Successfully Copied

सपनाको उडान र बेस्वादिलो स्वदेश मोह

एक सांस्कृतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका सरोज खनालमा देश छोड्ने क्रममा अमेरिकाप्रति उति सारो मोह थिएन तर जब उनी अमेरिका पुगे उनको मन अमेरिकामा यसरी गढ्यो, उनी नेपाल फर्कनै सकेनन् । अमेरिकाको समृद्ध जीवन हेरे, आफ्ना दुई सन्तानको भविष्य सम्झिएर उतै बसे ।

अमेरिका धेरैका लागि सपनाको देश । आफ्नो जीवनकालमा एकनपटक अमेरिका पुग्ने सपना धेरैजसोमा हुन्छ । अमेरिका गएर फर्कनेहरूको अर्कै प्रकारको जीवन शैली देखेर पनि धेरैले अमेरिकाको सपना पाल्ने गरेका छन् । लाखौं खर्चिएर मीठो सपनासहित अमेरिका भासिनेहरूको ठूलै जमात छ नेपालमा ।

चोर बाटो समातेर वा जिन्दगी नै जोखिममा पारेर अमेरिका पस्ने नेपालीहरू पनि थुप्रै छन् । अमेरिका भनेपछि मरिहत्ते गर्नेहरू कति छन् कति ? अमेरिका जाने प्रलोभनमा दलाललाई आफ्नो भएभरको सम्पत्ति दिन तम्सिनेहरू उत्तिकै छन् । अमेरिका पुग्न पाए जीवन समृद्ध बनाउँथें भन्नेहरू पनि प्रशस्तै भेटिन्छन् हाम्रो समाजमा ।

सन् १९९८ को डिसेम्बरमा अमेरिका छिर्दा पुराना अभिनेता सरोज खनालको मनमा पनि यस्तै केही सपना हुँदो हो । त्यही सपनाको जगमा टेकेर उनी करिब १६ वर्ष अमेरिका बसे । एक सांस्कृतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका सरोज खनालमा देश छोड्ने क्रममा अमेरिकाप्रति उति सारो मोह थिएन तर जब उनी अमेरिका पुगे उनको मन अमेरिकामा यसरी गढ्यो की उनी नेपाल फर्कनै सकेनन् ।

अमेरिकाको समृद्ध जीवन हेरे, आफ्ना दुई सन्तानको भविष्य सम्झिएर उतै बसे । देशको करियर छाडेर अमेरिका बसेका सरोजले परिवारलाई समृद्ध बनाए । सन्तानको भविष्य सुन्दर बनाए । घर, गाडी सबै जोडे । यद्यपि अमेरिका बसाइका झन्डै ६ हजार २ सय ५ दिनमध्ये कुनै एकदिन खुसीको सास फेर्न नसकेको कुरा बताउँदै अमेरिकाको ग्रिन कार्ड ब्यागको एउटा कुनामा थन्काएर आफ्नै देश फर्किए उनी । सरोजले अमेरिका नपुगेसम्म मात्र सपनाको संसार हो, त्यहाँ पुगेपछि एकदम भिन्न सत्यसँग साक्षात्कार हुने कुरा बताएका छन् । स्वर्गजस्तो नेपाल छाडेर अमेरिका हान्निएका सरोजलाई १६ वर्षपछि स्वदेश फर्कदा पनि नेपाल स्वर्ग नै लाग्यो ।

अमेरिकाबाट नेपालमै बसोबास गर्ने गरी फर्किएपछि सरोज फेरि चलचित्र क्षेत्रमा सक्रिय भएका छन् । बेला–बेला अमेरिका पुग्ने खनाल अहिले आफ्नै व्यवसायमा समेत व्यस्त छन् । यद्यपि सरोजको नेपाल फिर्ती र त्यो समय उनले दिएका अभिव्यक्तिप्रति उनकै शुभचिन्तकहरू सकारात्मक देखिएनन् । ऊर्जाशील समय अमेरिकामा बिताएर नेपाल फर्किएका सरोजको देशभक्ति बेस्वादिलो भएको टिप्पणी धेरैको थियो ।

सपनाकै उडान भरेर अमेरिका पुगेकी अर्की कलाकार हुन्–अभिनेतृ गौरी मल्ल । अन्य क्षेत्रका मानिसलाई भन्दा अमेरिका उड्न कलाकारहरूलाई निकै सजिलो छ । कलाकारिताको आफ्नो त्यही पिआर बेचेर अमेरिका पसेकी अभिनेतृ गौरीले पनि ग्रिन कार्ड त पाइन् तर उतै जीवन निर्वाह गर्न भने सकिनन् । त्यसैले रंगीन सपना बुनेर टेकेको अमेरिका छाडेर उनी नेपाल नै फर्किन् । नेपालमै बस्ने गरी फर्किएकी अभिनेतृ मल्लले भने आफू पछि पनि अमेरिका जानसक्ने संकेत गरेकी छिन् । केही वर्षअघि अमेरिका छाडेर नेपाल फर्कने क्रममा उनले भनेकी थिइन्–‘अहिले म आफ्ना बुवाआमाको स्याहारका निम्ति नेपाल जान लागेकी हुँ । पछि फेरि अमेरिकामै भेट हुनसक्छ ।’

