रोजिना श्रेष्ठ, फेसन डिजाइनर
दसैं आयो खाउँला–पिउँला भनेर दसैंको प्रतीक्षामा रमाउने बालबालिकाहरू दसैं भन्नासाथ मीठो खाने र राम्रो लगाउने कल्पनामा रम्छन् । दसैंलाई स्कुलमा लामो बिदा, आमाबुवासँग घुम्ने, मीठो–मसिनो खाने, दक्षिणा पाउने र राम्रा पहिरन लगाउने अवसरका रूपमा लिइन्छ । त्यसैले पहिलेदेखि नै आमाबुवाहरू आफ्ना बालबालिकालाई राम्राभन्दा राम्रा पहिरन किनिदिन्छन् ।
हरेक कपडा पसल एवं शोरुमहरूमा बालबालिकाहरूका विभिन्न किसिमका पहिरन झुन्डाइएका हुन्छन् । कतिपय अभिभावक भने आफ्ना बालबालिका अरुभन्दा फरक देखिऊन् भनेर बुटिकमा भिन्न कलर एवं डिजाइनका पहिरन तयार पार्न लगाइरहेका हुन्छन् । यसपटक बुटिकहरूमा प्रिन्सेस गाउन, बार्बी गाउन, वान पिस गाउन, अम्ब्रेला कुर्ता, डबल लेयर फ्रक, पठानी सेट सेरवानी, सफारी सुट, सिम्पल कुर्ती एण्ड ट्राउजर, अलादिन कुर्ता–सुरुवाल, थ्रीलेयर लेहेंगा, गाउन साडी आदि चल्तीमा छन् ।
६ महिनादेखि १ वर्षसम्मका बालबालिका सारै क्युट हुन्छन् । त्यसैले उनीहरूको पहिलो दसैंका लागि विशेष किसिमका पहिरन बनाइदिनुपर्छ । भेल्भेटको कपडामा ग्याडर चोली वाला फ्रकमा गोल्डेन स्प्रिङ, विड्स, स्टोन आदि प्रयोग गर्दा नानीहरू निकै सुन्दर देखिन्छन् । यस्तो पहिरनमा भेल्भेटकै फ्लावर एट्याच हेडबैन्ड तथा क्लिपहरू बनाएर लगाइदिँदा नानीहरू साना परीजस्तै लाग्छन् । यो उमेरका नानीहरूका लागि सेल्फ प्रिन्टेड फेब्रिकका फ्रकहरू पनि उपयुक्त हुन्छन् । ११ वर्षसम्मका केटाहरूका लागि पनि नरम कपडा प्रयोग गर्नुपर्छ । दसैंमा केही चिसो सुरु भैसक्ने हुँदा भेल्भेट उत्तम फेब्रिक साबित हुन्छ । भेल्भेटमा वेस्ट कोट, ट्राउजर, टिसर्ट बनाइएको छ भने वेस्ट कोटमा हल्का गोल्डेन स्प्रिङ वर्क गर्दा आकर्षक देखिन्छ ।
२ वर्षदेखि ४ वर्षसम्मका बालिकाहरूलाई टिस्यु कपडामा वान पिस गाउन, नेटमा प्रिन्सेस गाउन जसमा सिक्वेन्स विड्स तथा क्रिस्टल वर्क गरिएको हुन्छ बनाइदिनु उपयुक्त हुन्छ । यो उमेरमा भेल्भेट र नेट फेब्रिक मिक्स गरेर तयार पारिएको अनारकल्ली कुर्ता पनि सुहाउँछ । यो उमेरका छोराहरूका लागि प्लेन सिल्क कुर्ता जसमा हल्का धागोको वर्क तथा सलवार र सल भरेको डिजाइन उपयुक्त हुन्छ भने थ्रि पिस सुट पनि आकर्षक देखिन्छ ।
५ वर्षदेखि ७ वर्षसम्मका छोरीहरूका लागि चोली डिजाइनमा वान पिस फ्रकमा डबल लेयरमा विड्स वर्क भएको डिजाइन आकर्षक देखिन्छ । यसलाई टिस्यु, नेट तथा सिक्वेन्स वर्क फेब्रिक प्रयोग गरेर फेस्टिभ मुडमा ढाल्न सकिन्छ । सेरवानी डिजाइनको कुर्ती एवं एलाइन लेहेंगा निकै आकर्षक देखिन्छ । यसपटकको दसैंका लागि यो उमेरका बालकहरूका लागि सेरवानी बढी चलेको छ भने वेस्ट कोट र पाइन्ट पनि उत्तिकै आकर्षक देखिन्छ ।
८ वर्षदेखि १२ वर्षका केटीहरूलाई लेहेंगा चोली निकै सुहाउँछ । अम्ब्रेला कुर्तामा नेट र भेल्भेट मिक्स गरेर विड्स एण्ड सिक्वेन्स, स्टोन वर्क गर्नुपर्छ । प्रिन्सेस गाउन, फिटिङ वान पिस, ग्याडर गाउन, मरमेड गाउन, ए लाइन गाउन, सर्कल, ड्ेरप्ट, बबल, टुलिप, पेन्सिल, रफल्ड गाउन आदि पनि उत्तिकै सुहाउँछन् । यो उमेरका नानीहरूलाई गाउन साडी तथा फिक्स साडी बनाइदिँदा पनि राम्रै देखिन्छ भने पठानी र सेरवानी पनि उत्तिकै खुल्छ । पठानीमा हल्का प्लेन कपडाको कुर्ता र सलवार तयार पारी वेस्ट कोट भने भेल्भेट फेब्रिकमा विड्स तथा स्प्रिङ वर्क गरेर बनाउनुपर्छ । कुर्ता–सुरुवालका लागि लाइट सी ग्रिन, क्रिम, खादी ब्राउन आदि कलर प्रयोग गर्दा बालकहरू निकै सुन्दर देखिन्छन् ।