मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।

एकताका चलचित्र उद्योगमा चर्चा कमाएका कतिपय अभिनेतृ अहिले ओझेलमा परेका छन् । उनीहरूको लोकप्रियता क्षणिक हुन पुगेको छ । चलचित्रमा नयाँ अनुहारहरू स्थापित हुँदा पुरानाहरू भने विस्थापित हुन थालेका छन् । अझ महिला कलाकारहरू लामो समय चलचित्र क्षेत्रमा टिक्न सकेका छैनन् । पारिवारिक बन्धन, फिल्मले चर्चा नपाउनु, स्थापित हुन नसक्नु आदि कारणले महिला कलाकारहरू हराउने क्रम बढ्दै गएको हो । पुराना नायिकाहरू विदेश पलायन हुनेदेखि घर गृहस्थीमै भुलिरहेका छन् ।
कुनै समयकी चर्चित नायिका हुन्, निरुता सिंह । उनी तुलसी घिमिरेको चलचित्र ‘दक्षिणा’ मार्फत नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । उनलाई यो चलचित्रले सफलताको शिखरमा पुर्याइदियो । त्यसपछि उनले निरन्तर नेपाली चलचित्रमा एकछत्र राज गरिन् । तर समय सधै उनको पक्षमा भएन । पछिल्लो समय उनी अभिनीत चलचित्र चल्न छाडेपछि उनले यो क्षेत्र छोड्ने निर्णय गरिन् । चलचित्रको दुनियाँबाट उनी अलग भइन् र मुम्बई पुगिन् । मुम्बईमा उनी इन्टेरियर डिजाइनमा रमाउन थालिन् । करिब एक वर्षअघि चलचित्र ‘दाल भात तरकारी’ बाट कमब्याक गरिन् । उनी अभिनीत उक्त चलचित्र पनि चल्न सकेन । कुनै बेला चर्चित यी अभिनेतृ अहिले मुम्बईमा रमाइरहेकी छन् । उनी कहिले इन्डियन आइडलमा आएर चर्चा बटुल्ने गर्छिन् त कहिले बलिउड कलाकारहरूसँग सहकार्य गरेर । बलिउडमा जम्ने योजनासहित मुम्बर्ई पुगेकी उनी अहिले भने मुम्बईमा इन्टेरियर डिजाइनिङको काम गरीरहेकी छन् ।
सिंहजस्तै नेपाली चलचित्रमा चर्चा बटुलेकी अर्की नायिका हुन्, विपना थापा । उनले अभिनयसँगै फेसन डिजाइनरमा समेत काम गरिन् । चलचित्रमा उनी आफ्ना लागि आफै ड्रेस डिजाइन गर्थिन् । ‘जन्मभूमि’ बाट चलचित्रमा प्रवेश गरेकी उनका ‘अप्सरा’, ‘गाजल’, ‘मितिनी’ सहितका चर्चित चलचित्र हुन् । राम्रो नायिकाको छवि बनाएकी उनले सन् २००८ मा भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह गरेपछि उनी चलचित्र क्षेत्रबाट टाढिइन् । विपना अहिले गृहस्थी जीवन बिताइरहेकी छन् । समय–समयमा उनी नेपाल आउजाउ गरिरहन्छिन् ।
नायिका रेजिना उप्रेतीले अभिनय र चलचित्र निर्माण गरिन् । उनले करिब ६ दर्जनभन्दा बढी चलचित्रमा अभिनयसमेत गरिसकेकी छन् । ‘वरदान’ उनले निर्माण गरेको चलचित्र हो । उक्त चलचित्रले सफलता भने हासिल गर्न सकेन । प्रेमी सुरज अधिकारीसँग तीन वर्षअघि विवाह गरेकी रेजिना एक छोरीकी आमा भइसकेकी छिन् । आजकल उनी छोरीको हेरचाहमै व्यस्त छिन् । गृहस्थी दैनिकीमै उनी रमाइरहेकी छन् । अभिनेतृ जेनिशा केसी पनि चलचित्र क्षेत्रमा रमाउन सकिनन् । उनले अभिनय गरेका चलचित्रले सफलता हासिल गर्न सकेनन् । चलचित्रमा स्थापित हुन नसकेपछि उनी मुम्बई पुगिन् । उनी बलिउडमा संघर्षरत छन् । उनको आगामी लक्ष्य भनेको बलिउडमा अभिनय गर्नु हो ।
नेपाली चलचित्रमा गरिमा पन्त पनि लोकप्रिय नाम हो । दुई दर्जन चलचित्रमा अभिनय गरेकी गरिमा विवाहपछि बेल्जियम गइन् । अहिले उनी फिल्मी दुनियाँबाट टाढा छिन् । बेल्जियममा उनी बिकिनी लगाएर फोटोसुटपछि चर्चामा आइन् । चलचित्रमा नायिकाहरू लामो समय टिक्न सकिरहेका छैनन् । नायिकाहरूको विदेश पलायन हुने क्रम बढ्दो छ । नायिका नन्दिता केसी पनि करियरका लागि अमेरिका पुगिन् । नन्दिताजस्तै युना उप्रेती, विनीता बराल, उषा पौडेल, ऋचा घिमिरे, सौजन्या सुब्बा अमेरिकामा छन् । सौजन्या भने अभिनेता भूपेन चन्दसँग दोस्रो विवाह गरी अमेरिका पुगेकी हुन् । अमेरिकामै करियर बनाइरहेका अन्य नायिकाहरू कृष्टि मैनाली, सारंगा श्रेष्ठ, जल शाह, पूजा चन्द आदि छन् ।
किन टिक्दैनन् महिला कलाकार ?
चलचित्रमा महिला कलाकारहरूले निरन्तरता दिन नसक्नु व्यक्तिगत जीवनदेखि व्यावसायिक कारणसम्म रहेको बताउँछिन्, मिथिला शर्मा । लामो समयदेखि चलचित्रमा अभिनय गरेकी उनी भन्छिन्, ‘महिलाहरूले व्यक्तिगत एवं व्यावसायिक कारणले चलचित्रमा निरन्तरता दिन सकेका छैनन् ।’ तर, पुराना नायिकाहरू चलचित्रमा नखेल्दैमा उनीहरूको योगदान भने भुल्न नहुने उनको भनाइ छ । उनका अनुसार योगदान दिएका कलाकारलाई हराए, गुमनाम भएको भन्न मिल्दैन । उनी भन्छिन्, ‘पारिवारिक जिम्मेवारीका कारण पनि महिलाहरू चलचित्रबाट टाढा भएका छन्, त्यसकारण योगदान दिएका कलाकारलाई चलचित्रले बिर्सनुहुँदैन ।’ कोही कलाकार भने नबुझी चलचित्र क्षेत्रमा आएका कारण आउने/हराउने हुने गरेको उनी बताउँछिन् । उनका अनुसार एउटा चलचित्र खेलेर चलचित्र क्षेत्र छोड्नेहरू पनि धेरै छन् । नबुझी चलचित्र क्षेत्र प्रवेश गर्ने, आर्थिक निर्वाह गर्न नसक्नुका कारणले आएर हराउनेहरू पनि छन् । उनी भन्छिन्, ‘भाइरल हुन आउने र निरन्तरता नदिने कारणले पनि लामो समय टिक्न सकेका छैनन् ।’
तस्बिरहरू : सामाजिक सञ्जाल