देउसी–भैलो खेल्ने चलन धेरै पुरानो हो । पहिले मूलत: पूर्वी एवं मध्य पहाडमा खेलिने देउसी–भैलो अहिले तराईमा तथा पश्चिम नेपालमा देउडा भाकामा समेत खेल्न थालिएको छ । तिहार आएपछि गाउँघरमा टोलटोलका युवाहरू मिलेर देउसी–भैलो खेल्थे । चोली, साडी, दौरा आदि लगाई नाच्दै, गीत गाउँदै देउसी–भैलो खेलिन्थ्यो, तर अहिले आधुनिकीकरणसँगै देउसी–भैलोमा पनि परिवर्तन आएको छ । कोही साथीभाइ मिलेर त कोही कुनै संस्थाको सहयोगार्थ पैसा उठाउन देउसी–भैलो खेल्ने चलन बढेको छ । अहिले जस्तो धेरै सञ्चार माध्यम नहुँदा कलाकारहरू रेडियो नेपालमा गएर देउसी–भैलो रेकर्ड गराउँथे भने साथीभाइ मिलेर टोलटोलमा गएर भैलिनी गाउँथे ।
तीन दशकअघिकै कुरा गर्दा पनि गायिकाहरू मीरा राणा, ज्ञानु राणा, मथुरा प्रधान, कविता आले आदि सक्रिय थिए । त्यतिबेला एल्बम निकाल्ने चलन थिएन । रेडियोमा रेकर्ड गरिएका गीत नै हरेक तिहारमा बजाइन्थ्यो । महिलाहरूले भैली राम तथा पुरुषहरूले देउसी रे भट्याउँथे । कलाकारकै समूह–समूह बनाई कुनै संस्था, प्रतिष्ठित व्यक्तिहरूको घर–घरमा गएर देउसी–भैलो खेल्ने चलन थियो । गायन तथा संगीत टोलीहरू मिलेर भैलिनी भाका गाउँदा तिहारको वातावरण अझ उत्साहित हुन्छ । त्यतिबेला देउसी पुरुषले खेल्ने र भैली महिलाहरूले मात्र खेल्ने भन्ने थियो तर अहिले भैलीमा पनि पुरुषकै अतिक्रमण बढ्दो छ । महिलाहरूमा त्यसरी समूह बनाई छुट्टै भैली खेल्नेहरू पनि निकै कम देखिन्छन् ।
बक्स
कोमल वली
समयअनुसार देउसी–भैलो गाउने शैली परिवर्तन हुँदैछ । परम्परागत देउसी–भैलोको भाका परिवर्तन हुँदैछ । अहिले देउसी–भैलोका भाकाभन्दा पनि तिहारसम्बन्धी शब्द समेटेर गीत तयार पार्ने क्रम बढ्दो छ । परम्परागत रूपमा चलिआएका देउसी–भैलोका गीत कमै सुनिन्छन् । मानिसहरूमा संस्कृति जोगाऊँ भन्ने प्रवृत्ति कम हुँदै गएको हो कि ? अहिले धेरैले आफ्नो इच्छाअनुसार यस्ता गीत गाउने गरेका छन् जसले संस्कृतिको प्रतिनिधित्व गर्दैन ।
सबैजसो गायक–गायिका चल्ने किसिमका गीत बनाउन चाहन्छन् । पहिले रेडियो नेपालले देउसी–भैलो रेकर्ड गरेर कलाकारलाई पारिश्रमिक दिन्थ्यो तर अहिले उल्टै कलाकारले पैसा खर्च गरी गीत रेकर्ड गराउनुपर्ने बाध्यता छ जसले गर्दा परम्परा जोगाउनेभन्दा पनि बिक्ने खालका गीत निर्माण हुन्छन् । त्यतिबेला देउसी–भैलोमा गुणात्मकता थियो र संख्या पनि कम थियो तर अहिले संख्या बढेको छ भने गुणात्मकता घटेको छ । यसमा कलाकारको मात्र होइन लगानीकर्ता, संचारमाध्यम, दर्शक, श्रोता, सरकार सबै उत्तिकै जिम्मेवार छन् । मैले थुप्रै देउसी–भैलो गीत गाएकी छु । रेडियो नेपालमा मात्र मेरा १६–१७ वटाजति देउसी–भैलो गीत रेकर्ड छन् । गत वर्ष मैले ‘तिहारैमा जता हेर्यो उतै रमाइलो’ गीतको भिडियो तयार पारेकी थिएँ ।
