पछिल्लो फेसनशैली, नव प्रवेशी तथा स्थापित फेसन डिजाइनरहरुको सृजनशीलता र कल्पनाशीलतालाई एउटै मंचमा अनुभव गर्न सकिने नेपाली फेसन तथा मोडलिङ क्षेत्रको एउटा भव्य एवं सर्वाधीक लोकप्रिय कार्यक्रम, नेपाल फेसन सप्ताह । वर्ष २०१७ को संस्करणको तयारीले गति पाएसंगै यस वृहत् फेसन कार्यक्रममा सहभागि हुने मोडलहरुको अडिसन कार्य पनि सम्पन्न भइसकेको छ । काठमाडौं र पोखरामा संचालन गरिएको अडिसनमा सयौंको संख्यामा मोडलहरुले आफूलाई प्रस्तुत गरेका थिए । ती सयौंको संख्याबाट यस पटकको फेसन सप्ताहमा आफ्नो बान्की परेको जिउडाललाई विरालो चालको हिंडाईमा मर्काएर फेसन डिजाइनरहरुका सृजनालाई मनमोहक तरिकाबाट प्रदर्शन गर्नका लागि १८ जना युवती मोडलहरु अन्तिम छनौटमा पर्न सफल भएका छन् ।
जस अन्तर्गत नेपाल फेसन सप्ताहको अघिल्ला संस्करणहरुको अनुभव संगालिसकेका फेसन सप्ताहका लागि नयाँ अनुहाहरु पनि यस पटकको फेसन सप्ताहका लागि छनौटमा परेका छन् । जसमा घरेलु र्याम्प देखि अन्तर्राष्ट्रिय रनवेमा आफ्नो प्रस्तुति दिइसकेकी सुपर मोडल आस्था पोखरेलदेखि नेपाल मोडलिङ क्षेत्रमा अहिलेका चल्तीका मोडलहरु अल्का राई, नीति शाह, रिहाना लिम्बु, निकिता महतसम्मका रहेका छन् । यस पटकको फेसन सप्ताहको संस्करणका लागि चयन परेका अन्य मोडलहरुमा मिस नेपाल कल्चर २०१६ की विजेता उरुशा जोशी, मिस नेपाल २०१५की सहभागि सुदिपा पाठक पनि रहेका छन् । यसैगरी अन्जना राणा, भावना खड्का, वर्षा थकाली, निकिता चन्दक, ओजस्वी ढकाल, प्रियानी वेबस्टर, सन्दिपा लिम्बु, सुदिपा पाठक, सविता कार्की, समृद्धि प्रधान, शशी श्रेष्ठ र सिम्रन श्रेष्ठ पनि यो पटकको फेसन सप्ताहको र्याम्पको शोभा बन्नेछन् ।