Successfully Copied

फेशनमा विश्वबजारको तुलनामा हामी पछाडि

पछिल्लो आधा दशकमा फेसनप्रति मानवीय सोच बदलिइरहेको छ । महिलाहरू घरभित्र सीमित मात्रै नभएर व्यावसायिक हुँदै गइरहेकाले टिपटप भएर हिँड्नैपर्ने हुन्छ ।

बनिशा शर्मा सञ्चालक, तनस्का फेसन स्टुडियो, पिपलचोक विराटनगर

पछिल्लो समय फेसन र यससम्बन्धी शिक्षाप्रति मानिसहरूको आकर्षण बढ्नुको कारण के होला ?
समाज अपग्रेड हुँदैछ । सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण मानिसहरू प्रभावित भइरहेका छन् विदेशी फेसनसँग । विश्वबजारको तुलनामा हामी फेसनको मामिलामा पछाडि नै छौं । तर अहिले मानिसहरू प्रोफेसनल हुँदैछन् त्यो पनि एउटा अर्को कारण हो ।

उपत्यकाबाहेक बाहिरी सहरमा यसको अवस्था कस्तो छ ?
उपत्यकाको फेसन टेन्ड्र बाहिर पुग्न केही समय लाग्छ । त्यो चल्न र त्यही टेन्ड्र स्वीकार गर्न मोफसलमा समय लाग्छ । अहिले कमसेमक ५० प्रतिशतले डिजाइनर वेयर र यसको महत्व बुझिसकेका छन् विराटनगरमा पनि । अन्य बाँकी ५० प्रतिशतले भने जोेगवनीकै लुगा सस्तो भन्ने पनि छन् ।

फेसनप्रति सजग हुनेहरूको जमात कत्तिको बढ्दो छ, यो के कारणले भएको होला ?
पछिल्लो आधा दशकमा फेसनप्रति मानवीय सोच बदलिइरहेको छ । महिलाहरू घरभित्र सीमित मात्रै नभएर व्यावसायिक हुँदै गइरहेकाले टिपटप भएरहिँड्नै पर्ने हुन्छ । अर्को मूल कुरा सामाजिक सञ्जालले यसमा ठूलो भूमिका खेलेको छ ।

फेसन शिक्षा आर्जन गरिसकेपछिका फाइदा के कस्ता छन्?
यो शिक्षा पढिसकेपछि धेरै हाँगाबिंगा छन् । आफ्नै ब्रान्ड बनाउन, बुटिक खोल्न, कपडा कारखानामा गएर प्याटर्न मेकर बन्न, फेसन मर्चेन्टाइजर, फेसन कन्टेन्ट राइटर, कोरियोग्राफर, फेसन स्टाइलिस्ट धेरै क्षेत्रमा काम गर्न सकिन्छ । डाक्टर, इन्जिनियर पढेजस्तो लामो समय कुर्नु पर्दैन, छोटो अवधिमै रिजल्ट पाउन सकिन्छ । गर्नेले त तीन महिनादेखिनै पैसा कमाउन थाल्छन् ।

नेपाली फेसन जगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन के गर्नु जरुरी छ ?
सबैभन्दा पहिले त ‘ओपन माइन्डेड’ हुनुपर्छ । फेसन शिक्षा गुणस्तरीय हुनुपर्छ । हाम्रो सिर्जनशीलता नेक्स्ट लेभलको हुनुपर्छ । हाम्रा डिजाइनरहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि सिक्ने अवसर मिल्नुप¥यो ।


 Image