Successfully Copied

निसन्तान पुरुषको बोझ पनि महिलाले नै बोक्नु परेको छ : डा. स्वस्ति शर्मा

निर्भीक नारी

प्रजनन विशेषज्ञ डा. स्वस्ति शर्माले पछिल्लो समय निसन्तान महिलाहरुले खुलेर आफ्ना कुराहरु राख्ने गरेकाे बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा बोल्दै उनले निसन्तान महिलाहरूलाई प्रयोग गरिनेे नराम्रो शब्द 'बाँझोपन' हटाउनु जरुरी रहेको बताइन् ।

'हामी पनि अहिले इन्फर्टिलिटी स्पेसलिस्ट भन्दा पनि फर्टिलिटी स्पेसलिस्ट भन्ने गर्छौं आफैंलाई' उनले भनिन्, 'यो बाँझोपन भन्ने शब्द पनि गलत छ । त्यसलाई परिवर्तन गरेर निसन्तान भनिनुपर्छ भन्ने लाग्छ ।' यस्ता शब्दहरुले ती महिलालाई पीडा पुर्‍याइरहेको उनको भनाइ छ । निसन्तान पुरुषमा पनि देखिने गरे पनि यसको बोझ महिलाले नै बोक्नु परेको उनले बताइन् । तथ्यांकमा निसन्तानपन पुरुषका कारणले पनि हुने गरेको पाइने शर्माको भनाइ छ ।


‍'महिलाहरु निसन्तानपनका समस्या लिएर आउँदा एन्जाइटी, डिप्रेसन, लो सेल्फस्टिम लिएर आएका हुन्छन्' शर्माले भनिन् 'उनीहरुमा फ्रस्टेसन पनि हुन्छ । अहिले त फेसबुकमा बेवी सावर गरेको देख्छन् ।' लामो समयदेखि निसन्तानको समस्याबाट गुज्रिरहेका महिला र पुरुषमा दीघार्यु रोग लाग्ने गरेको देखिएको उनले बताइन् । 'महिला भनेको घरको इन्जिन हो' उनले भनिन् 'महिलाले आफ्नो स्वास्थ्यको कहिल्यै ख्याल पनि गर्नुहुन्न । भान्सामा छिर्नै नसकिने गरेर बिरामी भयो भने मात्र डाक्टरकहाँ पुग्नुहुन्छ ।'

निसन्तान महिलालाई परिवार र समाजले हेर्ने दृष्टिकोणमै फरकपन रहेको शर्माको भनाइ छ । '९ महिनासम्म कोखमा बच्चा राखेर पाइदिनुपर्ने भएर होला निसन्तान महिलालाई हेर्ने दृष्टिकोणमा फरक देख्छु' उनले भनिन् 'नेपालमा महिलाहरु आर्थिक रुपले सबल हुनुहुन्न । अस्पताल आउनलाई पनि परिवारलाई माग्नु पर्ने अवस्था छ ।' कतिपयको घरमा निसन्तान महिलालाई पूजा पाठ हुँदा छुन नदिने, बच्चा पाएको ठाउँमा पुग्दा बच्चालाई छुन नदिने, गर्भपति महिलालाई पनि छुन नदिने जस्ता परिपाटी रहेकाले त्यस्ता कार्यले हिनताबोध थपिने शर्माले बताइन् ।

निसन्तान महिला हुँदा पुरुषलाई भने परिवारको साथ-सहयोग रहेको शर्मा बताउँछिन् । 'पतिले अर्को बिहे गरिदिन्छ । डाक्टरसाप मलाई जसरी पनि गर्भपति बनाइदिनुस् नत्र अर्को महिना मेरो श्रीमानले अर्को बिहे गरिदिन्छ भन्छन्' उनले भनिन् 'पुरुषमा पनि निसन्तानपन हुन्छ । तर श्रीमतिसँग त्यो कुरा लुकाइदिन अनुरोध गर्न परिवार नै आइपुग्छ ।

 Image