Successfully Copied

न्याना पहिरन

परिस्थिति असहज भएकाले अहिले भोजभतेर त्यति हुँदैन । त्यसैले क्याजुअल वेयर लगाउनु वेश हुन्छ । पस्मिना वुलनको कुर्ता, टप, वानपिस, टि–सर्ट, ऊलनको कोट, प्यान्ट, रंग म्याचिङ गरेर लगाउन सकिन्छ ।

गर्मीमा छोटा र हल्का पहिरन खोज्नेहरू जाडो सुरु भएसँगै न्याना र बाक्ला पहिरनको जोहो गर्नतर्फ लाग्छन् । मौसमअनुकूल पहिरनको खोजीले फेसन बजारलाई चलायमान बनाइराख्छ । यतिबेला वायुमण्डलमा चिसो हावा चल्न थालेको छ । मौसमी तापमान ओह्रालो लाग्दैछ । र, मौसमसँग तालमेल मिलाउनका लागि शरीरमा न्यानो लुगा थपिँदैछ । जाडो याममा बाहिरी वातावरणसँग शारीरिक तापमानको सन्तुलन मिलाउन बाक्ला तथा पूरा शरीर ढाक्ने पहिरन जरुरी हुन्छ । खासगरी जाडो यामसँगै पहिरनको आकार–प्रकार र रंगमा पनि परिवर्तन देखिन्छ ।

जाडोमा लगाइने लुगा बाक्ला र पूरा शरीर ढाक्ने हुनुपर्छ । रंग भने गाढा वा कालो उपयुक्त मानिन्छ । यद्यपि कतिपय डिजाइनरको भने यसमा फरक मत छ । ‘दि सियो धागो’ की डिजाइनर रेश्मा श्रेष्ठ भन्छिन्, ‘धेरैले जाडोमा गाढा रंगका पहिरन लगाउने भएपनि यतिबेला रंगीचंगी पहिरन बढी उपयुक्त हुन्छन् ।’ यसमा उनको तर्क छ,जाडोको बेला अनुहारको छाला रुखो एवं फिका देखिन्छ । यस्तो अवस्थामा पहिरन पनि कालो वा गाढा कलरको लगाउने हो भने मान्छेको सौन्दर्य खुल्दैन । रेश्मा थप्छिन्, ‘त्यसैले जाडोमा अनुहार फिका र रुखो देखिएपनि रंगीचंगी वा उज्यालो पहिरन लगाउनुपर्छ । यसले ताजा देखिन्छ र समग्र व्यक्तित्वमा चमक पनि आउँछ ।’

यद्यपि धेरैजसो डिजाइनर भने उनको तर्कमा सहमत देखिँदैनन् । जाडो याममा कालो वा गाढा रंग नै बढी उचित हुने उनीहरूको जोड छ । यसका पछाडि उनीहरूको केही बलियो तर्क छ । जस्तो कि, जाडो याममा मौसम उजाड हुन्छ । जताततै रुखो देखिन्छ । आफ्नो पहिरनलाई पनि मौसमअनुकूल बनाउन गाढा वा कालो रंग उचित हुन्छ, जसरी वर्षायाममा रंगीचंगी पहिरन उपयुक्त मानिन्छ । यो भन्दा पनि महत्वपूर्ण के छ भने जाडो याममा शरीरलाई न्यानो राख्न पनि गाढा वा कालो रंगको पहिरन जरुरी हुन्छ । यस्तो रंगले घामको किरण परावर्तन नगरी आफैमा सोस्ने भएकाले घामको न्यानो अनुभव गर्न सकिन्छ । त्यसैले जाडो याममा कालो वा गाढा रंग नै उपयुक्त हुन्छ ।

