आगामी माघ १० गते सोमबारका दिन राजधानीमा नयाँ आयामसहितको बुटिक औपचारिक रूपमा उद्घाटन हुने भएको छ । नेपाली फेसन जगत्मा नयाँ किसिमका डिजाइन र आमयुवाहरूको मागबमोजिमका पहिरन प्रदान गर्ने क्षमतासहित बुटिक संचालनमा आउन लागेको छ । विगत १२ वर्षदेखि डिजाइन पेसामा आबद्ध लोकप्रिय डिजाइनर प्रेमदेव र अर्की डिजाइनर रेखा मित्रुकाले बढ्दै गएको फेसनपारखीको मागलाई मध्यनजर राख्दै पेजथ्री संचालनमा ल्याउन लागेको बताएका छन् ।
बुटिकका पहिरन निकै महँगो र किन्न नसकिने हुन्छन् भन्ने कुरालाई जरैदेखि चिर्दै पेजथ्रीले न्यून मूल्यका पहिरनदेखि लिएर महँगा तथा उत्कृष्ट पहिरनलाई नेपाली बजारमा भित्राउने भएको छ । अन्य बुटिकको तुलनामा पेजथ्री केही फरक आयामका साथ खुल्न लागेको डिजाइनर रेखा मित्रुका बताउँछिन् । महिला र पुरुष दुवैका लागि भनेजस्तै र अर्डरबमोजिमका पहिरन डिजाइन गर्ने मित्रुकाले बताइन् । यसका अलावा बलिउड स्टाइलका कुनै पनि डिजाइन अब नेपालमा पनि भित्राइने पेजथ्रीको योजना छ ।यसैगरी पुरुषको हकमा पनि महिलाहरुका लागि मात्र बुटिक पहिरन तयार हुन्छ भन्ने कुरालाई पेजथ्रीले तोडिँदै महिला र पुरुषहरूका पहिरन पेजथ्रीले उपलब्ध गराउने योजना बनाएको छ ।
पछिल्लो समय नेपालको फेसन क्षेत्र दह्रिँदै गएको र निकै ठूलो हिस्सा ओगट्न सफल फेसन जगत्मा छाएका सेलिब्रेटी पहिरनदेखि लिएर सामान्य पहिरनसमेत पाइनेछन् । राजधानीको व्यावसायिक चहलपहलको आकर्षक केन्द्रबिन्दु मानिने ज्ञानेश्वरस्थित सिटी सेन्टर छेउमै रहेको पेजथ्री सम्पूर्ण महिला–पुरुषका लागि विशेष गन्तव्य बन्न सक्ने अर्का डिजाइनर प्रेमदेवले बताए । औपचारिक उद्घाटनका अवसरमा पेजथ्रीले पहिरन खरिद गर्दा १० प्रतिशत छुट दिने व्यवस्था गर्ने भएको छ । यसैगरी नयाँ दम्पतीहरूको पहिरन अर्डर गर्दा २० प्रतिशत छुट दिने योजना पेजथ्रीले बनाएको छ । यो व्यवस्था फागुन महिनाभर लागू हुने जानकारी दिइएको छ ।