प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
व्यावसायिक रूपमा सफल मानिएको चलचित्र कुन होला ? एक वर्षयताको तथ्यांक हेर्दा त्यति उत्साहित हुन सकिँदैन । करिब सयको हाराहारीमा प्रदर्शन भएका चलचित्रमध्ये अधिकांशले लगानीसमेत उठाउन सकेनन् । यद्यपि यसबीच औंलामा गन्न सकिने केही यस्ता चलचित्र प्रदर्शनमा आए, जसले लोभलाग्दो व्यापार गरे । ती चलचित्र थिए–छक्का पञ्जा तथा ए मेरो हजुर–३ । यी दुईको आँकडालाई छुन नसके पनि व्यावसायिक रूपमा सन्तोषजनक मानिएको अर्का चलचित्र थिए, इन्टु मिन्टु लन्डनमा तथा मालिका ।
रमाइलो संयोग मान्नुपर्छ, यी सबै चलचित्रका निर्देशक महिला हुन् । छक्का–पञ्जा–३ दीपाश्री निरौलाले, ए मेरो हजुर–३ झरना थापाले, इन्टु मिन्टु लन्डनमा रेनेसा वान्तवा राईले तथा मालिका रेखा थापाले निर्देशन गरेका थिए ।
निर्देशक भनेका सम्पूर्ण चलचित्रकै कप्तान हुन् । यस हिसाबले नेपाली चलचित्रको कप्तानी अहिले महिलाहरूले हाँकिरहेका छन् । यसअघिको अवस्था हेर्ने हो भने, नेपाली चलचित्रमा महिलाको उपस्थिति कमजोर थियो । सहायक कलाकार र अभिनेतृबाहेक स्पट ब्वाईदेखि सिनेम्याटोग्राफरसम्म पुरुष हुन्थे । अब चलचित्रमा पुरुषको वर्चश्व तोडिँदैछ । महिलाहरूको उपस्थिति बढेको माक्र होइन, सशत्त पनि हुँदै गएको छ ।
पुरुष वर्चश्व रहँदै पनि महिलाको मर्मलाई चलचित्रले बेवास्ता भने गरेको छैन । छ दशक लामो इतिहासमा नेपाली चलचित्रले अनगिन्ती यस्ता कथा भने, जहाँ महिला हिंसा, उत्पीडन, वेदनादेखि उनीहरूको सामर्थ्य र महत्व दर्शाइएको थियो । नेपालमै बनेको नेपाली भाषाको पहिलो चलचित्र ‘आमा’ थियो । त्यसपछिका दिनमा ‘माइतीघर’ देखि ‘झोला’ हुँदै ‘मालिका’ सम्मले महिलाकै कथा भने ।
त्यसो त चलचित्रमा महिला अनिवार्य मानिन्छ । खासगरी अभिनेतृको भूमिकामा महिलालाई उतारिन्छ । यद्यपि उनको भूमिका केवल पुरुष पात्र अर्थात् अभिनेतालाई बलियो र शक्तिशाली बनाउनमा सीमित हुन्थ्यो । नेपाली चलचित्रमा अक्सर अभिनेतृलाई निरीह, कमजोर तथा असुरक्षित देखाइन्छ । तिनै कमजोर र असुरक्षित अभिनेतृको सुरक्षा कवच बनाएर अभिनेताको पुरुषार्थ प्रस्तुत गरिन्छ । यस्तो पृष्ठभूमिमा महिलाहरू नै चलचित्रको सारथी बन्नुले खास अर्थ र महत्व राख्छ ।
महिला निर्देशकको सिलसिला
नेपाली चलचित्रले महिला निर्देशक पाउन ३६ वर्ष कुर्नुपर्यो । २०५८ सालमा सुचित्रा श्रेष्ठले ‘प्रेमयुद्ध’ को निर्देशन गरेपछि नेपाली चलचित्रमा महिला निर्देशकको युग सुरु भयो । यद्यपि उनीपछि लामो समयसम्म अरू महिलाले चलचित्र निर्देशन गर्ने हिम्मत जुटाएनन् ।
