‘बगान’मा करिश्मा
काखे बेलादेखि दुःखका साथ संघर्ष गर्दै हुर्काएकी छोरीले परिवार र समाजको पुरातन सोचलाई भत्काउँदै आफ्नी आमाको खुसीको सारथि बनेको कथा बोकेको छ ‘बगान’ ले ।

शुक्रबार राति अत्तालिएको आवाजमा प्रोफेसर दिप्ती क्षत्रीले फोनमार्फत भनिन्, ‘लौन मलाई त ३ घण्टादेखि लगातार सुख्खा खोकी लागिरहेको छ, रुघा पनि सुरु भयो । तपाईंले चिनेका कोही डाक्टर छन् त ?’ उहाँ यो निष्कर्षमा पुगिसक्नु भएको रहेछ कि, ‘सबै लक्षण मिल्छ, कोरोना संक्रमण नै भएको हो ।’ उहाँको कुराले म पनि झस्किएँ । उहाँले बिहानमात्रै एकजना डाक्टरसँग परामर्श गर्नु भएको रहेछ । तैपनि उहाँको डर कम भएन । क्रमशः उहाँमा ज्वरो कम भयो । ढुक्क भइयो ।
दिप्तीमात्रै होइनन्, अहिले चौतर्फी कोरोना भाइरसको त्रास बढिरहेको छ । सँगै मौसम पनि परिवर्तनको बेला छ । यसर्थ सामान्य मौसमी रुघाखोकी लाग्दापनि कोरोनाले भेट्यो कि भन्ने शंका हुन्छ । यसले मानिसको मानसिक स्वास्थ्यमापनि असर गरिरहेको छ । सर्वसाधारण नागरिक मात्रै होइनन्, राम्रै व्यवसायिक एवम् पेसागत छवि भएकालाई पनि कोरोनाले तर्साइ रहेको छ । समाजशास्त्री निर्मला ढकालका अनुसार फेयरिजम अर्थात भय या त्रास कुनै पनि नकारात्मक चेतना (एन्जाइटी या कन्सियसनेस )संग जोडिएको हुन्छ । अहिले धेरैलाई यहीं समस्याले गाँजेको छ ।
वरिपरिको वातावरण र राज्यप्रति विश्वास नहुँदा मानिसमा ज्यादा डर शंका बढेको उनको बुझाई छ । निर्मला भन्छिन्, ‘सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा देखिने अनेक कुराका कारण रोगले भन्दा डरले मान्छेलाई बढी सताइरहेको छ । तर राज्यले नागरिकको डर कमगर्न सकेको छैन । अर्थात् राज्यप्रति नागरिक ढुक्क नहुनुको परिणाम हो यो ।’
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गंगा पन्तका अनुसार प्रहरी प्रशासनको काम हरबखत नागरिकलाई सुरक्षा दिनु हो । सुरक्षाका खातिर प्रहरीहरु आफ्नो ज्यान खतरामा राखेर भएपनि जनतालाई सेवा दिइरहेका हुन्छन् । पन्त भन्छिन्, ‘यतिबेला सामाजिक सञ्जालका कतिपय समाचार, पोस्ट र कमेन्टमा अहिले बाहिर निस्कियो कि पुलिसले भर्कुछ भन्ने जस्ता शब्द संप्रेषण भएको पाइन्छ । तर अहिले त्यस्तो भन्ने बेला होइन । यो त पुलिसले नागरिकको सुरक्षाकालागि भनेको हो भन्ने सबैले बुझ्नु पर्छ ।’
‘आफ्नो सोच र व्यवहार बदलेर डरलाई जितौं’ भन्ने पन्तको सन्देश छ । साथै यो डराउने बेला नभएर साहसी भई सामानागर्ने बेला भएको र आफूमा सकारात्मक सोचको सञ्चार गर्ने बेला भएकोमा पन्तले जोड दिइन् । हाम्रोमा व्यक्तिगत एवम् सामाजिक अनुशासनको कमी रहेको टिप्पणी गर्दै उनले भनिन्, ‘६ दिन अगाडि अमेरिकाबाट आएका दम्पती पसल पसलमा हिँडिरेका छन् । हिँड्नु नहुने कुरा उनीहरु आफैंले बुझ्नुपर्ने हो ।’
मनोचिकित्सक रोजिना मानन्धर बलले भन्दा बुद्धीले आफूलाई नियन्त्रण गर्न सके व्यक्तिको जित हुने तर्क गर्छिन् । यो समयलाई जतिसक्दो सदुपयोग गर्न उनले सुझाव दिएकी छिन् । ‘परिवार, बालबालिकासँग समय बिताउन, पढ्न, राम्रा सिनेमा हेर्नकालागि लकडाउनको समय उपयुक्त हो’ उनले भनिन्, ‘यो समयलाई गह्रौ रुपमा नभई सहज रुपमा लिँदै समयको सदुपयोग गर्नु राम्रो हुन्छ ।’ अहिले कम्युनिटी हेल्थ सर्भिसमार्फत सेवा लिन सकिने बताउंदै ढकाल भन्छिन्, ‘कोरोनाको लक्षण देखिएमा हामी बाहिर निस्किदैनौं, घरैमा आएर हेरिदिनुस भन्नसकिन्छ । घरैमा आएर हेरिदिने व्यवस्था राज्यले गर्न सक्यो भने धेरै हदसम्म यो संक्रमण फैलिनबाट जोगिन्छ ।’
मानन्धरको बुझाईमा यथार्थ भन्दा काल्पनिक संसारमा रुमल्लिदा समस्या बढेको छ । ‘अहिले संसारलाई कोभिड–१९ को माहामारीले गाँजिरहेका बेला हामीमा त्यसको बाछिटा पर्नु अस्वाभाविक पनि होइन तर हामीले वास्तविकतालाई चिनेर, राम्ररी बुझेर मात्रै धारणा बनाउनुपर्छ’, उनी भन्छिन्, ‘नेपाल अहिलेसम्म अन्यमुलुक जस्तो महामारीको चपेटामा छैन । सरकारले कडा सुरक्षा र सावधानी अपानाएको छ । हामी घरभित्रै छौं त हामी किन त्रसित हुने ? महामारी फैलिइरहेका मुलुकमा स्वास्थ्यकर्मी बाहिर निस्किएर संक्रमितको उपचार गरिरहेकै छन् । तसर्थ डराएर होइन, सावधानी अपनाएर यो समयलाई विताउनु नै हाम्रो जीत हो ।’
त्यस्तै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले भने आपसी सहयोग, सद्भाव र सकारात्मक सोचले रोगसँग लड्ने क्षमता बढाउने बताए ।