अभिनेतृका रूपमा सफल कलाकार करिश्मा मानन्धर चलचित्रमा गरेको लगानी डुबेपछि अमेरिका उडिन् । केही समय अमेरिकामा गुजारेकी मानन्धरले पनि सपना र वास्तविकतामा फरक पाइन् । करिश्माको मन उतै रमाउन सकेन । उनी पनि केही वर्षको अमेरिका बसाइलाई पूर्णविराम लगाउँदै स्वदेश फर्किन् र नेपाली सिने उद्योगमै सक्रिय भइन् । त्यसपछि उनमा केही राजनीतिक चेत पनि पलाएको पाइन्छ । करिश्माले बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा लागेर राजनीति सुरु गरिन् । नेपाल फर्किएपछि करिश्माले अमेरिकाप्रति उति साह्रो आशक्ति देखाएकी छैनन् ।

लामो समय अमेरिका बसेर पनि नेपाली मन परिवर्तन गर्न नसकेका अर्का अभिनेता हुन्–रमेश उप्रेती । करिब एकदशक अमेरिकाको माटोमा पसिना बगाएका रमेश केही वर्षअघि नेपाल फर्किए । नेपाली चलचित्रमा जमेर काम गर्दागर्दै अमेरिका पुगेका रमेशको जीवन अमेरिका बसाइ सँगै परिवर्तन भयो । नेपालमा एक किसिमको चार्म तथा स्टारडमको जीवन बाँचेका रमेश अमेरिकाको भीडभाडमा कता हराए कता ? उनी आफूले आफैलाई खोज्ने समय पनि पाएनन् । आफैसँग लुकामारी गर्दै ९ वर्ष अमेरिकाको बाटो नापेपछि उनी पनि अमेरिकासँग अघाएर ‘आफ्नै देश प्यारो’ भन्दै नेपाल फर्किए । नेपाल फर्किएलगत्तै रमेशले चलचित्र ‘ब्रासलेट’ मा काम गरे । पर्दामा कमाल गर्दागर्दै अमेरिका पसेका यी अभिनेताको खासै क्रेज देखिएन ब्रासलेटमा ।

९ वर्षपछि नेपाल फर्कदा उनले छाडेर गएको भन्दा फरक धारका चलचित्रको निर्माण अघि बढिसकेको थियो । उनी अहिले फरक धारबाट अघि बढिरहेको सिने नगरीमा बामे सर्दैछन् जसको उदाहरण हो–चलचित्र ऐश्वर्य जुन उप्रेतीको पछिल्लो सफल चलचित्र हो ।

रमेश, गौरी, करिश्मा र सरोज खनालहरू केही प्रतिनिधि पात्र मात्र हुन् । रंगीन सपना बोकेर हवाइजहाज चढेका धेरै कलाकार आफै खुम्चदै स्वदेश फर्किएका छन् । लामो समय अमेरिकामा संघर्ष गर्दा पनि ग्रिन कार्ड नपाएपछि स्वदेश फर्कने कलाकारहरूको सूची पनि लामै छ । गायक कर्ण दास, कलाकार राजाराम पौडेल, गायक यम बराल आदि पनि अमेरिकाको सपना त्यागेर नेपाल फर्किएका छन् ।

अमेरिका छाडेर स्वदेश फर्कने क्रममा कलाकारहरूले सपना र जीवनबीच जे–जस्ता अन्तर देखाए पनि नेपालीहरूको अमेरिका मोह भने कम हुन सकेको छैन । अमेरिकाकै सपना हेर्दै हुर्कने युवाहरूको ठूलो जमात छ नेपालमा । नेपाली माटोमा शान र पहिचान दुवै बनाएका केही कलाकार स्वदेश फर्किए पनि त्यसभन्दा कैयौं गुणा बढी कलाकार आज पनि विदेशी भूमिमा रगत र पसिनासँग आफ्ना सपना साटिरहेका छन् । यो सूचीमा जल शाह, सारंगा श्रेष्ठ, पूजा चन्द, ऋचा घिमिरे, कृष्टि मैनाली, सज्जा मैनाली आदि नायिका पनि छन् ।

 Image