Successfully Copied

Kanchhi Kitchen की कान्छीमैयाको कथा - बत्तीको स्विचमा मट्टीतेलको खोजीदेखि युट्युब च्यानलसम्मका कुरा [ भिडिओ सहित ]

निर्भीक नारी

फुड भ्लगर कान्छीमैया भण्डारीले अरू महिलाहरुलाई पनि अघि बढाउने चाहना रहेको बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल' मा कान्छीमैयाले आफू अगाडि बढ्दा अरूलाई पनि अगाडि बढाउन पाए हुन्थ्यो भन्ने लागेको बताइन् । ‘म धेरै परिवर्तन भइसकेँ। बोल्न सक्ने भइसकेँ । गाउँका अझै धेरै महिला पिछडिएका छन् । सुरुमा मलाई आफ्नो परिचय दिन पनि गाह्रो हुन्थ्यो । महिलाहरुलाई अघि बढ्नका लागि सीप तथा तालिम दिनुपर्छ,’ उनले भनिन् । सुरुमा भिडियो बनाउदा गाह्रो भएको उल्लेख गर्दै कसरी गर्ने के भन्ने र सबैले देख्ने होला भनेर डर लाग्ने बताइन् । तर आफ्नै छोराले खिचेको हो भनेर अप्ठ्यारो नमानी निरन्तरता दिँदै गएको उनले सुनाइन् ।


कान्छीमैयाले पहिलोपटक मोबाइल देख्दाको रोचक प्रसंग पनि सुनाइन् ।उनले भनिन्,‘बत्ती आएको ३–४ वर्षपछि मोबाइल देखेँ। तार पनि जोडेको छैन कसरी मान्छे बोलेको सुन्छ भन्ने भयो ।अहिले धेरै परिवर्तन भएको छ । गाउँघरमा अझै त्यस्तै मान्छेहरु पनि छन् । उनीहरुकोलागि केही गर्न पाए र महिलालाई अघि बढाउन पाए भन्ने चाहना भने छ ।’


धादिङको नीलकण्ठ–१२ सांकोस घर भएकी उनले २०५८ सालमा पहिलो पटक बिजुली बत्ती देखेको बताइन् । उनले ती दिन सम्झिँदै भनिन्–‘बत्ती पुग्दा स्वीच राखियो ।मट्टीतेल पनि छैन कसरी बल्छ?भन्ने पनि लाग्यो। स्विच दबाएपछि करेन्ट आउँछ छुँनुहुदैन । छोएपछि यसले तान्छ होला मर्छ पनि भन्थे ।’ उनले कोरोना महामारीका समयमा युट्युब च्यानल सुरु गरेकी हुन् । उनको छोराले युट्युब च्यानल खोल्न सुझाए । उनको 'कान्छी किचेन' नामक युट्युबमा २ वर्षमा ३ लाख ५५ हजार सस्क्राइब्ररहरु भइसकेका छन् । उनले अहिले च्यानलबाट राम्रो आम्दानी भइरहेको बताइन् । उनले पहिलो भिडियोमा माछा र ढिँडो पकाएर बनाएको स्मरणसमेत गरिन् ।

 Image