Successfully Copied

नेपाली भाषामा रमाउँदै विदेशी पत्रकार

विभिन्न माध्यमबाट आएका चिनियाँ समाचार नेपाली र नेपाली समाचार चिनियाँ भाषामा अनुवाद गर्छन् । त्यस्तै आर्थिक, सामाजिक, सांस्कृतिक, परम्परा र पर्यटकीय गतिविधि दुवै भाषामा अनुवाद गर्छन् ।




पुस्तक पढ्दै जाँदा नेपालसम्बन्धी धेरै कुरा जानेकी थिइन् चीनको राजधानी बेइजिङकी ३९ वर्षीया महिला पत्रकार पाओ यिङले । त्यसैले उनीनेपालप्रति आकर्षित भइन् । त्यसपछि नेपाली भाषा जान्न मन लाग्यो । खोज्दै जाँदा राजधानी बेइजिङस्थित कम्युनिकेसन युनिभर्सिटी अफ चाइना पुगिन् । त्यहाँ नेपाली भाषा पढिन् । उनीजस्तै ४० वर्षीया महिला लिउ वनलाई पनि नेपाल मनपर्ने भएकाले नेपाली संस्कृति, परम्परा, कलाप्रतिको आकर्षण र प्रेमले नेपाली भाषा जान्ने इच्छा लाग्यो । उनी भाषा पढ्न फुचियान प्रान्तको आफ्नो घरबाट राजधानी बेइजिङ आइन् । 

दुवै चिनियाँ महिलाले नेपाली मूल विषय लिएर स्नातक गरे । नेपाली भाषामा स्नातक गरेपछि दुवैले संचारसँग आबद्ध संस्था चिनियाँ रेडियो इन्टरनेसनल (सिआरआई) मा रोजगारी पाएका छन् । अहिले त्यसको नयाँ नाम चिनियाँ मिडिया ग्रुप (सिएमजी) भएको छ । दुवै सिआरआईको नेपाली भाषामा प्रसारण हुने कार्यक्रम लेखन, उद्घोषण र संचालन गर्छन् । चिनियाँ भएपनि नेपाली नाम छ । पाओ यिङको नेपाली नाम प्रतिभा हो । उनको विश्व विद्यालयमा पढाउने गुरु कुसुम दिदीले नाम राखेकी थिइन् ।


लिउको नेपालीनाम सुमेघा हो । यी दुवैले बेइजिङस्थित कम्युनिकेसन युनिभर्सिटी अफ चाइनाबाट नेपाली भाषामा चार वर्षे स्नातक गरेका छन् । त्यहाँबाट पढेपछि सिआरआईमा जागिर खुल्यो । खुला प्रतिस्पर्धाबाट दुवै उत्तीर्ण भए । ११ प्रतिस्पर्धीलाई उछिनेर चार जना छानिए । सन् २००४ देखि काम गर्न थाले । उनीहरूजस्तै आठ चिनियाँ महिलासहित १० चिनियाँ पत्रकार नेपाली भाषाको रेडियो कार्यक्रममा संलग्न छन् । तीन जना नेपाली पुरुष विदेशी विशेषज्ञ विज्ञका रूपमा रेडियोमा काम गर्छन् ।

उनीहरूले विभिन्न माध्यमबाट आएका चिनियाँ समाचार नेपाली र नेपाली समाचार चिनियाँ भाषामा अनुवाद गर्छन् । त्यस्तै आर्थिक, सामाजिक, सांस्कृतिक, परम्परा र पर्यटकीय गतिविधि दुवै भाषामा अनुवाद गर्छन् । हरियो पृष्ठभूमिमा सुन्दर चीन र बेइजिङमा नेपाली भाषा अध्ययनरत चिनियाँ विद्यार्थीसँगको कुराकानीमा प्रसारण गर्छन् । मनोरञ्जन, गीतसंगीत र ज्ञानविज्ञानका कुरा पनि प्रसारण गर्छन् । नेपालका कुरा नेपालीमा रुचि राख्ने चिनियाँ र अन्य मुलकका श्रोतालाई सुनाउँछन् । चीनका कुरा चिनियाँका बारेमा रुचि राख्ने नेपाली र देश–विदेशका श्रोतालाई सुनाउँछन् ।


संगीतमा दुईटा चिनियाँ गीत बज्दा एउटा नेपाली गीत बज्छ । देशभक्ति, राष्ट्रप्रेम, लोक गीत, अधिकार र सचेतनाका विषयलाई महत्व दिएर गीत बजाउँछन् । चाडपर्वका बेला नेपाली गीत बजाउँछन् । चिनियाँ पत्रकार राजुले चीनको तिब्बत र चीन विकास कार्यक्रम चलाउँछन् । ‘नेपालसँग जोडिएको तिब्बतबारे कार्यक्रम चलाउँदा धेरै रमाइलो लाग्छ’ उनले भने, ‘नेपाली श्रोताको माया पाउँदा निकै उत्साहित छु ।’

सिआरआईबाट नेपाली समयानुसार बिहान ७ बजेर १५ देखि ८ बजेर १५ सम्म कार्यक्रम प्रसारण हुन्छ ।सन् १९७५ जून २५ देखि नेपाली कार्यक्रम सिआरआईबाट प्रसारण हुन थालेको हो । चीनको सिआरआई रेडियो विश्वकै सबैभन्दा ठूलो रेडियो स्टेशन हो । सिआरआईबाट ७२ भाषामा रेडियो कार्यक्रम प्रसारण हुन्छ । सबै भाषामा दिनमा ३ हजार घण्टाभन्दा बढी समय कार्यक्रम प्रसारण हुन्छ । सिआरआईमा १ सय २१ देशका २ सय ५० विदेशी पत्रकार कार्यरत छन् ।

 Image