प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
एक जोडी युवा–युवतीको सपना एउटै छ, गायक बन्ने । रुचि मिल्ने भएकाले उनीहरू पनि आपसमा मिल्ने भइहाले । तर, त्यही मिलाप प्रेममा बदलिन्छ, र पछि प्रेम विवाहमा । घरजम हुन्छ, बच्चा जन्मन्छन् । त्यसपछि उनीहरू एकसाथ बस्न सक्दैनन् । अलग हुन्छन् । उनीहरूको दाम्पत्य सम्बन्धमा त्यही कुराले फाटो ल्याउँछ, जुन कुराले उनीहरूलाई जोडेको थियो । दुवैको रुचि गायक बन्ने । यद्यपि विवाहपछि श्रीमान्ले आफ्नो रुचिलाई मात्र सर्वोपरि ठान्छन् । उनी चर्चित गायक बन्ने सपना पालेर संघर्ष गर्छन् । जबकि श्रीमतीलाई भने घरव्यवहार सम्हालेर बसेको देख्न चाहन्छन् । यही ठाउँमा दुवैको कुरा मिल्दैन र छुट्टिन्छन् ।
आमिर खान र मनीषा कोइराला अभिनीत हिन्दी चलचित्र ‘अकेले हम अकेले तुम’ को कथासार हो यो । यस्ता थुप्रै चलचित्र बनेका छन्, जसमा श्रीमान् र श्रीमतीको महत्वाकांक्षाले कसरी उनीहरूको सम्बन्धलाई बिगार्छ भन्ने कथावस्तु देखाइएको छ ।
मानिसका आ–आफ्नै इच्छा–आकांक्षा हुन्छन् । विवाहपछि आफ्ना इच्छा–आकांक्षालाई दबाउनुपर्छ भन्ने छैन । तर, दाम्पत्य जीवनलाई सुखमय बनाउन त्याग र समर्पण भने चाहिन्छ । जब श्रीमान् वा श्रीमतीमध्ये एक जनाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्छन्, चर्चा बटुल्छन्, ख्याति कमाउँछन् त्यसले पूरै परिवारको प्रतिष्ठा बढाउँछ । त्यसो भन्दैमा आफ्ना जीवनसाथीको सफलता, खुसीका लागि सबै कुरा त्याग्नुपर्छ भन्ने होइन । बरु यसमा दुवैले आपसी समझदारीमा तालमेल मिलाउन जरुरी हुन्छ । यो त्यस्तै केही पात्रको कथा हो, जसले श्रीमान्को सफलता, प्रसिद्धिका लागि पर्दापछाडि बसेर सहयोग गरिरहेका छन् ।
मेनुका गिरी (दीपकराज गिरी)

चर्चित अभिनेता/निर्माता दीपकराज गिरीकी जीवनसंगिनी हुन् मेनुका गिरी । उनी धार्मिक प्रवृत्तिकी छन् । उनको दैनिकी हनुमान् चालिसा, दुर्गा चालिसा र हरे कृष्ण– हरे रामको पाठ गरेसँगै सुरु हुन्छ ।
त्यसपछि उनी घरको नियमित काममा लाग्छिन् । चिया बनाउने, खाजा तयार गर्ने, खाना बनाउने, घरको सरसफाइ । जेठा छोरा–बुहारी अस्ट्रेलिया, छोरी र कान्छा छोरा नेपालमा छन् । कान्छा छोरा फिल्म मेकिङ पढ्दैछन् । पुर्ख्यौली घर थानकोटमा उनी गइरहन्छिन् । उनी महिला स्वयंसेविकाका रूपमा थानकोटमा कार्यरत छिन् । श्रीमान् व्यस्त भइरहने भएकाले फुर्सद मिल्नासाथ उनीहरू घुम्न निस्कन्छन् । कहिले काठमाडौं, कहिले काठमाडौंबाहिर, कहिले देशबाहिर पनि ।
आफ्ना श्रीमान्को चलचित्र नहेर्ने कुरै भएन । श्रीमान्ले आर्जन गरेको ख्याति एवं सफलताले उनलाई पनि खुसी बनाएको छ । मेनुका भन्छिन्, ‘उहाँ एकदमै मेहनती मान्छे । काममा रमाउनुहुन्छ । उहाँ चर्चित भएको, सबैले चिनेको देख्दा आफूलाई गर्व लाग्छ ।’
