दा पनि आफैले फरक केही गर्नु थियो ।’ त्यसबेला उनले आइडिया निकालिन् ‘कर्पोरेट ट्रेनिङ’ दिने । सरकारी संयन्त्रमा रहेका व्यक्तिहरूलाई उचित तालिम दिन सकेमासुधार आउँछ भन्ने उनमा थियो । तर सोचअनुसार काम गर्न उनलाई सहज कहा“ थियो र ? परिवारमा मतभेद भयो । परिवार चाहन्थ्यो–पारिवारिक व्यवसाय सम्हालोस् तर उनले चाहिनन् । भर्खर २५ वर्ष पुग्दै गरेकी उनलाई टे«नरका रूपमा अरुले पत्याउन पनि मुस्किल नै थियो । उनले योजना बनाइन् र तालिमबारे गृहकार्य गरिन् । र, पुगिन् स्टाफ कलेज । जहाँ सरकारी कर्मचारीलाई तालिम दिइन्छ । उनले एक घण्टाको कक्षा मागिन् तर सुरुवाती दिनमा सहज रूपमा पाइनन् । उनलाई जवाफ आउँथ्यो ‘तपाईंले सक्नुहुन्न म्याम ।’ उनलाई जसरी पनि गर्नु थियो भारतबाट टे«नर ल्याएर होस् वा आफूलाई निखारेर लामो प्रयासपछि ‘पिपुल फस्ट ट्रेनिङ एन्ड कन्सलटिङ’ मार्फत उनी कर्पोरेट टे«नरका रूपमा स्थापित भइन् ।
सरकारी कर्मचारीले सेवाग्राहीसँग कस्तो व्यवहार गर्ने, अन्तर्राष्ट्रिय स्तरमा कसरी प्रतिनिधित्व गर्ने, डे«सअप कस्तो हुनुपर्छ आदि कुरा सिकाउँदै आएकी छन् उनले । उनी भन्छिन्– ‘सरकारी कर्मचारीले देशको प्रतिनिधित्व गर्छन् । अन्तर्राष्ट्रिय स्तरमा अब्बल देखिन आवश्यक छ । त्यसकारण कर्मचारीलाई पनि सिकाइको आवश्यक पर्छ ।’ उनलाई लाग्छ–पुस्तकको ज्ञानले मात्र व्यक्ति पूर्ण हुँदैन । व्यावहारिक ज्ञान पनि आवश्यक पर्छ । विदेशी कूटनीतिक आउँदा होस् वा कर्मचारी प्रतिनिधित्व गर्दा होस् शरीर कुन पोजिसनमा राख्ने र सम्बोधन कसरी गर्ने भन्ने साना कुराहरूले पनि धेरै फरक पार्छ ।
देख्दा साना कुरा भए पनि कर्मचारीले सिकाउन आवश्यक हुन्छ । सरकारी कर्मचारीलाई मात्र नभई राजनीतिक व्यक्तिलाई पनि संस्कार सिकाउन आवश्यक रहेको उनको भनाइ छ । उनले भनिन्–‘कर्मचारीहरूलाई मात्र नभई राजनीतिक व्यक्तिलाई पनि संस्कार सिकाउन आवश्यक छ–जो जनतादेखि विदेशसम्म प्रतिनिधित्व गर्छन् । उनले हालसम्म चार हजार बढी सरकारी कर्मचारीलाई तालिम दिइसकेकी छन् । तालिमले कर्मचारीहरूको व्यवहारमा फरकपन आएको पनि उनले महसुस गरेकी छन् । सरकारी मात्र नभई निजी बैंकमा पनि उनी छाएकी छन् । अब भने उनलाई निजी होस् वा सरकारी कर्मचारीलाई संस्कार सिकाउँदै अब्बल बनाउनु छ ।
स्वदेशी उत्पादनमा रसना
