Successfully Copied

प्रतिस्पर्धात्मक फेसन भोयाज अफ क्रिएसन सिजन टू

फेसन डिजाइनरको कल्पनाशीलता, सृजनशील अभिव्यक्ति र कलात्मक प्रस्तुतिमा केन्द्रित उनीहरुको सोच र फेसनको बदलिंदो शैली तथा स्वरुपमा उनीहरुको सृजनात्मक प्रतिभाको सम्मान र व्यावसायिक दायराको बाटो प्रशस्त गर्ने उद्देश्य राखेको ‘भोयाज अफ क्रियसन सिजन टू’ गत जेष्ठ ७

फेसन डिजाइनरको कल्पनाशीलता, सृजनशील अभिव्यक्ति र कलात्मक प्रस्तुतिमा केन्द्रित उनीहरुको सोच र फेसनको बदलिंदो शैली तथा स्वरुपमा उनीहरुको सृजनात्मक प्रतिभाको सम्मान र व्यावसायिक दायराको बाटो प्रशस्त गर्ने उद्देश्य राखेको ‘भोयाज अफ क्रियसन सिजन टू’  गत जेष्ठ ७ गते शुक्रबार दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा सम्पन्न भएको छ । शुक्रबार राति अबेरसम्म संचालित सो कार्यक्रममा लबिन राईका सृजनाहरुले निर्णायक प्यानलको मन जित्न सफल भयो र भोयाज अफ क्रियसन सिजन टू प्रतिस्पर्धाको विजेता चयन भए । यसैगरी प्रतियोगितामा अमृता सारु, सुशान्त पुडासैनी र पूजा गुरुङको समूह फस्ट रनर अप तथा सपना श्रेष्ठ र सुजिता मानन्धरको जोडी सेकेन्ड रनर अप उपाधि जित्न सफल भए ।

कार्यक्रममा ओपनिङ प्रस्तुतिका रुपमा स्टिीच ल्याण्डकी अन्चु पाण्डेद्वारा तयार पारेका इन्डो वेस्टर्न फ्युजन शैलीका पहिरनहरुमा युवा युवती मोडलहरुले प्रस्तुति दिएका थिए जसमा कार्यक्रममा मुख्य आकर्षणका रुपमा निम्त्याइएका आफ्नो समयका चर्चित मोडल समेत रहिसकेका आशिकी ब्वायका नामले समेत परिचित बलिउड अभिनेता राहुल रोय र भारतीय सुपर मोडल एवं नवअभिनेत्री साधना सिंह शो स्टपरका रुपमा र्‍याम्प नापेका थिए ।

२४ युवती तथा ८ युवा मोडलहरुले प्रतिस्पर्धी नव प्रतिभावान् फेसन डिजाइनहरुको सृजनशीलतालाई प्रदर्शन गरेका थिए । लाजिम्पाटस्थित नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजनामा संचालन हुने यो प्रतियोगितात्मक फेसन कार्यक्रमलाई ह्याट्स इन्टरटेन्मेन्टको सहकार्यमा जिरो ग्रुप इभेन्टस्ले व्यवस्थापन गरेको थियो । कार्यक्रमका लागि मोडलहरुको ग्रुमिङ एवं कोरियोग्राफी रोजिन शाक्य र बलिउडका कोरियोग्राफर लक्की सरीनले गरेकी थिइन् भने कार्यक्रमको ओपनिङ तथा केही सिक्वेन्सको कोरियोग्राफी संजीव झाले गरेका थिए । विभिन्न थीममा आधारित पहिरनशैली प्रस्तुत गरिएको भए पनि मूलत: रेड कार्पेट गाउनका विभिन्न शैलीहरु, नी लेन्थ वन् पिस ड्रेसहरु, स्कर्ट ड्रेस, लेहेंगा, सर्कुलर ड्रेस, ए लाइन ड्रेसहरुको बाहुल्यता रहेको थियो ।

फेसन डिजाइनरद्धय अनु श्रेष्ठ र नुजत काजी, ब्युटीसियन कमला श्रेष्ठ, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, नमूना कलेजका सह प्रधानाध्यापक जिवेश्वरलाल श्रेष्ठ र मिस नेपाल २०१५ इभाना मानन्धर प्रतियोगिताको निर्णायकका रुपमा रहेका थिए । प्रतियोगितात्मक फेसन कार्यक्रममा एकल तथा समूहगत गरी १८ सिकेन्वस मार्फत् तीन दर्जन भन्दा बढी फेसन डिजाइनिङ अध्ययन गर्दै गरेका विद्यार्थी फेसन डिजाइनरहरुले आफ्नो सृजना पस्केका थिए । कार्यक्रममा अफ्रिकी डिजाइनर मारियम डियालो बुसाटीको कलेक्सन पनि र्‍याम्पमा अनुभव गर्न पाइएको थियो । 

कार्यक्रमको विशेष प्रस्तुतिका रुपमा ट्रान्सजेन्डर मोडल भूमिका श्रेष्ठ, अभिनेत्रीद्धय केकी अधिकारी र स्वस्तिमा खड्का तथा गायिका इन्दिरा जोशीले पनि र्‍याम्प नापेको यो कार्यक्रममा यी सेलिब्रेटीहरुले जरदोजी बुटिकका अमितेश कर्ण र इन्दु आक्षाजुले तयार पारेका पहिरन शैलीलाई प्रदर्शन गरेका थिए ।

तस्विरहरु: महेश प्रधान

 Image