एक जोडी युवा–युवतीको सपना एउटै छ, गायक बन्ने । रुचि मिल्ने भएकाले उनीहरू पनि आपसमा मिल्ने भइहाले । तर, त्यही मिलाप प्रेममा बदलिन्छ, र पछि प्रेम विवाहमा । घरजम हुन्छ, बच्चा जन्मन्छन् । त्यसपछि उनीहरू एकसाथ बस्न सक्दैनन् । अलग हुन्छन् । उनीहरूको दाम्पत्य सम्बन्धमा त्यही कुराले फाटो ल्याउँछ, जुन कुराले उनीहरूलाई जोडेको थियो । दुवैको रुचि गायक बन्ने । यद्यपि विवाहपछि श्रीमान्ले आफ्नो रुचिलाई मात्र सर्वोपरि ठान्छन् । उनी चर्चित गायक बन्ने सपना पालेर संघर्ष गर्छन् । जबकि श्रीमतीलाई भने घरव्यवहार सम्हालेर बसेको देख्न चाहन्छन् । यही ठाउँमा दुवैको कुरा मिल्दैन र छुट्टिन्छन् ।
आमिर खान र मनीषा कोइराला अभिनीत हिन्दी चलचित्र ‘अकेले हम अकेले तुम’ को कथासार हो यो । यस्ता थुप्रै चलचित्र बनेका छन्, जसमा श्रीमान् र श्रीमतीको महत्वाकांक्षाले कसरी उनीहरूको सम्बन्धलाई बिगार्छ भन्ने कथावस्तु देखाइएको छ ।
मानिसका आ–आफ्नै इच्छा–आकांक्षा हुन्छन् । विवाहपछि आफ्ना इच्छा–आकांक्षालाई दबाउनुपर्छ भन्ने छैन । तर, दाम्पत्य जीवनलाई सुखमय बनाउन त्याग र समर्पण भने चाहिन्छ । जब श्रीमान् वा श्रीमतीमध्ये एक जनाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्छन्, चर्चा बटुल्छन्, ख्याति कमाउँछन् त्यसले पूरै परिवारको प्रतिष्ठा बढाउँछ । त्यसो भन्दैमा आफ्ना जीवनसाथीको सफलता, खुसीका लागि सबै कुरा त्याग्नुपर्छ भन्ने होइन । बरु यसमा दुवैले आपसी समझदारीमा तालमेल मिलाउन जरुरी हुन्छ । यो त्यस्तै केही पात्रको कथा हो, जसले श्रीमान्को सफलता, प्रसिद्धिका लागि पर्दापछाडि बसेर सहयोग गरिरहेका छन् ।
मेनुका गिरी (दीपकराज गिरी)
चर्चित अभिनेता/निर्माता दीपकराज गिरीकी जीवनसंगिनी हुन् मेनुका गिरी । उनी धार्मिक प्रवृत्तिकी छन् । उनको दैनिकी हनुमान् चालिसा, दुर्गा चालिसा र हरे कृष्ण– हरे रामको पाठ गरेसँगै सुरु हुन्छ ।
त्यसपछि उनी घरको नियमित काममा लाग्छिन् । चिया बनाउने, खाजा तयार गर्ने, खाना बनाउने, घरको सरसफाइ । जेठा छोरा–बुहारी अस्ट्रेलिया, छोरी र कान्छा छोरा नेपालमा छन् । कान्छा छोरा फिल्म मेकिङ पढ्दैछन् । पुर्ख्यौली घर थानकोटमा उनी गइरहन्छिन् । उनी महिला स्वयंसेविकाका रूपमा थानकोटमा कार्यरत छिन् । श्रीमान् व्यस्त भइरहने भएकाले फुर्सद मिल्नासाथ उनीहरू घुम्न निस्कन्छन् । कहिले काठमाडौं, कहिले काठमाडौंबाहिर, कहिले देशबाहिर पनि ।
आफ्ना श्रीमान्को चलचित्र नहेर्ने कुरै भएन । श्रीमान्ले आर्जन गरेको ख्याति एवं सफलताले उनलाई पनि खुसी बनाएको छ । मेनुका भन्छिन्, ‘उहाँ एकदमै मेहनती मान्छे । काममा रमाउनुहुन्छ । उहाँ चर्चित भएको, सबैले चिनेको देख्दा आफूलाई गर्व लाग्छ ।’
