Successfully Copied

जिरो फिगरको चाहनामा ......

जिरो फिगरको चाहनामा कतिपयले निकै कडा डाइटिङ गर्छन् । यसले गर्दा शरीर भित्रभित्रै कमजोर हुन्छ । वजन आवश्यकताभन्दा धेरै कम भए आमा बन्ने अवसरमा असर पर्न सक्छ ।

डा. रश्मि श्रीश आइभी एस एक्सपर्ट, स्टार हस्पिटल सानेपा 

जिरो फिगरको चाहनामा कतिपयले निकै कडा डाइटिङ गर्छन् । यसले गर्दा शरीर भित्रभित्रै कमजोर हुन्छ । वजन आवश्यकताभन्दा धेरै कम भए आमा बन्ने अवसरमा असर पर्न सक्छ ।आफू सुन्दर तथा जिरो फिगर रहने बहानामा कतै शरीर नै कमजोर भैरहेको त छैन ? कुन किसिमको जिरो फिगरको चाहनामा आमा बन्ने कुरामा रोकावट आउँछ ? थाहा पाइराख्नु आवश्यक छ ।  

जिमिङ 

आफूलाई दुब्ली–पातली देखाउन कतिपय महिला घन्टौं जिममा पसिना बगाउँछन् । जिममा धेरै समय एक्सरसाइज गर्दा महिनावारी समेत प्रभावित हुन्छ । यसले गर्दा आमा बन्ने योग्यता पनि समाप्त हुनसक्छ । 

डाइटिङ 

महिलाहरू जिरो साइज फिगर बनाउन स्वस्थ खानासमेत छोड्नुका साथै धेरै समय नखाई बस्छन् । यसले बिस्तारै–बिस्तारै इनर्जी कम हुँदै जान्छ भने शरीर कमजोर हुनुका साथै सेक्स हर्मोन्स पनि घट्न थाल्छ । यसले यौन रुचिमा कमी ल्याउँछ । आवश्यकताभन्दा धेरै डाइटिङ गर्दा गर्भाशयमा समेत 

असर पर्छ । 

वेट लस ट्याबलेट्स 

जुन महिलाको तौल प्राकृतिक तरिकाबाट कम हुँदैन त्यस्ता महिलाले वजन कम गर्न औषधिसमेत सेवन गर्छन् । यसले गर्दा ओभरीमा अण्डा बन्न बन्द हुन्छ । यसले महिनावारी अनियमित हुनुका साथै बाँझोपन उत्पन्न हुने खतरासमेत बढाउँछ । 

अस्वस्थ खाना 

अहिले धेरैजसो महिला कामकाजी छन् । उनीहरू कतिपय अवस्थामा घरको खाना खान भ्याउँदैनन् । कतिपय महिला हतारमा केही नखाई अफिस जान्छन् । सन्तुलित खाना नखाँदा गर्भधारणमा समस्या हुने मात्र नभै गर्भपातको सम्भावनासमेत वृद्धि हुन्छ । 

अन्य समस्या 

जिरो फिगरको चक्करमा पर्दा आमा बन्ने मार्गमा धेरै किसिमका समस्या देखा पर्छन् । जे खायो त्यसले पाचनतन्त्र निर्धारित गर्छ । कमजोर पाचनका कारण कब्जियत, डायरिया आदि समस्या उत्पन्न हुन सक्छ ।  धेरै डाइटिङले शरीरमा भिटामिन बी ११, बी ८, बी १२, सी, डी, ई, के, आइरन, म्याग्नेसियम, सेलेनियम तथा जिंकजस्ता पोषक तत्वको कमी देखापर्छ । म्याग्नेसियम, क्याल्सियम तथा पोटासियमजस्ता तत्व मांसपेशीको विकासका लागि अत्यन्त जरुरी हुन्छ । यी पोषक तत्वको कमी भए पिडौंला तथा खुट्टाको पछाडिको भागमा असहज महसुस हुन्छ ।

धेरै दिनसम्म शरीरमा पोषक तत्व नपुगे आँखा कमजोर हुने, मोतीविन्दु, आँखा सुन्निनेजस्ता समस्या सामना गर्नुपर्छ । क्रोमियम, जिंक भिटामिन बी ६, बी १२ तथा आवश्यक फ्याटी एसिडको कमीका कारण पनि यस्तो हुन्छ । फलफूल तथा सागसब्जी प्रयोग नगर्दा कुपोषणको सिकार भइन्छ । 

डाइट कस्तो हुनुपर्छ ? 

शरीरलाई स्वस्थ तथा रोगबाट मुक्त राख्न डाइटमा यी कुरा सामेल गर्नुपर्छ : हरियो सागपात, प्रोटिनयुक्त खानेकुरा, अन्न, दूध तथा दूधबाट बनेका उत्पादन फल तथा ड्राइफ्रुट्स ।

 Image