Successfully Copied

पहिरनमा मौलिक शैली

तीजको पर्याय बनेको रातो रंगको महत्व सबै खाले परम्परागत पहिरनमा सदाझैं सदाबहार देखिन्छ ।

पछिल्लो समय चाडपर्व लक्षित फेसनमा परम्परागत शैली लोकप्रिय हुने गरेको पाइन्छ । यसमा सुन्दरता र शालीनताको संमिश्रण पाइने भएकाले यो शैलीले चाडपर्वमा प्राथमिकता पाउने गरेको हो । सहर–बजारका सिंगल स्टोर, होलसेल स्टोर वा डिजाइनर आउलेट, स्टुडियो वा बुटिक यतिखेर तीज लक्षित परम्परागत पहिरनले भरिभराउ छन् । अरु समयमा क्याजुयल, कम्फोर्टेबल एवं स्टाइलिस पहिरनमा सजिन रुचाउने समूहहरू पनि तीजको परिवेशमा यस्ता फेसनप्रति बढी आकर्षित हुने गरेका छन् । मूलतः साडी, कुर्ता–सलवार, सलवार–कमिज, लेहेंगा, सलवार सुटको विविध स्टाइल वरपर नै धेरै जना केन्द्रित रहने गरेको पाइन्छ ।

तीजको पर्याय बनेको रातो रंगको महत्व सबै खाले परम्परागत पहिरनमा सदाझैं सदाबहार देखिन्छ । यसबाहेक साडीमा पर्पल, नेवी ब्लू, मस्टर्ड एलो, मजेन्टा, पिन्क, मरुन, सी ग्रीन, नेभी ब्लू आदिको विविधता देख्न सकिन्छ । त्यस्तै, ज्याक्वार्ड सिल्क, बनारसी सिल्क, जर्जेट साडीहरू बढी प्रचलनमा देखिन्छन् । कुर्ता–सलवारको विविधतामा भने पाइन्ट स्टाइल, पलाजो, पटियाला, चुडीदार, फ्लोर लेन्थ अनारकली स्टाइलको लोकप्रियता पाइन्छ भने फेब्रिकको चुनावमा सिल्क, सिफन, भेल्भेट, कटन, बनारसी सिल्क, बैंगलौरी सिल्क आदिको प्रयोग बढी पाइन्छ । लेहेंगामा भने ‘ए’ लाइन, सर्कुलर स्टाइलका बढी प्रचलनमा छन् । इम्ब्रोइडरीसहितका नेट, जर्जेट अर्गान्जा, ब्रोकेट, बनारसी सिल्क फेब्रिकमा वाइन, पेस्टल ग्रीन, मरुनदेखि बेज, ओलिभ ग्रीन, नेभी ब्लू आदि रंगहरूको बहार देख्न पाइन्छ । यीबाहेक पाकिस्तानी तथा अबाया सुट्सको शैली पनि तीजको फेसनको दायरामा देख्न सकिन्छ ।

डिजाइनर वेयरमा तीज फेसन

फेसन डिजाइनर प्रेम देवले तीजलाई लक्षित भेल्भेटका साडीहरू तयार पारेका छन् । ह्यान्ड इम्ब्रोइडरीको विशेषता भएका रातो, हरियो, नेवी ब्लू तथा रोयल ब्लू रंगको आकर्षणमा तयार पारिएका तीज लक्षित साडीहरू उनको सिर्जनामा परेका छन् । भेल्भेट फेब्रिकमै तयार पारिएका डीप ब्याक ओपन हार्ट सेप नेकलाइन भएका ब्लाउज उनले आफ्नो डिजाइनर साडीको जोडाका रूपमा प्रस्तुत गरेका छन् । तीज लक्षित नै उनका अन्य सिर्जनामा आर्टिफिसियल जर्जेटबाट बनेका हरियो र रातो रंगका डिजाइनर वान पिस पहिरन तथा गाउनहरू भएको उनले बताए ।

अर्का फेसन डिजाइनर आलोक अर्यालले पनि तीजका लागि अनारकली स्टाइललाई प्राथमिकता दिँदैछन् । सर्ट, कुर्ता र अनारकली स्टाइलको जोडालाई उनी आफ्नो सिग्नेचर स्टाइलसहित बजारमा ल्याउँदैछन् । रातो रंगको क्यानभासमा उनी सिल्भर वर्कलाई प्राथमिकता दिइरहेको बताउँछन् । सिल्क र नेट मिक्स भएका हरियो, पहेंलो र ट्रेन्डी पिंक कलरमा उनले तयार पार्ने साडीहरू पाउने उनको भनाइ छ । साडी सुहाउँदो ब्लाउजका लागि भने उनले हेभी ह्यान्ड वर्क गरिएका ब्लाउजलाई तीज विशेषका रूपमा प्रस्तुत गर्दैछन् । ‘टू की कट्’ सहितको बोट नेक, स्वीट हार्ट नेकलाइनका ब्लाउजमा उनको डिजाइनर शैलीलाई देख्न पाइनेछ ।

त्यस्तै, डिजाइनर आरजु श्रेष्ठ पनि तीजका लागि उत्साहित देखिइन् । उनी भने आफ्नो सिर्जनाको दायरा कुर्ताको डिजाइनमा लक्षित गरिरहेकी छन् । विशेषतः रातो, हरियो र पहेंलो रंगलाई प्राथमिकतामा राखेर आफूले कुर्ताका शैलीहरू तयार पार्दै गरेको उनले बताइन् । उनको रोजाइमा लाइट प्रिन्ट भएका जर्जेट फेब्रिक रहेका छन् । उनले मूलतः अनारकली र लोरलेन्थ स्टाइलमा कुर्ताका डिजाइनहरू तीज लक्षित गरिरहेको सुनाइन् ।

 Image