उनीहरू घुम्न निस्केका बेला दीपकराजको प्रशंसकको भीड लाग्छ । फोटो खिच्न थाल्छन् । मेनुका भन्छिन्, ‘हामी दुई जनाको मात्र फोटो खिचौं न त भन्दा भीडले गर्दा पाइँदैन ।’ यस्तो अवस्थामा उनलाई खुसी महसुस हुन्छ । ‘उहाँको कामलाई मन पराएर दर्शकहरू झुम्मिएका हुन्’ उनी भन्छिन्, ‘यसमा रिसाउनुपर्ने वा ईर्ष्या गर्नुपर्ने केही छैन ।’ दीपकराज काममा लागेपछि एकोहोरो हुने उनको अनुभव छ । घरमा कुनै चलचित्रको स्क्रिप्ट लेखिरहँदा उनी चुपचाप र एकोहोरो हुन्छन् । कसैले बोलाएको सुन्दैनन् । कतिसम्म काममा मग्न हुन्छन् भने, दुई–चार पटक बोलाएपछि मात्र सुन्छन् । दायाँ–बायाँ ध्यान दिँदैनन् ।
कलाकार भएपछि घरमा बस्ने फुर्सद हुँदैन । बाहिर धेरै साथीहरू हुन्छन् । थुप्रै महिला साथी पनि हुन्छन् । अझ दीपकराज त अभिनेता, चलचित्रका लागि भए पनि अभिनेतृसँग रोमान्स गर्नुपर्यो, नाच्नुपर्यो । यस्तो दृश्य देख्दा मेनुकालाई कस्तो लाग्छ ?
‘मलाई वास्ता लाग्दैन । म सुटिङ हेर्न पनि गइरहन्छु । यो रिल लाइफ हो । सुटिङका बेला बाहिर हुँदा पनि फोनमा कुरा भइरहन्छ । समयले परिपक्व बनाउँदै लग्दोरहेछ ।’
चलचित्रको अभिनय र वास्तविक जीवन फरक हुने उनको बुझाइ छ । चलचित्रमा अभिनय मात्र गरिन्छ, त्यहाँ भावना हुँदैन । वास्तविक जीवनमा भावना हुन्छ, अभिनय हुँदैन । उनी भन्छिन्, ‘म बिरामी हुँदा उहाँले मेरो एकदमै ख्याल राख्नुहुन्छ । अरुबेला पनि तातोपानी वा चिया बनाएर ल्याइदिनुहुन्छ ।’
दीपकराज कलाकारितामै बढी व्यस्त भएकाले घरव्यवहारको काम भने मेनुकाले सम्हाल्ने गरेकी छन् । छोराछोरीको हेरचाह गर्ने, घरव्यवहार मिलाउने सबै काम उनले गर्छिन् । घरायसी कामकाज गर्दा उनलाई बोझ महसुस हुँदैन । यसलाई आफ्नो दायित्व सोच्ने गर्छिन् । ‘एक हातले मात्र ताली बज्दैन । उहाँको काममा मैले कहिल्यै रोकटोक गरेकी छैन ।’
उनलाई सबैभन्दा मनपर्ने बानी भनेको कहिले नरिसाउने हो । ‘उहाँमा सहन शक्ति छ’ मेनुकाले भन्छिन्, ‘बाहिर जति नै तनाव भए पनि घरभित्र आएपछि सबै बिर्सनुहुन्छ ।’ छोराछोरीलाई समय दिनुहुन्छ । उहाँको नामबाट चिनिन पाउँदा आफूलाई खुसी लागेको मेनुकाले बताइन् । ‘तिमीले गर्ने सबै दुःख गरिसक्यौ अब केही गर्नुपर्दैन भन्नुहुन्छ ।’
बिन्दु बोहरा (प्रकाश सपूत)
‘चौबन्दी च्यातियो’ गीतबाट चर्चित बनेका गायक प्रकाश सपूत । त्यसअघि उनले ‘बोल माया’ गाएका थिए, जसले उनको चिनारी बनाइदियो । त्यसयता उनलाई निरन्तर सफलता र चर्चाले पछ्याइरहेको छ । उनको जीवन निकै संघर्षपूर्ण रह्यो । प्रकाशको जीवनको सम्पूर्ण उतार–चढावकी साक्षी हुन्–बिन्दु बोहोरा ।