जाडो यामसँगै ज्याकेट, आउटर, कोट, स्वेटर, कार्डिगन, ओभरकोटजस्ता बाक्ला पहिरन लगाउने गरिन्छ । यसैगरी मफलर, टोपी, पन्जा, मोजा पनि लगाइन्छ । यसरी सम्पूर्ण शरीर ढाक्ने लुगा लगाउँदा चिसो लाग्दैन । तर फेसनेबल पुस्तालाई के लाग्न सक्छ भने सम्पूर्ण शरीर ढाक्ने पहिरन लगाउँदा आफ्नो सौन्दर्य खुल्दैन । जबकि शरीर ढाक्ने लामो र बाक्लो पहिरनमा पनि आफूलाई स्टाइलिस देखाउन सकिने फेसन डिजाइनरहरू बताउँछन् । डिजाइनर रेश्मा भन्छिन्, ‘राम्ररी कम्बिनेसन मिलाएर लगाउने हो भने पूरै शरीर ढाक्ने पहिरनमा पनि आफूलाई आकर्षक देखाउन सकिन्छ ।’ तर, स्टाइलिस देखिने चक्करमा अरूको नक्कल गर्नुभन्दा पनि आफ्नो शारीरिक बनोट एवं रूपरंगअनुसार मिल्दो पहिरन रोज्नुपर्ने उनको सुझाव छ । ‘सबै मान्छेलाई एकै किसिमको पहिरन सुहाउँदैन’ उनको बुझाइ छ, ‘शरीरको ढाँचा एवं रूपरंगअनुसार पनि फरक–फरक पहिरन रोज्नुपर्ने हुन्छ ।’ अग्लो कद भएका व्यक्तिलाई ओभरकोट सुहाउँछ भने होचो कद भएकालाई फिटिङ ज्याकेट वा स्वेटर राम्रो देखिन्छ ।

जाडो याममा मफलर, टोपी र पञ्जाले शरीरको सुरक्षा गर्ने मात्र नभई फेसनेबल पनि देखाउने बताइन्छ । ‘मफलर, टोपी आदिको कम्बिनेसन मिलाएर लगाउने हो भने फेसनेबल देखिन्छ’ डिजाइनर राधा आचार्य भन्छिन् ।

विन्टर एसेसरिज जरुरी

पहिरनसँग कम्बिनेसन मिलाएर पन्जा, टोपी, मफलर, स्कार्फ, वार्मर, लेग वार्मर, मोजा, ऊलन ह्याट लगाउन सकिन्छ । ब्राइट कलर र आकर्षक डिजाइनमा आउने यस्ता एसेसरिजले परिधानमा थप निखार ल्याउँछन् ।

ड्रपिङको नयाँ स्टाइलले स्कार्फजस्तो परम्परागत पहिरनलाई युवा पुस्ताले रुचाएको छ । नयाँ स्टाइलको कारण यो जुनसुकै पहिरनसँग मिलाएर लगाउन सकिन्छ ।

लङ ज्याकेट र वुलन ड्रेस

लेगिन्स, जिन्स र टाउजरमा लामो ज्याकेट निकै सुहाउँछ । अहिले बजारमा राम्रो डिजाइनका केही वुलन ड्रेस उपलब्ध छन् । लङ ज्याकेटलाई साडी वा सुटसँग लगाउन सकिन्छ । यदि तपाईं हाई हिल लगाउनुहुन्छ भने लङ ज्याकेटका साथ हाई हिल्स वा हिल्स भएको बुट पनि लगाउन सक्नुहुन्छ ।

स्कार्फ र स्टोल

यो मौसममा जाडोबाट बच्नका लागि स्कार्फ, टोपी लगाउनसकिन्छ तर यो अब स्टाइल स्टेटमेन्ट पनि भएको छ । केही बहुरंगी, कालो र सेतो आदि रंगका स्टोल र टोपी पनि पहिरनमा सामेल गर्न सकिन्छ । स्कार्फ त सधै फेसनेबल देखिन्छ ।

लङ बुट

जाडोमा जुत्ता पनि उपयुक्त हुनु जरुरी छ । खासगरी लङ बुटले जाडोको फेसनमा फरक लुक्स दिन्छ । जिन्सका साथै वुलन स्कर्टसँग लङ बुट निकै सुहाउँछ । जुत्ताको छनोट गरिररहँदा आफूलाई सहज हुने कुरामा पनि ध्यान दिनु जरुरी छ ।

