Successfully Copied

मैले के गर्दैछु भन्ने मेरा बुवाआमालाई थाहा छैन : साम्बा

निर्भीक नारी | हामीले परिवारलाई दिन सक्ने मेडलबाहेक केही हुँदैन । मैलै आफ्नो देशको प्रतिनिधित्व गरेर अगाडि बढिरहेको छु तर मेरा बुवाआमालाई त्यति पनि थाहा छैन ।

राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी - साम्बाले छोरीले खेल्नु हुँदैन भन्ने समाजको मान्यतालाई चिर्दै आफू अगाडि आएको बताएकी छिन् ।
बुधबार कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को दोस्रो सत्र युवा दृष्टिकोण मा आफ्ना अनुभव सुनाउँदै सावित्राले आफू ग्रामीण भेगमा हुर्किएकाले पनि खेलयात्रा सुरु गर्दा समाजले हेर्ने दृष्टिकोण छुट्टै भएको बताएकी हुन् ।


विद्यालय पढ्दै गर्दा कतिपयले आफू खेलमा लागेको देखेर- छोरीले खेल्नु हुन्नु भन्ने गरेको तर आफूले त्यसलाई बेवास्ता गर्दै अघि बढेको साम्बाको भनाइ छ । पामचोक, लमजुङ स्थायी घर भएकी उनले भनिन्,- म विकट भेगमा हुर्किरहँदा समाजमा छोरी मान्छेलाई खेलाउनु हुन्न भन्ने गरियो । धेरैले छोरा मान्छेले मात्र खेल्नुपर्छ भन्ने धारणा राख्थे । मैले पढाइका साथ खेलललाई अगाडि बढाइरहँदा मेरा साथीहरूले खेल र पढाइलाई छाड्दै विवाह गर्न बाध्य भएका थिए 
अहिले सूचना प्रविधिको युग भएकाले महिलालाई अघि बढ्न पनि सहज भएको उनको भनाइ छ । जुनसुकै क्षेत्रमा लागे पनि मेहनतसाथ अगाडि बढ्नुपर्ने र आफैलाई विश्वास गर्नुपर्ने उनले बताइन् । उनले अगाडि भनिन्,- स्पोर्ट्स सेक्टरमा भविष्य छैन भनेर विदेसिनु पर्ने हो कि भन्ने प्रश्न उठ्ने गरेको छ । आफू संलग्न क्षेत्रमा आफू कति डेडिकेटेड छु भन्ने कुरामा पनि व्यक्तिको वृत्तिविकास भर पर्छ । अहिलेको युवा पुस्ताले आफैंलाई विश्वास गर्नसक्नुपर्छ । सबैकुरामा अरुको मात्र भर नपरी अलिकति आफ्नै साइडबाट पनि मेहनत गर्नुपर्छ 
आफूले के गरिरहेको छु भन्ने परिवारलाई नै थाहा नभएको उनको भनाइ छ । हामीले परिवारलाई दिन सक्ने मेडलबाहेक केही हुँदैन । मैलै आफ्नो देशको प्रतिनिधित्व गरेर अगाडि बढिरहेको छु तर मेरा बुवाआमालाई त्यति पनि थाहा छैन । उहाँहरू साक्षर नभएकाले पनि मैले के गर्दैछु भन्ने उहाँहरूलाई थाहा छैन उनले भनिन् खेलेर जीविकोपार्जन पनि गर्छु र देशलाई पनि चिनाउँछुु भन्ने कुरा आफूमा निर्भर हुने कुरा भएको उनको भनाइ छ । उनले भारत र माल्दिभ्सका लिग पनि खेलेको उल्लेख गर्दै आफ्नै मेहनतले अगाडि बढ्न सफल भएको बताइन् । उनले भनिन्, संस्थाले के दियो भन्दा पनि मैले के दिएँ भन्ने कुरा महत्त्वपूर्ण हो जस्तो लाग्छ मलाई ।
जीविकोपार्जनका साथै देशको प्रतिनिधित्व कुन तहसम्म पुर्‍याउने भन्ने कुरा आफूमा निर्भर हुने कुरा उनले दोहोर्‍याइन् ।

 Image