Successfully Copied

जाडो महिनाको सौन्दर्य तालिका

गर्मी महिनामा छाला हल्का तैलीय हुनु तथा जाडोमा सुख्खा हुनु स्वाभाविक हो । सोहीअनुरूप छालाको स्याहार गर्न सके सुन्दरतामा अवश्य निखार आउँछ ।

गर्मी महिनामा छाला हल्का तैलीय हुनु तथा जाडोमा सुख्खा हुनु स्वाभाविक हो । सोहीअनुरूप छालाको स्याहार गर्न सके सुन्दरतामा अवश्य निखार आउँछ । जाडो महिनामा तुलनात्मक रूपले छालाको स्याहार गर्न अलि कठिन हुन्छ तर एकपटक छाला स्याहारको तालिका हात लाग्यो भने कम शृंगार वा शृंगारबिना नै सुन्दर देखिन सफल भइन्छ । यो तालिका सरल तथा प्रयोगात्मक हुनुका साथै अत्यन्त प्रभावकारी पनि छ ।

बिहान

सोप फ्रि फेसवास वा एलोबेरा, मह आदिको फेसवासले अनुहार सफा गर्ने । त्यसपछि राम्रो स्किन टोनर एप्लाई गर्ने । स्किन टोनर लगाएपछि हाई मोइस्चरयुक्त मोइस्चराइजर लगाउने । सनब्लकमा भएको मोइस्चराइजर विन्टर सिजनमा छालालाई आवश्यकताअनुरूप पर्याप्त नहुने भएकाले छुट्टै मोइस्चराइजर प्रयोग गर्नुपर्छ । मोइस्चराइजर लगाएपछि माथिबाट सनब्लक प्रयोग गर्ने । त्यसमाथि लुज पाउडरको टच दिने । आफ्नो छालाभन्दा २ देखि ३ टोन माथिको लुज पाउडर छनोट गर्नुपर्छ । लुज पाउडरले म्याट लुक्स दिनुका साथै लामो समयसम्म फ्रेस देखाउन सहयोग गर्छ । ओठको स्याहारका लागि राम्रो ब्रान्डको लिप वाम लगाउनुका साथै मोइस्चराइजरयुक्त लिपिस्टिक लगाउनुपर्छ ।

बेलुकी

दिनभरि छालामा टाँसिएका फोहोर तथा मेकअप आदि उतार्न एवं छालाको सफाइका लागि प्रत्येक रात राम्रो क्लिन्जरले छालाको क्लिन्जिङ गर्ने । क्लिन्जिङ गरिसकेपछि टोनर लगाउने र सुत्नुपूर्व अनिवार्य नाइट क्रिम प्रयोग गर्ने । छाला फुटेको छ भने ग्लिसरिन तथा कागतीको मिश्रण प्रयोग गरे छाला चाँडै रिकभर हुनुका साथै मुलायम पनि रहन्छ ।

विन्टर बडी केयर

अल्कोहलयुक्त वा ड्राइ साबुनले नुहाउँदा सुख्खापनले शरीर चिलाउने, छाला तन्किएजस्तो असहज महसुस हुने भएकाले मोइस्चराइजरयुक्त साबुन वा सोप फ्रि बडी वासले शरीर सफा गर्नुपर्छ र शरीर पुछ्नेबित्तिकै मोइस्चराइजरयुक्त बडी लोसन पूरै शरीरमा लगाउनुपर्छ । हात–खुट्टा बढी सुख्खा हुने भएकाले बडी लोसनका साथै नरिसिङ क्रिम वा कोल्ड क्रिम प्रयोग गर्न सकिन्छ । हातखुट्टा चिसा हुँदा पनि सुख्खापन देखापर्ने भएकाले शरीरका साथै हातखुट्टालाई पनि न्यानो राख्नुपर्छ ।

स्पेशल केयर

अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता विक्ली प्याक लगाउनुपर्छ । हरेक महिना ब्युटी एक्सपर्टसँग आफ्नो छालाको प्रकृति तथा उमेरअनुरूप नियमित फेसियल गराउनुपर्छ । फेसियलको प्रभावकारिता कायम राख्न पनि डेली केयर, विक्ली मेन्टेन तथा स्पेशल केयर आदि पनि उत्तिकै आवश्यक हुन्छन् ।

 Image