Successfully Copied

चलचित्रका महिला सारथी

निर्देशक भनेका सम्पूर्ण चलचित्रकै कप्तान हुन् । यस हिसाबले नेपाली चलचित्रको कप्तानी अहिले महिलाहरूले हाँकिरहेका छन् । यसअघिको अवस्था हेर्ने हो भने, नेपाली चलचित्रमा महिलाको उपस्थिति कमजोर थियो । सहायक कलाकार र अभिनेतृबाहेक स्पट ब्वाईदेखि सिनेम्याटोग्राफरसम्म पुरुष हुन्थे । अब चलचित्रमा पुरुषको वर्चश्व तोडिँदैछ ।

व्यावसायिक रूपमा सफल मानिएको चलचित्र कुन होला ? एक वर्षयताको तथ्यांक हेर्दा त्यति उत्साहित हुन सकिँदैन । करिब सयको हाराहारीमा प्रदर्शन भएका चलचित्रमध्ये अधिकांशले लगानीसमेत उठाउन सकेनन् । यद्यपि यसबीच औंलामा गन्न सकिने केही यस्ता चलचित्र प्रदर्शनमा आए, जसले लोभलाग्दो व्यापार गरे । ती चलचित्र थिए–छक्का पञ्जा तथा ए मेरो हजुर–३ । यी दुईको आँकडालाई छुन नसके पनि व्यावसायिक रूपमा सन्तोषजनक मानिएको अर्का चलचित्र थिए, इन्टु मिन्टु लन्डनमा तथा मालिका ।

रमाइलो संयोग मान्नुपर्छ, यी सबै चलचित्रका निर्देशक महिला हुन् । छक्का–पञ्जा–३ दीपाश्री निरौलाले, ए मेरो हजुर–३ झरना थापाले, इन्टु मिन्टु लन्डनमा रेनेसा वान्तवा राईले तथा मालिका रेखा थापाले निर्देशन गरेका थिए । 

निर्देशक भनेका सम्पूर्ण चलचित्रकै कप्तान हुन् । यस हिसाबले नेपाली चलचित्रको कप्तानी अहिले महिलाहरूले हाँकिरहेका छन् । यसअघिको अवस्था हेर्ने हो भने, नेपाली चलचित्रमा महिलाको उपस्थिति कमजोर थियो । सहायक कलाकार र अभिनेतृबाहेक स्पट ब्वाईदेखि सिनेम्याटोग्राफरसम्म पुरुष हुन्थे । अब चलचित्रमा पुरुषको वर्चश्व तोडिँदैछ । महिलाहरूको उपस्थिति बढेको माक्र होइन, सशत्त पनि हुँदै गएको छ । 

पुरुष वर्चश्व रहँदै पनि महिलाको मर्मलाई चलचित्रले बेवास्ता भने गरेको छैन । छ दशक लामो इतिहासमा नेपाली चलचित्रले अनगिन्ती यस्ता कथा भने, जहाँ महिला हिंसा, उत्पीडन, वेदनादेखि उनीहरूको सामर्थ्य र महत्व दर्शाइएको थियो । नेपालमै बनेको नेपाली भाषाको पहिलो चलचित्र ‘आमा’ थियो । त्यसपछिका दिनमा ‘माइतीघर’ देखि ‘झोला’ हुँदै ‘मालिका’ सम्मले महिलाकै कथा भने । 

त्यसो त चलचित्रमा महिला अनिवार्य मानिन्छ । खासगरी अभिनेतृको भूमिकामा महिलालाई उतारिन्छ । यद्यपि उनको भूमिका केवल पुरुष पात्र अर्थात् अभिनेतालाई बलियो र शक्तिशाली बनाउनमा सीमित हुन्थ्यो । नेपाली चलचित्रमा अक्सर अभिनेतृलाई निरीह, कमजोर तथा असुरक्षित देखाइन्छ । तिनै कमजोर र असुरक्षित अभिनेतृको सुरक्षा कवच बनाएर अभिनेताको पुरुषार्थ प्रस्तुत गरिन्छ । यस्तो पृष्ठभूमिमा महिलाहरू नै चलचित्रको सारथी बन्नुले खास अर्थ र महत्व राख्छ । 

महिला निर्देशकको सिलसिला 

नेपाली चलचित्रले महिला निर्देशक पाउन ३६ वर्ष कुर्नुपर्‍यो । २०५८ सालमा सुचित्रा श्रेष्ठले ‘प्रेमयुद्ध’ को निर्देशन गरेपछि नेपाली चलचित्रमा महिला निर्देशकको युग सुरु भयो । यद्यपि उनीपछि लामो समयसम्म अरू महिलाले चलचित्र निर्देशन गर्ने हिम्मत जुटाएनन् । 