उनीहरू घुम्न निस्केका बेला दीपकराजको प्रशंसकको भीड लाग्छ । फोटो खिच्न थाल्छन् । मेनुका भन्छिन्, ‘हामी दुई जनाको मात्र फोटो खिचौं न त भन्दा भीडले गर्दा पाइँदैन ।’ यस्तो अवस्थामा उनलाई खुसी महसुस हुन्छ । ‘उहाँको कामलाई मन पराएर दर्शकहरू झुम्मिएका हुन्’ उनी भन्छिन्, ‘यसमा रिसाउनुपर्ने वा ईर्ष्या गर्नुपर्ने केही छैन ।’ दीपकराज काममा लागेपछि एकोहोरो हुने उनको अनुभव छ । घरमा कुनै चलचित्रको स्क्रिप्ट लेखिरहँदा उनी चुपचाप र एकोहोरो हुन्छन् । कसैले बोलाएको सुन्दैनन् । कतिसम्म काममा मग्न हुन्छन् भने, दुई–चार पटक बोलाएपछि मात्र सुन्छन् । दायाँ–बायाँ ध्यान दिँदैनन् ।
कलाकार भएपछि घरमा बस्ने फुर्सद हुँदैन । बाहिर धेरै साथीहरू हुन्छन् । थुप्रै महिला साथी पनि हुन्छन् । अझ दीपकराज त अभिनेता, चलचित्रका लागि भए पनि अभिनेतृसँग रोमान्स गर्नुपर्यो, नाच्नुपर्यो । यस्तो दृश्य देख्दा मेनुकालाई कस्तो लाग्छ ?
‘मलाई वास्ता लाग्दैन । म सुटिङ हेर्न पनि गइरहन्छु । यो रिल लाइफ हो । सुटिङका बेला बाहिर हुँदा पनि फोनमा कुरा भइरहन्छ । समयले परिपक्व बनाउँदै लग्दोरहेछ ।’
चलचित्रको अभिनय र वास्तविक जीवन फरक हुने उनको बुझाइ छ । चलचित्रमा अभिनय मात्र गरिन्छ, त्यहाँ भावना हुँदैन । वास्तविक जीवनमा भावना हुन्छ, अभिनय हुँदैन । उनी भन्छिन्, ‘म बिरामी हुँदा उहाँले मेरो एकदमै ख्याल राख्नुहुन्छ । अरुबेला पनि तातोपानी वा चिया बनाएर ल्याइदिनुहुन्छ ।’
दीपकराज कलाकारितामै बढी व्यस्त भएकाले घरव्यवहारको काम भने मेनुकाले सम्हाल्ने गरेकी छन् । छोराछोरीको हेरचाह गर्ने, घरव्यवहार मिलाउने सबै काम उनले गर्छिन् । घरायसी कामकाज गर्दा उनलाई बोझ महसुस हुँदैन । यसलाई आफ्नो दायित्व सोच्ने गर्छिन् । ‘एक हातले मात्र ताली बज्दैन । उहाँको काममा मैले कहिल्यै रोकटोक गरेकी छैन ।’
उनलाई सबैभन्दा मनपर्ने बानी भनेको कहिले नरिसाउने हो । ‘उहाँमा सहन शक्ति छ’ मेनुकाले भन्छिन्, ‘बाहिर जति नै तनाव भए पनि घरभित्र आएपछि सबै बिर्सनुहुन्छ ।’ छोराछोरीलाई समय दिनुहुन्छ । उहाँको नामबाट चिनिन पाउँदा आफूलाई खुसी लागेको मेनुकाले बताइन् । ‘तिमीले गर्ने सबै दुःख गरिसक्यौ अब केही गर्नुपर्दैन भन्नुहुन्छ ।’
बिन्दु बोहरा (प्रकाश सपूत)

‘चौबन्दी च्यातियो’ गीतबाट चर्चित बनेका गायक प्रकाश सपूत । त्यसअघि उनले ‘बोल माया’ गाएका थिए, जसले उनको चिनारी बनाइदियो । त्यसयता उनलाई निरन्तर सफलता र चर्चाले पछ्याइरहेको छ । उनको जीवन निकै संघर्षपूर्ण रह्यो । प्रकाशको जीवनको सम्पूर्ण उतार–चढावकी साक्षी हुन्–बिन्दु बोहोरा ।
