Successfully Copied

८२ वर्षमा पनि गल्फ खेल्ने डा. रिता थापा

खेलकुदले देशबीचको सम्बन्ध बनाउने जिकिर गर्दै उनी यसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन आवश्यक देख्छिन् ।


उमेरले ८२ वर्ष पुगिसकेकी छन् डा. रिता थापा । तर उनको गल्फ खेल्ने मोह र रहर अझै मरेको छैन । हरेक दिन उनी गल्फ खेल्नका लागि फिल्डमा पुग्छिन् । नौ होल खेलेपछि उनी फर्किन्छन् । खेलले उनलाई फुर्तिलो बनाएको छ । शारीरिक रूपमा तन्दुरुस्त बनाउन उनलाई खेलले धेरै सहयोग गरेको छ । 

उनको उमेर बढेजस्तै उनलाई गल्फप्रतिको माया पनि बढ्दै गएको छ । उनले भनिन्, ‘आई लभ गल्फ’ । सानैदेखि खेलकुदमा रमाउने उनलाई मन पर्ने ब्याडमिन्टन थियो । पहिलो महिला ब्याडमिन्टन च्याप्यिनसीप पनि हुन् उनी । खेलकुदमा रुचि भएपनि आफ्नो करियर, बच्चाहरूको हेरचाह र घर–व्यवहारका कारण चाहेजसरी उनले खेल्न सक्ने अवस्था भने भएन । जब उनको ‘रिटायर्ड लाइफ’ सुरु भयो तब उनी पूर्णरूपमा खेलमा फर्किइन् । उनले भनिन्, ‘करिअर, बच्चा र घर सम्हाल्दा खेलकुदमा चाहेर पनि समय दिन सकिन, अबको मेरो समय भनेको गल्फका लागि हो ।’ 


गल्फले उनलाई मनोरञ्जन मात्र दिएको छैन साथीको भूमिका पनि निर्वाह गरेको छ । उनका अनुसार गल्फमा एक्लै रमाउन सकिन्छ । बुढेसकालमा साथीहरू घट्ने, एक्लोपन बढ्दै जाने भएकाले गल्फलाई साथीका रूपमा लिएर हिड्न सकिने उनले बताइन् । आफूले गल्फ खेल्दा महिलाहरू नदेखेकी उनले अहिले थुप्रै महिला यो खेलमा बढेको अनुभव सुनाइन् ।

महिलाहरूले पनि गल्फ खेल्न सक्छन्, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सन्देश दिएको उनको भनाइ छ । पछिल्लो समय गल्फप्रतिको आकर्षण बढ्दै गएको छ । धनीले मात्र खेल्ने खेल हो भन्ने कुरा उनी स्वीकार गर्दिनन् । इच्छा र चाहना बोकेर आए गरिब परिवारको मान्छे पनि राम्रो गल्फ खेलाडी हुन सक्ने उनले बताइन् ।

‘धनीको खेल भनिन्छ तर त्यस्तो होइन गरिब आएमा संघसंस्थादेखि खेलाडीहरूले समेत सहयोग गर्ने वातावरण रहेको छ’उनले भनिन् । गल्फ खेलमा अझै सरकारले आवश्यक सहयोग गरे खेलकुद क्षेत्रमा राम्रो छवि बनाउन सकिने उनको भनाइ छ । गल्फले मात्र नभई खेलकुदले देशबीचको सम्बन्ध बनाउने जिकिर गर्दै उनी यसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन आवश्यक देख्छिन् ।

 Image