काठमाडौंकी रसना श्रेष्ठलाई गाउँ भनेको कस्तो हुन्छ थाहा थिएन । उनले सुन्दरीजललाई गाँउ हो भन्थिन् । एमबीए अध्ययनका क्रममा ‘रुरल इन्टर्नसीप र लिडरसीप’ कार्यक्रमका लागि उनी गुल्मी पुगिन् । उनलाई लागेको थियो गाउँका मानिसलाई त यसै सिकाइन्छ । उनले भारतमा उच्च शिक्षा अध्ययन गरेकी थिइन् । भारतमा पढेर काठमाडौंमा मास्टर्स गरेपछि गाउँमा सबै काम गर्न सकिन्छ भन्ने आत्मविश्वास उनमा थियो । तर उनले सोचेभन्दा ठीक उल्टो भइदियो । पुस्तकका पाना पढ्न सके जस्तो व्यावहारिक ज्ञान केही नभएजस्तो लाग्यो । उनले भनिन्–‘गर्न सकिन्छ भनेर गएको गुल्मी पुगेपछि पो थाहा भयो आफूसँग व्यावहारिक ज्ञान त कत्ति पनि रहनेछ, गर्न खोज्दा केही नसकिने रहेछ ।’ ४५ दिनसम्म बस्दा पनि केही गर्न नसकेकोमा पश्चाताप महसुस भयो ।
स्थानीय उत्पादनले बजार नपाएर फाल्नुपर्ने अवस्था देखेर पनि उनलाई अझ चिन्ता लाग्यो । त्यसबेला न उनको पढाइले काम ग¥यो न त आत्मविश्वासले । उपहारका रूपमा कफी बोकेर काठमाडौं फर्किइन् । अब गर्ने उनको मनमा उब्जिरह्यो । स्थानीय उत्पादनलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेतर्फ लागिन् । त्यही गुल्मीको कफीलाई उनले बडिस्क्रब बनाइन् । अब कहाँ कसरी बेच्ने कसले किन्दिने, बजार कहाँ खोज्ने ? । संयोगवश कलेजले स्टल राख्यो र आफ्नो उत्पादन रुचाइयो र बिक्री पनि भयो । स्टल प्रतिस्पर्धामा पहिलो पुरस्कार वापत पाएको २५ हजार रुपैयाँले थप काम गर्न हौसला मिल्यो । दुई जना मिलेर नुगमार्फत उनले बिक्री गर्न थालिन् । केहीलाई रोजगारीको अवसर उनले सिर्जना गरिन् । स्वदेशमा कच्चापदार्थको सदुपयोग गर्दै व्यापार विना रसायनको सामान उत्पादन गर्नु थियो ।
बडिस्क्रबबाट सुरु भएको उनको व्यवसाय अब ह्यान्डवास, सिरम तथा विनारसायनका क्रिमहरू बिक्री गर्न थालिन् । झम्सिखेलमा स्टोर रहेको उनका सामान बिक्री गर्ने उपयुक्त माध्यम हो अनलाइन । उत्पादन गर्दा समस्या भोग्नुपर्ने समस्या हो, गुणस्तरको । उनले भनिन्–‘मापदण्ड निर्धारण गर्नसमस्या नै थियो ।कति ठाउँमा साबुनको छ तर सिरमको छैन भन्थे ।’ उचित सरकारी मापदण्ड प्रवद्र्धनको संस्कृति नभएकाले पनि युवाहरूले उद्यमशीलतामा चुनौती भोग्नुपर्ने उनको भनाइ छ । कोभिड अगाडि उनले अमेरिकादेखि जर्मनीसम्म पनि निर्यात गरिन् । कोभिड निर्यातको बाधक बन्यो । नेपालबाट सस्तो कच्चापदार्थ निर्यात र मह“गोमा विदेशबाट आयात गर्ने चलन रहेको उनले बताइन् । पछिल्लो समय नेपाली सामानको बजार बढ्दै गएको उनको अनुभव छ । नेपाली वस्तुलाई माया गरौं नेपालमै उद्यमशीलता बढाऔं भन्ने उद्देश्यले पनि नेपाली सामानको खपत बढ्दै गएको उनको भनाइ छ । यसमा उत्पादकहरू पनि सचेत र सजग हुनुपर्ने बताँउदैउनी भन्छिन्– ‘उत्पादकहरूले गुणस्तरलाई ध्यान दिनु आवश्यक छ ।’
इ कमर्समा सुरक्षा