डिजाइनरको सुझाव

  • परिस्थिति असहज भएकाले अहिले भोजभतेर त्यति हुँदैन । त्यसैले क्याजुअल वेयर लगाउनु वेश हुन्छ । पस्मिना वुलनको कुर्ता, टप, वानपिस, टि–सर्ट, ऊलनको कोट, प्यान्ट, रंग म्याचिङ गरेर लगाउन सकिन्छ ।
  • जेकार्ड फेब्रिकको ज्याकेट, कोट टुटोन फेब्रिकको कुर्ता, भेल्भेटको इम्ब्रोइडरी, प्याच वर्क गरेको कुर्ता, भेल्भेटको सुरुवाल, सल, साडी र वेस्ट कोट लगाउँदा आकर्षक देखिन्छ ।
  • विवाह पार्टीमा जाँदा भेल्भेटको गाउन, लेहेंगा, भेल्भेटको आउटर लगाउन सकिन्छ । सादा कुर्ता–सलवार वा लेहेंगामा हेभी वर्क गरिएको भेल्भेटको सल लगाउन सकिन्छ । दुलहीले भेल्भेटकै लेहेंगा वा साडी–ब्लाउज लगाउन सक्छन् ।
  • हल्का पातलो स्वेटरसँग वान पिस लगाउन सकिन्छ । फुल स्लिभ टिसर्टमा स्वेट टिसर्टले फरक लुक्स दिन्छ । हाइनेक वा टिसर्टसँग पातलो ज्याकेट लगाउँदा फेसनेबल देखिनुका साथै चिसोबाट पनि बच्न सकिन्छ ।
  • डेनिम ज्याकेट विभिन्न डिजाइनमा पाइन्छ । जस्तो लङ, सर्ट, हाफ स्लिभ, लङ स्लिभ आदि आफ्नो पहिरनसँग मिलाएर लगाउन सकिन्छ ।
  • जाडोमा स्कार्फ महत्वपूर्ण हुन्छ । फ्लावर प्रिन्ट, सादा फरक–फरक डिजाइनको कलर कम्बिनेसन मिलाएर लगाउन सकिन्छ । स्कार्फ जुन पनि पहिरनसँग लगाउन सकिन्छ ।
  • फरक लुक्सका लागि लामो कोट वा ज्याकेट रोज्न सकिन्छ । त्यस्तै बजारमा विभिन्न डिजाइनका ऊनीका कुर्ता पाइन्छन् । ऊनीका पहिरनले जाडोमा न्यानो बनाउँछन् ।
  • भेल्भेटको पहिरन चाडवाड वा पार्टीमा मात्र नभएर क्याजुअल वेयरमा पनि लगाउन सकिन्छ । भेल्भेटबाट बनेको प्यान्ट, कुर्ता, वानपिस बुट वा ब्लेजर लगाउन सकिन्छ ।
  • हाई वेस्ट प्यान्टका साथ क्रप टप र ब्लेजर राम्रो देखिन्छ ।
  • मौसम चाहे जुनसुकै किन नहोस् आफूलाई स्टाइलिस देखाउन सकिन्छ । फेसनको अन्दाज बदलिरहन्छ । यो मौसममा कार्डिगनले फेसनेबल देखाउन मद्दत गर्छ । ज्याकेट र स्वेटरमा पनि आफूलाई स्टाइलिस देखाउन सकिन्छ ।
  • विन्टर ज्याकेट र स्वेटर जुनसुकै आउटफिटमा पनि फिट हुन्छ । साथै स्कार्फमा पनि धेरै भेराइटी पाइन्छ । फुटवेयरले पनि फेसनेबल र स्टाइलिस लुक दिन्छ । यो मौसमलाई बोरिङ मान्नु पर्दैन । नयाँ तरिका अपनाएर स्टाइलिस बनाउन सकिन्छ ।
  • ओभरकोट क्याजुअल र फर्मल दुवैमा लगाउन सकिन्छ । जाडोमा थर्मल इनर लाइनरले न्यानो बनाइराख्छ । टर्टल नेक डिजाइन चिसोबाट बच्ने राम्रो उपाय हुन सक्छ । साथै स्टाइलिस लुक पनि दिन्छ । टिनएजर्सका लागि क्रप कार्डिगन राम्रो देखिन्छ । नि लेन्थ ड्रेस, जिन्स, स्कर्ट आदिसँग क्रप कार्डिगन स्टाइलिस देखिन्छ । पोलो नेक टिसर्ट कोटमा स्कार्फ लगाउन सकिन्छ ।
  • गर्मीका जिन्स, जुत्ता आदि केही पहिरन पनि जाडोमा काममा आउन सक्छन् । त्यसका अतिरिक्त टिसर्ट, सुतीका पहिरन एवं स्यान्डल यो मौसममा नलगाउनु वेश हुन्छ ।
  • पोलिस्टर वा नाइलन फेब्रिकको पहिरन भने लगाउन सकिन्छ । मफलर, स्कार्फ, ऊनी टोपी वा ह्याट जुनसुकै पहिरनमा सुहाउँदैनन् । स्टाइलिस देखिनका लागि कम्बिनेसन एवं म्याचिङ गर्न सिक्नुपर्छ ।

 Image