जतिबेला प्रकाश गायक बन्ने सपना पालेर गाउँबाट काठमाडौं आए, सडकमा भौंतारिए, दोहोरी रेस्टुरेन्टमा जागिर खाए । सबै अवस्थामा बिन्दु उनको साथ–साथ थिइन् । चिनाइरहनु नपर्ला, बिन्दु प्रकाशकी जीवनसाथी हुन् । उनीहरूकी एक छोरी पनि छिन् ।
बिन्दु घरपरिवार सम्हाल्ने र छोरीलाई स्याहार्ने काममा व्यस्त हुन्छिन् । साथै उनी लेखपढ पनि गर्छिन् । बिन्दुले केही समयअघि मात्र स्नातकोत्तरको पढाइ सकिन् ।
बिन्दुलाई घर स्याहार्न, सजावट गर्न औधी मनपर्छ । किनमेल गर्न, घरधन्दा गर्न, लुगाफाटो मिलाउन उनलाई कत्ति अल्छी लाग्दैन । ‘श्रीमान्–श्रीमतीबीच समझदारी हुनु जरुरी हुन्छ । श्रीमान् निकै व्यस्त हुने भएकाले भनेको बेला सँगै बाहिर जान पाइँदैन । घरमा समय दिन पाउनुहुन्न’ बिन्दु भन्छिन्, ‘उहाँलाई सबैले चिन्ने भएकाले सधैं संयमित भएर हिँड्ने र बोल्ने गर्नुपर्ने हुन्छ ।
पहिला जहाँ जाँदा पनि मज्जाले घुम्न पाइन्थ्यो अहिले त्यस्तो हुँदैन ।’
विगतमा यस्तो थिएन । उनीहरू एकसाथ बस्थे, घुमफिर गर्थे । मान्छेले चिन्दैनथे । अहिले त प्रकाशलाई चिन्ने धेरै छन् । त्यसैले उनले निजी जीवनभन्दा बढी सार्वजनिक जीवन बाँच्नुपर्ने हुन्छ । यस्तो अवस्थामा घरपरिवारलाई समय दिन नसक्नु सामान्य नै हो । अहिले धेरै कुरा व्यवस्थित गर्नुपर्ने हुन्छ, सतर्क हुनुपर्ने हुन्छ ।
‘अहिले सँगै धेरै समय बिताउन पाइँदैन । समय मिल्नासाथ पहिला त फिल्म हेर्न निस्कन्छौं त्यसपछि घुम्न’ बिन्दु भन्छिन्, ‘छोरीलाई पनि घुम्न मनपर्छ ।’
उनलाई श्रीमान्ले गाएको ‘गलबन्दी’ गीत मनपर्छ । छोरीले पनि गुनगुनाउँछे । ‘बोलमाया’ गीत मेरो मन छुने गीत हो । मैले अहिलेसम्म पनि यो गीत पूरै हेर्न सकेकी छैन’ उनी भन्छिन्, ‘एकदमै भावुक हुन्छु । यो गीत श्रीमान्को जीवनसँग मिल्दोजुल्दो छ ।’
प्रकाशले आफ्नो करियरको कुरामा वा रुचिको कुरा बिन्दुसँग सरसल्लाह गर्छन् । आफूखुसी केही पनि गर्दैनन् । ‘सबै कुराको मलाई भनेर मात्र निर्णय लिनुहुन्छ । गीत पनि मलाई सुनाउनुहुन्छ कस्तो छ भनेर सोध्नुहुन्छ । कमेन्ट गर्छु । गीतको काम गर्ने बेला ‘म एकोहोरो हुन्छु मलाई डिस्टर्ब नगर्नू भन्नुहुन्छ ।’
यद्यपि प्रकाशका कतिपय बानी बिन्दुलाई मन पर्दैनन् । जस्तो कि, कुनै पनि कुरा एकदमै गहिरिएर सोच्ने । गम्भीरतापूर्वक लिने । मोबाइलमा एकदमै व्यस्त हुने । धेरै समय के–के सोचेरै बसिरहने । यसैगरी कुनै पनि कुरा छिटो भुल्न नसक्ने । बाहिर अरुसँग अन्तर्वार्ता दिनुपर्ने, बोल्नुपर्ने भएकाले घरमा पनि औपचारिक भएर बस्नुपर्ने । यस्तो बानी बिन्दुलाई मन पर्दैन ।
सीता तिमल्सिना (केदार घिमिरे)
केदार घिमिरे वा माग्ने बूढालाई धेरैले चिन्छन् । उनको प्रस्तुतिले धेरैलाई हँसाउँछ । माग्ने बूढासँग काठमाडौंमा आफ्नै मेहनतले जोडेको घर, गाडी,
प्रतिष्ठा र आयआर्जन छ । तर, हिँजोको दिनमा यस्तो कहाँ थियो र ?