मञ्जु पौडेल
पहिले तिहार आयो भन्नासाथ सानादेखि ठूला सबैमा देउसी–भैलो खेल्न जाने उत्साह हुन्थ्यो । साथीभाइ, दिदीभाइको समूह–समूह बनाई देउसी–भैलो खेल्न जाँदाको रमाइलो विशेष हुन्थ्यो । त्यतिबेला नाङ्लाभरि सेल, मिठाई, पैसा आदि राखेर दक्षिाणा दिइन्थ्यो र आशिष पनि पाइन्थ्यो तर अहिले देउसी–भैलो स्कृतिमा पनि पैसा कमाउने, चन्दा उठाउने शैली विकसित भएको देख्छु ।
समयको परिवर्तनसँग शब्द, लय र भाकामा परिवर्तन आउनु स्वाभाविक हो तर देउसी–भैलोकै गीत भने त्यति छैनन् । हुन त नेपालमा ठाउँअनुसार लोकभाकामा पनि परिवर्तन देखिन्छ । पश्चिमतिर केटीले देउसी रे, केटाले भैलिनी खेल्थे तर पूर्वमा त्यसको ठीक उल्टो छ । अरू लोकगीतमा जस्तै आफैंले मनगढन्ते शब्दहरू सिर्जना गरेर देउसी–भैलो गाउने चलन बढ्दो छ ।
बद्री पंगेनी
हरेक कुरामा समय, परिस्थितिअनुसार परिवर्तन हुनु स्वाभाविक हो र परिवर्तन आवश्यक पनि छ । देउसी–भैलोमा बाजाको प्रयोगमा फरक, गाउने शैली र भाकामा पनि आधुनिकतालाई मिसाएर गाउने चलन छ । अहिले टिपिकल शब्दहरू हराउँदै गएका छन् । आधुनिक शब्दहरू आइरहेका छन् । देउसी–भैलोको महत्व अझ बढ्दै गएको छ ।
अहिले राम्रोका लागि समूह बनाई विभिन्न संस्था, होटल तथा अफिसतिर गएर देउसी खेलिन्छ । यसरी नयाँ पुस्तामाझ पनि देउसी–भैलोको रौनक उत्तिकै छ । स्कुलहरूमा पनि तिहारमा देउसी रे तथा भैलिनी आइन् आँगनजस्ता गीतमा नाच्न सिकाइन्छ । मानिसहरू समूह बनाई देउसी–भैलो खेल्न जान्छन् । यो राम्रो पक्ष हो । सधैं एउटै खालको गीत गाउनुपर्छ भन्ने पनि छैन तर त्यसको मौलिक सौन्दर्य भने मासिनु हुँदैन ।
राधिका हमाल पुन
पक्कै पनि देउसी–भैलोमा पहिलेजस्तो रौनक छैन । पहिले मानिसहरूसँग पर्याप्त समय हुन्थ्यो र मज्जाले चाडपर्व मनाइन्थ्यो तर अहिले समयको अभाव छ । त्यसैले मज्जाले पर्व मनाउन पाइँदैन । देउसी–भैलोका गीत गाएर, नाचेर रमाइलो गरिने यो पर्व आफ्नो रुचिअनुसार गाउने, बजाउने र पैसाको माग गर्नेजस्ता विकृति बढेका छन् । अब हामीले देउसी–भैलोको परम्परागत भाका जगेर्ना गर्नुपर्छ । हामीजस्ता गायक–गायिकाहरूले त्यही भाका र लयमा कुनै नयाँ सिर्जना दिनुपर्छ । अहिले कतिपय देउसी–भैलो गाईजात्रामा जस्तै घोचपेच गरी गाउने शैलीसमेत विकसित भएको छ ।