Successfully Copied

मिस नेपाल अनुष्काबारे  आमा मुक्ता

दुई दशकदेखि फेसन डिजाइनरमा लागिरहेकी फेसन डिजाइनर हुन्–मुक्ता श्रेष्ठ । ढाकालाई फेसनमा भित्र्याउनुमा मुक्ता श्रेष्ठको हात धेरै छ । उनै फेसन डिजाइनर मुक्ताकी जेठी छोरी हुन्–मिस नेपाल अनुष्का ।

दुई दशकदेखि फेसन डिजाइनरमा लागिरहेकी फेसन डिजाइनर हुन्–मुक्ता श्रेष्ठ । ढाकालाई फेसनमा भित्र्याउनुमा मुक्ता श्रेष्ठको हात धेरै छ । उनै फेसन डिजाइनर मुक्ताकी जेठी छोरी हुन्–मिस नेपाल अनुष्का । मिस वल्र्डका लागि लन्डनमा उडेपछि अनुष्काका बारेमा उनकै आमासँग नारीकी सिर्जना दुवालसँग गरेको कुराकानी । 

बाल्यकालमा अनुष्का कस्ती थिइन् ? उनको स्वभाव, उनको रुचि, उनी के बन्छु भन्थिन् ?

सानैदेखि एक्टिभ खालकी थिइन् । रमाइलो गर्ने र धेरै बोलिराख्न मन पराउँथिन् । उनलाई क्यारिकेचर गरिराख्न मनपर्छ ।

 

बाल्यकालमा त टमब्वाई जस्ती थिइन् भनिन्थ्यो नि ?

बाल्यकालमा अनुष्काभन्दा मेरी कान्छी छोरी चाहिँ टमब्वाई जस्ती थिइन् । अनुष्का भने विन्दास स्वभावकी चिटिक्क परेर हिँड्न नपर्ने खालकी हुन् । उनी सञ्जय दत्तको स्टाइलमा हिँड्थिन्, जुन उनमा अझै बाँकी छ ।

पढाइमा उनी कस्ती थिइन् ?

पढाइमा एकदमै राम्री विद्यार्थी थिइन् । उनले छात्रवृत्ति पाएर पढेकी हुन् । प्लस टु पढ्दा उत्कृष्ट विद्यार्थीका रूपमा अल राउन्डर अवार्ड पनि हात पारेकी थिइन् । त्यसपछि अस्ट्रेलियामा पढ्दा (DEAN) छात्रवृत्ति पाएकी थिइन् । साथै यूरोपको भ्याटिकन सिटीमा भ्याटिकन ट्रेजरमा इन्टर्नसीप गर्ने मौका पनि पाएकी थिइन् । समग्रमा भन्नुपर्दा पढाइमा राम्री छिन् ।

अनुष्काका आमाबुवामध्ये कोसँग बढी एटेचमेन्ट थियो ?

शतप्रतिशत मैसँग मिल्छ, हरेक कुरा मलाई भन्न हतारिन्छिन् ।

उनमा यस्तो पेजेनमा भाग लिने रहर कहिलेदेखि आएको हो ? 

उनलाई रियालिटी शो हेर्न मन पथ्र्यो । मुभी पनि खुबै हेर्थिन् । कुनै पेजेनहरू आउँदा पूरै हेरेर बस्थिन् । प्रश्नोत्तर राउन्ड हेर्दा यदि म भएको भए मैले यो उत्तर दिन्थें भनेर मलाई सुनाइरहेकी हुन्थिन् । त्यसैले मलाई उनमा यस्ता पेजेनहरूप्रति रुचि सानैदेखिकै हो जस्तो लाग्छ ।

मिस नेपालमा भाग लिन्छु भनेर तपाईंलाई कहिले भनिन् ?