सडक पेटीमा बसेर खुद्रा सामग्री बेच्थे । कहिले टेम्पु चलाउँथे । कहिले सानो सटरमा बसेर विद्युतीय सामग्री बनाउँथे । दुःखका ती दिनमा पनि जीवनसाथी सीता तिमल्सिनाले उनलाई साथ दिइरहिन् । अभाव र संघर्षमा दुवैले एक–अर्काको काँध थापे । उनलाई यो भनाइ सत्य लाग्छ, श्रीमान्–श्रीमती भनेका एउटै रथका दुई पाङ्ग्रा हुन् । दुवैले सन्तुलन मिलाएमा रथ कुँद्छ, नभए त यात्रा अगाडि बढ्दैन ।
हास्य कलाकारितामा संघर्ष गर्दै केदारले ठूलो सफलता हासिल गरे । टेलिभिजन, ठूलोपर्दादेखि देश–विदेशका स्टेजमा उनको माग बढ्यो । बालबच्चादेखि बूढापाकासम्म सबैले उनलाई चिने । उनको यो सफलताको पछाडि एउटा ऊर्जा बनेर बसेकी थिइन्, सीता । आम्दानीको स्रोत केही नहुँदा, अभावै अभाव हुँदा, कोठा भाडा तिर्नु, छोराछोरी पढाउनु, खानेकुरा जुटाउनुजस्ता समस्या थिए । विगत सम्झिदै सीता भन्छिन्, ‘उहाँ कलाकार बन्न चाहनुहुन्थ्यो । उहाँले आफू कलाकार बन्न चाहेको कुरा मलाई भन्नुभयो । हामीले सल्लाह गर्यौं, मलाई पनि कलाकारितामै राम्रो हुन्छ जस्तो लाग्यो । त्यतिबेला मैले पसल चलाउन थालें ।’
सीताले पसल र घरव्यवहार सम्हाल्न थालिन् । केदार भने कलाकारितामा संघर्ष गर्न थाले । सीता भन्छिन्, ‘पसलको आम्दानीले सबै घरव्यवहार मिलाउँथें । उहाँलाई पनि खर्च दिन्थें । तर गाह्रो भने थियो । यहाँसम्म आइपुग्न हामीले एकदमै संघर्ष गर्नुपर्यो र अझै पनि गरिरहेका छौं ।’ कडा परिश्रम र निरन्तर प्रयासले उनीहरूको सपना पूरा भयो । श्रीमान् चर्चित कलाकार बने । आयआर्जनको बाटो चौतर्फी खुल्यो ।
अहिले श्रीमान् एकदम व्यस्त भए । घरपरिवारमा समय दिन पाउँदैनन् । कतै घुमफिर गर्ने मेलोमेसो जुर्दैन । कुनै सार्वजनिक ठाउँमा एकसाथ हिँड्नुपरेमा सबैले चिन्छन् । बोलाउँछन्, फोटो खिच्छन् । त्यसैले पनि काम नभएको बेला घरभित्रै बस्नुपर्ने बाध्यता छ । ‘उहाँसँग समय भयो भने हामीलाई दिनुहुन्छ । समय मिले नेपाली चलचित्र हेर्न जान्छौं । हामी दुवै नेपाली कला, भाषा, संस्कृतिलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छौं’ सीता भन्छिन् ।
त्यसो त अहिले सीता पनि कलाकारितामा लागेकी छन् । श्रीमान्ले आफूलाई पनि यस क्षेत्रमा लाग्न प्रेरित गरेको उनको भनाइ छ । सीता खुसीसाथ भन्छिन्, ‘२१ वर्ष लाग्यो वैवाहिक बन्धनमा बाँधिएको । माग्ने बूढा भएर दर्शकमाझ चिनिएकाले माग्ने बूढाको भूमिका एकदमै मनपर्छ । एक–अर्काका गल्ती एवं कमी–कमजोरी औंल्याउँदै हामीले अभिनय गरेको चलचित्र वा टेलिचलचित्र सँगै बसेर हेर्छौं । आवश्यकतानुसार सल्लाह–सुझाव पनि दिन्छौं ।’