अभिनेतृकै रूपमा छाइरहेका रेखा थापा र दीपाश्री निरौलाले निर्देशनको जिम्मेवारी सम्हालेपछि मात्र अरू महिला निर्देशक थपिए । ‘मेघा’ बाट सम्झना रौनियार उप्रेती आइन् । ‘हाउ फन्नी’ बाट नीलु डोमा शेर्पा, ‘अन्तराल’ बाट दीपा बस्नेत, ‘काफल पाक्यो’ बाट सावित्री खत्री, ‘द गेम’ बाट रक्षा सिंह राणा निर्देशनको मैदानमा ओर्लिए ।
हिम्मतवाला निर्देशक
रेखा थापाले चलचित्र निर्देशन गर्ने खबरसँगै उनको दक्षतामाथि संशय गरियो । उनले ‘हिम्मतवाली’ निर्देशन गरिन् । यही चलचित्रले पुष्टि गरिदियो कि, रेखासँग अभिनय मात्र होइन निर्देशकीय खुबी पनि उत्तिकै छ । दीपकराज गिरीको जोडी बनेर रेडियो नाटकदेखि हास्य टेलिशृंखलासम्ममा छाएकी दीपाश्री निरौला पछिल्लो समय सर्वाधिक सफल निर्देशकको सूचीमा छिन् । किनभने अहिलेको मितिसम्म उनी निर्देशित चलचित्रले यसअघिका सबै रेकर्ड तोडिदिएको छ, खासगरी कमाइको हिसाबले । ब्लकबस्टर चलचित्रकी यी निर्देशकलाई पनि सुरुवाती दिनमा त्यति पत्याइएन । ‘दीपाश्रीको त नाममात्र हो’ भन्ने आशयका टीकाटिप्पणी गर्दै उनको क्षमतालाई नजरअन्दाज गरियो । यद्यपि एकपछि अर्को चलचित्रको कप्तानी सम्हालेर उनले आफ्नो निर्देशकीय क्षमता साबित गरेरै छाडिन् ।
कोरियोग्राफरका रूपमा परिचित रेनेशा बान्तवा राईले पहिलो चलचित्रबाटै आफ्नो शक्ति देखाइन् । उनले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ व्यावसायिक रूपले सफल मात्र भएन, वर्षभरका उत्कृष्ट १० चलचित्रमा समावेश पनि भयो । यही चलचित्रले अभिनेता धीरज मगरलाई उचाइमा पुर्यायो । उनले नव प्रवेशी नायकको अवार्ड मात्र हात पारेनन्, नेपाली चलचित्रमा आफ्नो माग पनि बढाए । रेनेशा अहिले आफ्नो दोस्रो चलचित्रको तयारीमा छिन् । उनको चलचित्रको नाम जुराइएको छ–आइ एम ट्वान्टी वान ।
के फरक पार्छ ?
चलचित्र निर्माणमा पुरुष प्रधानता हुन्छ, स्क्रिप्टराइटरदेखि स्पटब्वाईसम्म । मेकअप म्यानदेखि सम्पादकसम्म । यद्यपि उनीहरूले नारीप्रधान चलचित्र पनि बनाउँछन्, बनाइरहेकै छन् । महिलालाई केन्द्रीय चरित्रमा उतारेर महिलाबाट महिलाकै कथा पनि भनिएका छन् । यस हिसाबले चलचित्रमा पुरुष निर्देशक हुँदैमा लिंगभेद हुन्छ भन्ने तर्क गर्न सकिँदैन । त्यसो भए निर्देशकका रूपमा महिलाको उपस्थिति बढ्नुले के अर्थ राख्छ ?
चलचित्रमा महिला निर्देशकको उपस्थिति हुनु आफैमा एउटा सुखद् लक्षण हो, जसले महिलाको आत्मविश्वास, शक्ति र सिर्जनशीलता दर्शाउँछ । पितृसत्तात्मक समाजमा, पुरुष बाहुल्य रहेको क्षेत्रमा महिलाको कप्तानी स्वीकार गर्नुलाई पनि एउटा परिवर्तनका रूपमा लिन सकिन्छ ।
हो, पुरुष निर्देशकले पनि महिलाको कथालाई चलचित्रमा प्रस्तुत गरेका थिए । महिलाको आँखाबाट देखिने समाज र पुरुषको आँखाबाट देखिने समाज फरक हुनसक्छ । महिला निर्देशकले आफ्नो आँखाबाट देखिने समाजलाई पर्दामा उतार्न सक्छिन्, जहाँ उनको भोगाइ र बुझाइ पनि घुलनशील हुन्छ ।