कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

न्यूयोर्क सहरमा आयोजित ‘मिस नेपाल नर्थ अमेरिका २०२४’ प्रतियोगितामा १७ जनालाई पछि पार्दै नेपाली मूलकी अन्ना कोइरालाले उपाधि हात पारेकी छन् । प्रतियोगितामा अमेरिका, क्यानडादेखि अन्य देशका युवती सहभागी भएका थिए । अमेरिकामा बस्दै आएकी अन्ना उपाधि जितेपछि नेपाल आइपुगेको समयमा गरिएको कुराकानी ।
ब्युटी प्याजेन्टमा सहभागी हुन कसरी पुग्नुभयो ?
ब्युटी प्याजेन्टमा मलाई रुचि थियो । यसका लागि समय पाएकी थिइन । ब्याचलरमा मलिकुलर बायोलोजी पढाइ सकेकी थिएँ । खाली समयको सदुपयोग गर्नका लागि प्याजेन्टमा सहभागी हुने योजना बनाएर पुगेकी थिएँ ।
उपाधि हासिल गरेपछि कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
उपाधि जित्छु भनेर त सोचेकी थिइन । एक हप्ताको वर्कसपले उपाधि हासिल गरिएला भन्ने थिएन । मेरा लागि यो नसोचेको भयो । उपाधि जितेपछि फरक अनुभव गरें । नेपालसँग अझ नजिकिएको महसुस गरें । अमेरिकामा हुँदा थुप्र्रै बधाई र शुभकामनाले नेपालमै भएजस्तो भयो । जब नेपाल फर्किएँ, धेरै मिडियादेखि युवाहरूसँग साक्षात्कार गर्ने मौका पाएँ । यो उपाधिले मलाई नेपालको प्रतिनिधित्व गर्ने अवसर दिएको छ । थप जिम्मेवारी महसुस भएको छ ।
नेपाली युवाको मनाविज्ञान कस्तो पाउनुभयो ?
अहिलेको समयमा नेपाली युवा पनि विश्वव्यापी रूपमा फैलँदै गएका छन् । सोसल मिडियाले सबैलाई एउटै ठाउँमा जोडेको छ । नेपालका युवा अवसरको खोजीमा छन् । राम्रो अवसर पाए, रोजगारीको सुनिश्चिता हुन सके आफ्नै देशमा बसौं र गरौं भन्ने भावना उनीहरूमा छ ।
नेपालका युवा विदेशमै भविष्य खोजिरहेका छन् नि ?
अहिलेका युवाको सोचमा धेरै परिवर्तन भइसकेको छ । कतिपय विदेश जाने लहर देखेर गइरहेका छन् । विदेशका हरेक स्थानमा युवाले अग्रसरता लिइरहेका छन् । अर्कोतर्फ राम्रो लाइफस्टाइल विदेशमा सम्भव छ भन्ने सोचाइ युवामा छ । राम्रो भविष्य बनाउने उद्देश्यले उनीहरू विदेशको बाटो रोजिरहेका छन् ।
विदेशमा युवाको अवस्था कस्तो पाउनुहुन्छ ?
विदेश सोचेजस्तो सहज छैन । विदेशमा पैसा कमाउन सहज छ भन्ने धेरै युवाको सोचाइ हुँदो रहेछ । तर अवस्था त्यस्तो छैन । दुःख धेरै गर्नुपर्छ । महत्वपूर्ण कुरा नेपालबाट गएका धेरै युवा एक्लोपनको सिकार भइरहेका छन् । नेपालको जस्तो पारिवारिक, सामाजिक वातावरण विदेशमा हुँदैन । पछिल्लो समय निश्चित समय बसेर स्वदेश फर्कने युवाको संख्या पनि बढेको छ ।
नेपालमा तपाईं कस्ता काम गरिरहनुभएको छ ?
नेपाल मेरो जन्मभूमि हो । हरेक वर्ष यहाँ आइरहन्छु । नेपालको पब्लिक हेल्थमा मैले फोकस गरेकी छु । सामान्य उपचारबाट नेपाली वञ्चित नहून् भन्ने मेरो उद्देश्य हो । जसका कारण सरकारी अस्पतालमा विभिन्न फन्डमार्फत स्वास्थ्य उपकरण भित्राउन पहल गरेकी छु । भविष्यमा पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने योजना छ ।
अरु थप योजना ?
मेरो उद्देश्य डाक्टर बन्नु हो । अब आफ्नो पढाइलाई निरन्तरता दिँदै सामाजिक काममा पनि सक्रिय हुनेछु । ब्युटी प्याजेन्टको उपाधिले नेपालमा मलाई चिनाउन सहज भएको छ । भविष्यमा नेपालमै रमाउने मन छ ।