जतिबेला प्रकाश गायक बन्ने सपना पालेर गाउँबाट काठमाडौं आए, सडकमा भौंतारिए, दोहोरी रेस्टुरेन्टमा जागिर खाए । सबै अवस्थामा बिन्दु उनको साथ–साथ थिइन् । चिनाइरहनु नपर्ला, बिन्दु प्रकाशकी जीवनसाथी हुन् । उनीहरूकी एक छोरी पनि छिन् ।
बिन्दु घरपरिवार सम्हाल्ने र छोरीलाई स्याहार्ने काममा व्यस्त हुन्छिन् । साथै उनी लेखपढ पनि गर्छिन् । बिन्दुले केही समयअघि मात्र स्नातकोत्तरको पढाइ सकिन् ।
बिन्दुलाई घर स्याहार्न, सजावट गर्न औधी मनपर्छ । किनमेल गर्न, घरधन्दा गर्न, लुगाफाटो मिलाउन उनलाई कत्ति अल्छी लाग्दैन । ‘श्रीमान्–श्रीमतीबीच समझदारी हुनु जरुरी हुन्छ । श्रीमान् निकै व्यस्त हुने भएकाले भनेको बेला सँगै बाहिर जान पाइँदैन । घरमा समय दिन पाउनुहुन्न’ बिन्दु भन्छिन्, ‘उहाँलाई सबैले चिन्ने भएकाले सधैं संयमित भएर हिँड्ने र बोल्ने गर्नुपर्ने हुन्छ ।
पहिला जहाँ जाँदा पनि मज्जाले घुम्न पाइन्थ्यो अहिले त्यस्तो हुँदैन ।’
विगतमा यस्तो थिएन । उनीहरू एकसाथ बस्थे, घुमफिर गर्थे । मान्छेले चिन्दैनथे । अहिले त प्रकाशलाई चिन्ने धेरै छन् । त्यसैले उनले निजी जीवनभन्दा बढी सार्वजनिक जीवन बाँच्नुपर्ने हुन्छ । यस्तो अवस्थामा घरपरिवारलाई समय दिन नसक्नु सामान्य नै हो । अहिले धेरै कुरा व्यवस्थित गर्नुपर्ने हुन्छ, सतर्क हुनुपर्ने हुन्छ ।
‘अहिले सँगै धेरै समय बिताउन पाइँदैन । समय मिल्नासाथ पहिला त फिल्म हेर्न निस्कन्छौं त्यसपछि घुम्न’ बिन्दु भन्छिन्, ‘छोरीलाई पनि घुम्न मनपर्छ ।’
उनलाई श्रीमान्ले गाएको ‘गलबन्दी’ गीत मनपर्छ । छोरीले पनि गुनगुनाउँछे । ‘बोलमाया’ गीत मेरो मन छुने गीत हो । मैले अहिलेसम्म पनि यो गीत पूरै हेर्न सकेकी छैन’ उनी भन्छिन्, ‘एकदमै भावुक हुन्छु । यो गीत श्रीमान्को जीवनसँग मिल्दोजुल्दो छ ।’
प्रकाशले आफ्नो करियरको कुरामा वा रुचिको कुरा बिन्दुसँग सरसल्लाह गर्छन् । आफूखुसी केही पनि गर्दैनन् । ‘सबै कुराको मलाई भनेर मात्र निर्णय लिनुहुन्छ । गीत पनि मलाई सुनाउनुहुन्छ कस्तो छ भनेर सोध्नुहुन्छ । कमेन्ट गर्छु । गीतको काम गर्ने बेला ‘म एकोहोरो हुन्छु मलाई डिस्टर्ब नगर्नू भन्नुहुन्छ ।’
यद्यपि प्रकाशका कतिपय बानी बिन्दुलाई मन पर्दैनन् । जस्तो कि, कुनै पनि कुरा एकदमै गहिरिएर सोच्ने । गम्भीरतापूर्वक लिने । मोबाइलमा एकदमै व्यस्त हुने । धेरै समय के–के सोचेरै बसिरहने । यसैगरी कुनै पनि कुरा छिटो भुल्न नसक्ने । बाहिर अरुसँग अन्तर्वार्ता दिनुपर्ने, बोल्नुपर्ने भएकाले घरमा पनि औपचारिक भएर बस्नुपर्ने । यस्तो बानी बिन्दुलाई मन पर्दैन ।
सीता तिमल्सिना (केदार घिमिरे)

केदार घिमिरे वा माग्ने बूढालाई धेरैले चिन्छन् । उनको प्रस्तुतिले धेरैलाई हँसाउँछ । माग्ने बूढासँग काठमाडौंमा आफ्नै मेहनतले जोडेको घर, गाडी,
प्रतिष्ठा र आयआर्जन छ । तर, हिँजोको दिनमा यस्तो कहाँ थियो र ?