व्यवस्थापनमा स्नातक सकेर एक निजी कम्पनीमा काम गर्न थालिन्–सुरक्षा अधिकारीले । त्यतिबेला साथीहरूले मिलेर अनलाइन ज्वेलरी बेच्न थाले । तर लामो समयसम्म काम गर्न सकेनन् । ती साथीहरू आ–आफ्नै गन्तव्यतिर लागे । तर सुरक्षालाई भने अनलाइन व्यापारले छोइसकेको थियो । उनलाई लाग्यो एउटामा सफल नभएर के भयो अब अर्को गर्ने । फेरि इ कमर्समै काम गर्ने अर्का साथी भेटिए र उनीहरूले खोले ‘नेपवे डटकम’ । २०१३ मा सञ्चालन गरेको यो अनलाइन मार्केट प्लेस चलाउन सहज थिएन । ग्राहक र बिक्रेतालाई एक ठाउँमा ल्याएर अनलाइन मार्केट बनाउने उनीहरूको उद्देश्य थियो । नेपाली बजारले त्यतिबेला इकमर्स बुझेकै थिएन । सुरक्षा भन्छिन्–‘अनलाइन मार्केट सञ्चालन गर्न सहज भएन न ग्राहकहरूले बुझे न त बिक्रेताले नै, पसलबाट नै बिकिरहेको छ किन अनलाइन गर्ने भन्थे ।’
उनीहरूको दोस्रो पटकको प्रयास पनि सफल भएन । तर अनलाइन व्यापार त उनलाई गर्नु नै थियो अब के गर्ने ? इ कमर्समा सम्भावना छ भनेर उनले बुझेकी थिइन् । अनलाइनमा सामान बिक्छ भनेर त्यतिबेला उनलाई थाहा भयो जतिबेला उनले फेसबुकमा बेडसिट राखेर बेच्न थालिन् । फेसबुकमा राखिएको बेडसिटको माग बढ्न थाल्यो उनलाई डेलिभर गर्न मुस्किल प¥यो । अनलाइनमा सामान बिक्छ भनेर तीन साथी मिलेर २०१६ मा ‘ठूलो डटकम’ मार्फत घरेलु सामान बेच्न थाले, बिक्री पनि भयो । अब भने यसलाई बिस्तार गर्दै जाने योजना बन्यो । इ कमर्स टेक्नोलोजी एप बनाउन महँगो थियो आइटी कम्पनीको सुरुवात गरे, डेलिभर कम्पनीदेखि इको सिस्टम सबै आफ्नै मातहतमा भए । उनले भनिन्–‘इ कमर्स सञ्चालनका लागि इको सिस्टम विस्तार गर्दै लग्यौं, अनलाइन बजार प्रवद्र्धन र बजारीकरणमा ध्यान दिएर काम गर्न थाल्यौं ।’ इ कमर्सका रूपमा सञ्चालनमा आएको ठूलो डटकम महिला उद्यमीलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाहिर कोशी प्रदेशमा पुगेको छ । उनका अनुसार हरेक महिला उद्यमीहरूलाई सूचमा प्रविधिसँग जोड्दै कसरी व्यापार फैलाउन सकिन्छ भनेर पनि सिकाउँदै अगाडि बढेको छ । इ कमर्सले अनलाइन मार्केट, प्रविधि र चेतनाको पहुँचमा फोकस भएर काम गरिरहेको उनले बताइन् ।
मोफसलमा अनलाइनमा जोडिने बिक्रेता र ग्राहकहरूको रुचि भए चेतना नहुनु र प्रविधिमा पहुँच नहुनु यसका मुख्य चुनौती रहेको उनले बताइन् । अहिले प्रयोगकर्ता पाँच हजारभन्दा बढी छन् । त्यसमा ५० प्रतिशत महिला छन् । यसमा डेलिभरदेखि रिटर्नसम्मको सुविधा छ । धेरै भेराइटी एकै ठाउँमा हुने भएकाले यो सहज भएको उनको भनाइ छ । नेपाली बजारमा इ कमर्स लामो समयदेखि सञ्चालित छ, प्रतिस्पर्धा पनि बढ्दै गएको छ । आफूलाई अब्बल साबित गर्न उभिनु चुनौती नै छ । तर नीति–नियम भने बामे सर्दैछ । आउन लागेको विधेयक नीति–नियममा हरेक अनलाइन दर्ता गरेर चल्नुपर्ने नीतिमा भने सुरक्षा असन्तुष्ट छिन् । व्यवसाय वर्गीकरण गरेर मात्र नीति ल्याउन आवश्यक रहेको उनी बताउँछिन् ।
तस्बीर- महेशमान प्रधान