फेसनप्रति नेपाली महिलाहरू निकै सचेत हुन थालेका छन् । हाल नेपाली बजारमा हरेक व्यक्तिको रुचि, साइज तथा चाहेको मूल्यअनुरूप विभिन्न देशबाट आयात गरिएका पहिरन उपलब्ध हुने हुँदा जोकसैले पनि चलेको फेसन ट्रेन्ड फलो गर्न सक्छन् । त्यसैले यो विन्टरमा पनि स्टाइलिस्ट लुक्समा सजिन गार्हो छैन ।
अहिले युवापुस्तादेखि प्लस ५० सम्मका महिलाहरूमाझ विभिन्न डिजाइनका कोटको फेसन छ । यस पटक लङ कोट अर्थात् ओभर कोट फेसनमा छ । ओभर कोटमा ब्यागी कोट, फिटिङ कोट धेरैले रुचाएका छन् । साना नानीहरू समेत डिजाइनर कोटमा सजिएर पार्टी तथा अन्य कार्यक्रममा जाने चलन बढेको छ । क्याजुअलमा जिन्स, स्किनी टाइट पाइन्ट आदिसँग लङ बुटमा लङ कोट अहिले चलेको फेसन ट्रेन्ड हो । पार्टीमा साडी लगाउने समूहबीच पनि कोटको लोकप्रियता उत्तिकै देखिन्छ । साडीमा पन्चु वा सल लगाउनुभन्दा डिजाइनर ओभर कोटमा स्मार्ट र वार्म लुक्स प्राप्त हुने हुँदा धेरैको रोजाइमा साडी विथ कोट छ ।
टिनएजरहरू भने अहिले पार्टी लुक्समा पनि क्याजुअल देखिन चाहन्छन् । उनीहरू डिजाइन गरिएको पहिरनमाथि स्टाइलिस्ट कोट अनि लङ बुटमा पार्टीमा सहभागी हुन रुचाउँछन् । अहिले फेसनसँगै स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिन थालिएको छ । कोटमा छोटो, लामो, गलाको डिजाइनमा फरक गरी, स्लिडलाई मोडिफाइ गरी नयाँपनसँग रमाउन चाहनेहरू पनि धेरै छन् । बजारमा विभिन्न बजेट समूहका लागि लक्षित गरी रेडिमेड कोटहरू उपलब्ध हुन्छन् ।
१ हजार ६ सय रुपैयाँदेखि नै पाइने हुँदा अहिले हरेक उमेर, समूह तथा वर्गले कोटलाई विन्टरको फेसनेबल आउटफिटका रूपमा लिएको पाइन्छ । त्यसमा पनि यो समयका लागि ब्लेजर, फर, भेलभेट तथा ढाकाका कोटहरू उपयुक्त हुन्छन् । अहिले अनलाइनले गर्दा कहाँ कस्तो फेसन चलिरहेको छ भनेर थाहा हुने हुँदा पनि आफूलाई मनपर्ने र सुहाउने कोट डिजाइन गराई लगाउने चलन बढ्दो छ । कोटले गर्दा स्टान्डर मेन्टेन हुनुका साथै स्मार्ट देखिने धेरैको अनुभव छ ।
रुना मानन्धर गुरुङ, फेसन डिजाइनर, इनोभ एट
अहिले कोटको फेसन कस्तो छ ?
२–३ वर्षदेखि महिलाहरूमाझ कोटको फेसन फस्टाइरहेको छ । त्यसमा पनि यो वर्ष टिनएजरदेखि प्लस ५० सम्मले पनि आफ्नो उमेर र शरीरअनुसार कोट लगाउँछन् । पार्टीमा पनि हरेक उमेर समूहका महिलाले साडीसँग डिजाइनर कोट लगाएको देखिन्छ ।
कस्तो डिजाइनका कोट फेसनमा छन् ?
धेरै किसिमका डिजाइनर कोट बजारमा भित्रिएका छन् । त्यसमा पनि फेसनेबल कोटका रूपमा क्रेप स्टाइल, ओभर कोट, ड्रेस स्टाइल कोट, प्लेटेड कोट आदि बढी रुचाइएको छ । ती डिजाइनमा पनि विभिन्न किसिमका नेकलाइन, बेल स्लिभ हालिएका फरक–फरक कोट बजारमा छन् ।
कोटका लागि उपयुक्त फेब्रिक कुन–कुन हुन् ?
फर, ट्विड, लेदर, ब्लेजर तथा भेलभेटका कोट विन्टर सिजनका लागि उपयुक्त फेब्रिक हुन् ।
अहिले कोटका लागि कुन–कुन कलर उपयुक्त हुन्छन् ?
पहिले कालो, ब्राउन र रातो कोट नै बढी सिलाउने तथा किन्ने चलन थियो तर अहिले एल्लो, पिंक, प्यारोट ग्रिन, पिच, ब्लु, पर्पल, डार्क ब्लु, मरुन आदि फेसनमा छन् ।
उमेरअनुसार कोटका डिजाइन कस्ता छन् ?
हिजोआज उमेरभन्दा पनि शरीरको बनोटअनुसार पहिरन छनोट गरिन्छ । मिडिल एजका लागि ओभर कोट, सिम्पल ए लाइन तथा हिपसम्मको कोट राम्रो देखिन्छ । निलेन्थ कोट साडीमा पनि निकै आकर्षक देखिन्छ । टिनएजरहरूका लागि प्लेटेड तथा ड्रेस स्टाइलका कोट राम्रा देखिन्छन् ।