सडक पेटीमा बसेर खुद्रा सामग्री बेच्थे । कहिले टेम्पु चलाउँथे । कहिले सानो सटरमा बसेर विद्युतीय सामग्री बनाउँथे । दुःखका ती दिनमा पनि जीवनसाथी सीता तिमल्सिनाले उनलाई साथ दिइरहिन् । अभाव र संघर्षमा दुवैले एक–अर्काको काँध थापे । उनलाई यो भनाइ सत्य लाग्छ, श्रीमान्–श्रीमती भनेका एउटै रथका दुई पाङ्ग्रा हुन् । दुवैले सन्तुलन मिलाएमा रथ कुँद्छ, नभए त यात्रा अगाडि बढ्दैन ।
हास्य कलाकारितामा संघर्ष गर्दै केदारले ठूलो सफलता हासिल गरे । टेलिभिजन, ठूलोपर्दादेखि देश–विदेशका स्टेजमा उनको माग बढ्यो । बालबच्चादेखि बूढापाकासम्म सबैले उनलाई चिने । उनको यो सफलताको पछाडि एउटा ऊर्जा बनेर बसेकी थिइन्, सीता । आम्दानीको स्रोत केही नहुँदा, अभावै अभाव हुँदा, कोठा भाडा तिर्नु, छोराछोरी पढाउनु, खानेकुरा जुटाउनुजस्ता समस्या थिए । विगत सम्झिदै सीता भन्छिन्, ‘उहाँ कलाकार बन्न चाहनुहुन्थ्यो । उहाँले आफू कलाकार बन्न चाहेको कुरा मलाई भन्नुभयो । हामीले सल्लाह गर्यौं, मलाई पनि कलाकारितामै राम्रो हुन्छ जस्तो लाग्यो । त्यतिबेला मैले पसल चलाउन थालें ।’
सीताले पसल र घरव्यवहार सम्हाल्न थालिन् । केदार भने कलाकारितामा संघर्ष गर्न थाले । सीता भन्छिन्, ‘पसलको आम्दानीले सबै घरव्यवहार मिलाउँथें । उहाँलाई पनि खर्च दिन्थें । तर गाह्रो भने थियो । यहाँसम्म आइपुग्न हामीले एकदमै संघर्ष गर्नुपर्यो र अझै पनि गरिरहेका छौं ।’ कडा परिश्रम र निरन्तर प्रयासले उनीहरूको सपना पूरा भयो । श्रीमान् चर्चित कलाकार बने । आयआर्जनको बाटो चौतर्फी खुल्यो ।
अहिले श्रीमान् एकदम व्यस्त भए । घरपरिवारमा समय दिन पाउँदैनन् । कतै घुमफिर गर्ने मेलोमेसो जुर्दैन । कुनै सार्वजनिक ठाउँमा एकसाथ हिँड्नुपरेमा सबैले चिन्छन् । बोलाउँछन्, फोटो खिच्छन् । त्यसैले पनि काम नभएको बेला घरभित्रै बस्नुपर्ने बाध्यता छ । ‘उहाँसँग समय भयो भने हामीलाई दिनुहुन्छ । समय मिले नेपाली चलचित्र हेर्न जान्छौं । हामी दुवै नेपाली कला, भाषा, संस्कृतिलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छौं’ सीता भन्छिन् ।
त्यसो त अहिले सीता पनि कलाकारितामा लागेकी छन् । श्रीमान्ले आफूलाई पनि यस क्षेत्रमा लाग्न प्रेरित गरेको उनको भनाइ छ । सीता खुसीसाथ भन्छिन्, ‘२१ वर्ष लाग्यो वैवाहिक बन्धनमा बाँधिएको । माग्ने बूढा भएर दर्शकमाझ चिनिएकाले माग्ने बूढाको भूमिका एकदमै मनपर्छ । एक–अर्काका गल्ती एवं कमी–कमजोरी औंल्याउँदै हामीले अभिनय गरेको चलचित्र वा टेलिचलचित्र सँगै बसेर हेर्छौं । आवश्यकतानुसार सल्लाह–सुझाव पनि दिन्छौं ।’