अभिनेतृकै रूपमा छाइरहेका रेखा थापा र दीपाश्री निरौलाले निर्देशनको जिम्मेवारी सम्हालेपछि मात्र अरू महिला निर्देशक थपिए । ‘मेघा’ बाट सम्झना रौनियार उप्रेती आइन् । ‘हाउ फन्नी’ बाट नीलु डोमा शेर्पा, ‘अन्तराल’ बाट दीपा बस्नेत, ‘काफल पाक्यो’ बाट सावित्री खत्री, ‘द गेम’ बाट रक्षा सिंह राणा निर्देशनको मैदानमा ओर्लिए । 

हिम्मतवाला निर्देशक

रेखा थापाले चलचित्र निर्देशन गर्ने खबरसँगै उनको दक्षतामाथि संशय गरियो । उनले ‘हिम्मतवाली’ निर्देशन गरिन् । यही चलचित्रले पुष्टि गरिदियो कि, रेखासँग अभिनय मात्र होइन निर्देशकीय खुबी पनि उत्तिकै छ । दीपकराज गिरीको जोडी बनेर रेडियो नाटकदेखि हास्य टेलिशृंखलासम्ममा छाएकी दीपाश्री निरौला पछिल्लो समय सर्वाधिक सफल निर्देशकको सूचीमा छिन् । किनभने अहिलेको मितिसम्म उनी निर्देशित चलचित्रले यसअघिका सबै रेकर्ड तोडिदिएको छ, खासगरी कमाइको हिसाबले । ब्लकबस्टर चलचित्रकी यी निर्देशकलाई पनि सुरुवाती दिनमा त्यति पत्याइएन । ‘दीपाश्रीको त नाममात्र हो’ भन्ने आशयका टीकाटिप्पणी गर्दै उनको क्षमतालाई नजरअन्दाज गरियो । यद्यपि एकपछि अर्को चलचित्रको कप्तानी सम्हालेर उनले आफ्नो निर्देशकीय क्षमता साबित गरेरै छाडिन् । 

कोरियोग्राफरका रूपमा परिचित रेनेशा बान्तवा राईले पहिलो चलचित्रबाटै आफ्नो शक्ति देखाइन् । उनले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ व्यावसायिक रूपले सफल मात्र भएन, वर्षभरका उत्कृष्ट १० चलचित्रमा समावेश पनि भयो । यही चलचित्रले अभिनेता धीरज मगरलाई उचाइमा पुर्‍यायो । उनले नव प्रवेशी नायकको अवार्ड मात्र हात पारेनन्, नेपाली चलचित्रमा आफ्नो माग पनि बढाए । रेनेशा अहिले आफ्नो दोस्रो चलचित्रको तयारीमा छिन् । उनको चलचित्रको नाम जुराइएको छ–आइ एम ट्वान्टी वान । 

के फरक पार्छ ?

चलचित्र निर्माणमा पुरुष प्रधानता हुन्छ, स्क्रिप्टराइटरदेखि स्पटब्वाईसम्म । मेकअप म्यानदेखि सम्पादकसम्म । यद्यपि उनीहरूले नारीप्रधान चलचित्र पनि बनाउँछन्, बनाइरहेकै छन् । महिलालाई केन्द्रीय चरित्रमा उतारेर महिलाबाट महिलाकै कथा पनि भनिएका छन् । यस हिसाबले चलचित्रमा पुरुष निर्देशक हुँदैमा लिंगभेद हुन्छ भन्ने तर्क गर्न सकिँदैन । त्यसो भए निर्देशकका रूपमा महिलाको उपस्थिति बढ्नुले के अर्थ राख्छ ? 

चलचित्रमा महिला निर्देशकको उपस्थिति हुनु आफैमा एउटा सुखद् लक्षण हो, जसले महिलाको आत्मविश्वास, शक्ति र सिर्जनशीलता दर्शाउँछ । पितृसत्तात्मक समाजमा, पुरुष बाहुल्य रहेको क्षेत्रमा महिलाको कप्तानी स्वीकार गर्नुलाई पनि एउटा परिवर्तनका रूपमा लिन सकिन्छ । 

हो, पुरुष निर्देशकले पनि महिलाको कथालाई चलचित्रमा प्रस्तुत गरेका थिए । महिलाको आँखाबाट देखिने समाज र पुरुषको आँखाबाट देखिने समाज फरक हुनसक्छ । महिला निर्देशकले आफ्नो आँखाबाट देखिने समाजलाई पर्दामा उतार्न सक्छिन्, जहाँ उनको भोगाइ र बुझाइ पनि घुलनशील हुन्छ । 

 

 Image