Successfully Copied

जेठ ११ देखि १३ सम्म फेसन फेस्टिबल हुँदै

नेपालमा पहिलो पटक फेसन फेस्टिबल हुने भएको छ । फेसन नेटवर्क नेपालले आयोजना गर्न लागेको उक्त फेस्टिबल आगामी जेठ ११ देखि १३ गतेसम्म तीन दिनसम्म चल्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।


नेपालमा पहिलो पटक फेसन फेस्टिबल हुने भएको छ । फेसन नेटवर्क नेपालले आयोजना गर्न लागेको उक्त फेस्टिबल आगामी जेठ ११ देखि १३ गतेसम्म तीन दिनसम्म चल्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा हुन लागेको फेस्टिबलमा नेपालको फेसन, सौन्दर्य र जीवनशैलीसम्बन्धी काम गर्ने ब्रान्डलाई एकै स्थानमा ल्याएर सेलिब्रेट गर्ने उद्देश्य रहेको आयोजक संस्था फेशन नेपाल नेटवर्कका संस्थापक प्रशान्त ताम्राकारले बताए । ‘नेपालको फेसन उद्योगलाइ डिजिटलाइजेशन गर्दै अनलाइन र इकमर्शमार्फत यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रुपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यावसायिक बनाउन केही नयाँ कार्य गर्नैपर्छ भनेर यो फेस्टिबल गर्न लागिएको हो ।’ ताम्राकारले भने–‘फेसन सम्बन्धी यस किसिमको महोत्सव शायद नेपालमै पहिलो होला ।’
नेपाली उत्पादन, ब्रान्डहरूलाई प्रोत्साहन गर्ने हेतुले फेस्टिबल आयोजना गरेको आयोजक संस्थाका अर्का संस्थापक शेखरराज कसुजूले बताए । ‘वातावरणमैत्री प्राकृतिक फेब्रिक, घरेलु सामग्री, स्वदेशी कच्चापदार्थको प्रयोग गरिएको ब्रान्डलाई प्रोत्साहन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन पहल गर्नुका साथै लैंगिक, जातीय समावेशितालाई प्राथमिकता दिइन्छ’ उनले भने ‘फेसन भनेको पहिरनमात्र होइन, सौन्दर्य, जीवनशैली, बोल्ने, हिँड्ने शैली सबै पर्छन् ।’


फेस्टिबलमा फेसन ब्रान्ड, डिजाइनर, फेसन इन्स्टिच्युट, कलेज, मेकअप स्टुडियो, कस्मेटिक र ब्युटी ब्रान्ड, ज्वेलरीदेखि जुत्ता, ब्याग आदिका स्टल रहनेछन् । हरेक दिन साँझ फेसन रनवे हुनेछ । जसमा स्थापित फेसन डिजाइनरहरूले तयार पारेका पहिरन प्रदर्शनका लागि मोडलहरु विभिन्न सिक्वेन्समा र्‍याम्पमा हिँड्नेछन् , साथै तीनै दिन विभिन्न विषयमा सत्रगत छलफल समेत चलाइनेछ । त्यससँगै नेपाली फोटोग्राफरहरूले खिचेका फोटोको प्रदर्शनी पनि हुनेछ । त्यसमा फोटोग्राफरहरूले ‘फोटो टक’ पनि गर्नेछन् । ‘फेसन फिल्म सोकेस’ मा नेपाली ब्रान्डका एडभटोरियल, विज्ञापन, भिडियोहरू एलइडी टिभीमा देखाइनेछ साथै फुड फेस्टिबल, बार पनि रहनेछ । स्टलको मूल्य साइजअनुसार १५ हजारदेखि ४० हजार रुपैंयाँसम्म पर्छ । हाम्रो समाजमा प्रायः सबै क्षेत्रका उद्योग, व्यावसायीहरु, महत्वकांक्षी प्रतिभाहरु त्था फेसन पारखीहरुलाइ एउटै मञ्चमा उभ्याउँदै नौलो किसिमको अनुभव गराउने यो कार्यक्रमले नेपालको फेशन उद्योगलाई चिनाउन र स्थापित गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

 Image