मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
फेसन के हो ?
फेसनले हरेक फरक व्यक्तित्वको पहिचान प्रस्तुत गर्छ । हजारौंको भीडमा कुनै व्यक्ति कसरी अरूभन्दा भिन्न भन्ने देखाउँछ । साथै मानिसको व्यक्तित्वको अनुमान गर्न पनि फेसनले सहयोग गर्छ ।
नेपाली फेसन डिजाइनिङको स्तर कहाँ देख्नुहुन्छ ?
प्रत्येक घरमा फेसनप्रति सचेतना बढ्नुका साथै डिजाइनिङप्रति मानिसको चाहना पनि बढ्दो छ । यहाँका पहिरनमा देखिने कलात्मक प्रस्तुतिले नेपाली फेसन डिजाइनिङको गुणस्तरमा वृद्धि भएजस्तो लाग्छ ।
डिजाइनिङ र स्टाइलिङमा के फरक छ ?
स्टाइल र फेसन उस्तै लागे तापनि यी दुई भिन्न छन् । स्टाइलले बाहिरी आवरण वा प्रस्तुति भन्ने बुझिन्छ । डिजाइनिङले बाहिरी आवरणसँगै उद्देश्य र विस्तृतीकरणका साथ गरिने योजना भन्ने बुझिन्छ ।
अरूलाई स्टाइलिस बनाउने मान्छे आफू स्टाइलिस देखिन के गर्नुहुन्छ ?
म फेसन, सौन्दर्य तथा शिक्षण पेसामा समेत संलग्न भएकाले न्यूट्र्रल मेकअप र सेमी फर्मल पहिरनमा बढी सहज महसुस गर्छु । त्यही किसिमका पहिरन म लगाउँछु ।
नेपाली फेसन सेन्समा तपाईंले देख्नुभएको त्रुटि के हो ?
फेसनको नाममा चारभन्दा बढी रंगका पहिरन एकैचोटी प्रयोग गर्ने र शारीरिक बनावटअनुसार पहिरन नमिलाई लगाउँदा शारीरिक बनावटमा भएका कमी–कमजोरीलाई झनै दर्साउँछ । यही नै त्रुटि हो जस्तो लाग्छ ।
कसका लागि कस्तो डिजाइनिङ गर्ने रहर छ ?
नायिका प्रियंका कार्कीका लागि एभान्ट–ग्रेड डिजाइन गर्ने रहर छ ।
स्टाइलिस्ट सेलिब्रेटी ? किन ?
प्रियंका कार्की । जसरी उहाँ प्रस्तुत हुनुहुन्छ त्यो एकदमै आकर्षक र सुरुचिपूर्ण लाग्छ ।
अप्ठ्यारो लाग्ने ड्रेसअप गरेको कुनै क्षण ? कुन इभेन्टमा के लगाउनुभएको थियो ?
सन् २०१८ मोडल हन्ट नेपाल इभेन्टमा डिजाइनरहरूका लागि सल्लाहकारका रूपमा आबद्ध थिएँ । उक्त इभेन्टमा मैले सुनौलो र कालो रंगको अफ सोल्डर ड्रेस, हिपको दुवैतर्फ टेल जुन अगाडि ल्याएर बाँध्ने डिजाइन थियो तर अगाडि बाँध्दा अलि अप्ठ्यारो लागेको थियो । अहिले सम्झिदा हाँसो उठ्छ ।
मेकअपमा तपाईंलाई सबैभन्दा बढी मनपर्ने पक्ष के हो ?
मेकअप मेरो जीवनको रमाइलो पाटो हो । मेकअप गर्दा खुसी र आत्मविश्वासी महसुस गर्छु । आफ्नो मेकअप गर्दा ब्लस सधै लगाउँछु । यसले प्राकृतिक, सुन्दर र स्वस्थ देखाउँछ ।
कुनै एउटै सौन्दर्य प्रसाधन जसको अभावमा तपाईंले गरेको मेकअप अधूरो हुन्छ ?
फल्स ल्यासेज, यो बिना मेकअप अधूरो देखिन्छ ।
कुनै तीनवटा सौन्दर्य प्रसाधन जसको प्रयोगबिना महिला घरबाहिर निस्कदैनन् ?
मोइस्चराइजर, सन ब्लक क्रिम, लिपिस्टिक ।
कुनै महत्वपूर्ण सौन्दर्यमन्त्र जुन सम्पूर्ण महिलालाई तपाईं सुझाव दिन चाहनुहुन्छ ?
मेरा लागि सौन्दर्य भनेको स्वस्थ जीवन अनि सकारात्मक सोच हो । त्यसैले सम्पूर्ण महिलालाई भरपूर मात्रामा पानी पिउन, छालाको हेरचाह गर्न र दैनिक शारीरिक व्यायाम गर्न सल्लाह दिन चाहन्छु ।