उनी १८ वर्षकी हुँदा मलाई मिस नेपालमा जान मन छ भनिन् । तर त्यतिबेला मैले सपोर्ट गरिन । १८ वर्षको उमेरमा त्यति परिपक्वता आएको हुन्न । पढाइ र अनुभवले राम्रो हुन्छ, यो उमेर सही होइन भनेर मैले सम्झाएँ । मेरो कुरा मानेर उनी पढाइतिरै लागिन् । गत वर्ष पुन: मिस नेपालमा फर्म भरौं भन्दा पनि अस्ट्रेलियामा राम्रो बैंकमा काम गरिरहेको पढाइ पनि राम्रो भएकाले पुन: स्वीकृति दिइन् । त्यसको दुई महिनापछि अस्ट्रलियामै मिस ओसियानामा भाग लिने इच्छा राखिन् । मेरो स्वीकृतिपछि भाग लिएर उपाधि पनि हात पारिन् । ओसियानामा जितेकीले स्वत : मिस नेपालको २० मा परेकी हुन् । 

फेसन डिजाइनरका नाताले अनुष्का कत्तिको फेसन कन्सेस छन् जस्तो लाग्छ ?

उनी विन्दास देखिने भए पनि उनलाई स्टाइलिङ र ड्रेसिङमा रुचि थियो । परिपक्वतासँगै उनमा फेसन कन्सेस अझ राम्रो हुँदै गएजस्तो लाग्छ । 

उनलाई कस्ता पहिरन सुहाउँछन् जस्तो लाग्छ ?

उनलाई स्मार्ट कर्पोरेट लुक्स बढी सुहाउँछ जस्तो लाग्छ ।

मिस नेपाल भएपछि उनमा आएको परिवर्तन ?

अहिले फोकस नै मिस वल्र्डमा भएकाले उनी त्यसमै शत प्रतिशत ध्यान दिइरहेकी छिन् । व्यस्त भएकीले पर्सनल लाइफमा छलफल गर्न पाएका छैनौं । मिस नेपालको उपाधि सँगै उनमा धैर्य गरेर अघि बढ्ने क्षमता बढेजस्तो लाग्छ । 

उनका केही कमी–कमजोरी छन् कि ?

उनी सेन्सिटिभ छिन् । एकदमै छिटो विश्वास गरिहाल्ने, बाहिरबाट अरूले हेर्दा कडा देखिए पनि उनी एकदमै सफ्ट छिन् । उनको यो कमजोरीले उनी धेरै पटक चित्त दुखाउँछिन् । 

मिस वल्र्डका लागि तयार गरेको ब्युटी विथ प्रपोजका बारेमा केही बताइदिनुहोस् न ?

सिन्धुपाल्चोक सोल्सिङ गाउँका बारेमा बनाएकी छिन् । त्यो गाउँमा जम्मा १ सय २० परिवार छन् । पुरुषहरू सबै बिदेसिएका छन् भने महिला र बच्चाहरू मात्रै गाउँमा छन् । जहाँ १ सय ४० जना बालबालिका छन् । ती बालबालिकाले कक्षा ७ पछि आफ्नो पढाइलाई निरन्तरता दिएका छैनन् । कारण उक्त गाउँमा माध्यमिक विद्यालय छैन । अनुष्काले ब्युटी विथ प्रपोजका लागि उठाएको पैसाले स्कुल नजिक होस्टेलमा बस्ने व्यवस्था गरिदिएकी छिन् । दुई वर्षका लागि बच्चालाई छात्रवृत्ति पनि दिएकी छिन् । साथै म्यानेजमेन्ट पढेकी हुनाले उनले स्थानीय आमाहरूलाई सीप तालिम दिएर आय आर्जनको बाटो खुलाइदिएकी छिन् । 

मिस नेपाल हुँदा उनले पहिलो खुसी कसरी पोखेकी थिइन् ?

मिस नेपाल अनुष्काको भ्वाइस धेरै मानिसमा पर्छ । म समाजसेवामा लाग्छु ।

 Image