प्राय गाउँले भेला र विविध सांस्कृतिक कार्यक्रममा मात्र सिमित बेलायतको नेपाली समुदाय माझ यस साता भने अलि भिन्न कार्यक्रम आयोजना गरिएको छ ।
बेलायतमा सौन्दर्य पेशामा आवद्ध महिलाहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले शनिबार अल्डरसटस्थित एम्पायर हलमा सौन्दर्य विज्ञ कमला श्रेष्ठको प्रमुख आतिथ्यमा फेशन शो सहित मेकअप प्रतियोगिता गरेको छ ।
कार्यक्रममा सौन्दर्य विज्ञ कमला श्रेष्ठले हेयर स्टाइल लाइभ डेमोन्स्ट्रेसन प्रस्तुत गरेकी थिइन् ।
उक्त फेशन शोमा लण्डनस्थित आर्च कलेक्सनकी डिजाइनर अन्जली केसीको डिजाइनर गाउन, क्याजुअल र ब्राइडल ड्रेस पहिरिएर मोडलहरुले क्याटवक गरेका थिए । माला गुरुङको कोरियोग्राफी रहेको उक्त शोमा इटालियन मोडल इलारीया करेरी र इन्डियन मोडल सचिन कुलकर्नीलाई नेपाली ब्राइडल पोशाक लगाएर शो स्टपरको रुपमा प्रस्तुत गरिएको थियो । आकर्षक डिजाइनमा मोडलहरु प्रस्तुत भइरहादा दर्शक दिर्घाबाट अन्जली केसीले प्रशंसा बटुलिन् ।
विगत चार दशकदेखि यस क्षेत्रमा आवद्ध प्रोफेशनल ब्युटी असोसिएसन नेपालका अध्यक्ष कमला श्रेष्ठ यही फेशन शोका लागि बेलायत आएकी थिइन् । ‘ब्युटिसियन दिदी बहिनीहरु एकजुट सक्रिय भएर लागेकामा म प्रसन्न छु’ कमलाले भनिन् ।
प्रोफेशनल ब्युटी असोसिएसन यूकेकी अध्यक्ष सुनिता थापाले स्थानीय डिजाइनर, मेकअप आर्टिष्ट र युवालाई प्लेटफर्म दिन यो कार्यक्रम गरिएको बताइन् ।
महासचिव धनु गुरुङले स्थानीय डिजाइनर र मोडलहरुलाई प्रोत्साहन एवं प्रवर्धन गर्न फेशन शो गरिएको जनाइन् । बेलायतमा ब्युटी सलुन सञ्चालन गरिरहेका असोसिएसनमा आवद्ध नेपाली महिला करिब तीन दर्जन रहेको र बेलायतका नेपाली ब्युटिसियनहरुलाई एकजुट गराउने, आइडिया शेयर गर्ने र समस्या पर्दा सहयोग गर्ने संस्थाको उदेश्य रहेको पनि संयोजक धनुले बताइन् ।
सौन्दर्यमा रुचि भएका ७ जना फ्रिल्यान्सर युवतीले भाग लिएको मेकअप प्रतियोगितामा निक्कि पाण्डे विजेता बनिन् । उक्त प्रतियोगितामा कमला श्रेष्ठ, धरानकी भारती सुब्बा र प्रेक्षा बस्नेत निर्णायक थिए । प्रतियोगिताका विजेतालाई न्यू लक्ष्मी ज्वेलर्सले सुनका गरगहना उपहार प्रदान गरेको थियो ।
श्रद्घा गुरुङले सञ्चालन गरेको उक्त शोमा जेनी सुनुवारले आकर्षक नृत्य प्रस्तुत गरिन् भने सुलभ श्रेष्ठले कविता सुनाए । त्यसैगरी आशुतोष थापा, निराकार अधिकारी, रोनिस दर्नाल र प्रमोद थापा मगरको समूहले विभिन्न लाइभ गीत संगीत प्रस्तुत गरेका थिए ।
फेशन शोमा विशेष अतिथि एनआरएनए आइसीसी सदस्य शान्ति थापा कुंवर थिइन् भने अतिथिहरुमा मिस नेपाल यूके आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लगायत सहभागी थिए ।