Successfully Copied

समय डिजिटल भुक्तानीको

पछिल्लो समय ‘डिजिटल वालेट’को क्रेज बढ्दो छ । पेमेन्ट गर्न सजिलो भएकाले धेरैले यसको प्रयोग गर्छन् । यसो त यसको प्रयोग कोरोना फैलिएसँगै सुरु भएको हो ।

पछिल्लो समय ‘डिजिटल वालेट’को क्रेज बढ्दो छ । पेमेन्ट गर्न सजिलो भएकाले धेरैले यसको प्रयोग गर्छन् । यसो त यसको प्रयोग कोरोना फैलिएसँगै सुरु भएको हो । नोटबाट कोरोना सर्ने सम्भावना बढेको भन्दै डिजिटल पेमेन्टप्रति धेरैको आकर्षण बढ्यो । अहिले नेपालमा मोबाइल बैंकिङ, ‘ई–सेवा’, ‘फोन–पे’, ‘नमस्ते–पे’, ‘आइएमी–पे’ आदि ‘डिजिटल वालेट’ संचालित छन् । 
‘डिजिटल पेमेन्ट’ले मोबाइलको रिचार्ज गर्नदेखि प्लेनको टिकट काट्न पनि सहज भएको बानेश्वरकी रविना आचार्यले बताइन् । उनी दुई वर्षयता ई–सेवा मोबाइल वालेट चलाउँदै आएकी छन् । ई–सेवा नचलाउँदा मोबाइलका लागि रिचार्ज कार्ड किन्न पसल पुग्थिन् उनी । उनले भनिन्, ‘रिचार्ज किन्न पटक–पटक पसल जानुपर्थ्यो अहिले त आफैं मोबाइलबाट गर्न सक्ने भएकी छु ।’ डिजिटल वालेटहरूले समयसँगै पैसाको बचत हुन सहज भएको बताइन् । काठमाडौं बिजुलीबजारकी उर्मिला भट्टराईले कोरोना महामारीपछि ‘फोन–पे’ चलाउन थालिन् । धेरैले मोबाइलमा स्क्यान गरी पैसा तिरेको देख्दा उनलाई पनि रहर लाग्यो । ‘बैंकमा पहिलेदेखि नै पैसा थियो तर चलाउन थालेपछि चाहिँ वालेटको प्रयोग र महत्वबारे थाहा भएको उनले बताइन् । ‘फोन–पे’ चलाउन थालेपछि उनलाई सहज त भएको छ तर सबैतिर प्रयोग गर्न नसक्दा अप्ठ्यारो पनि उनले महसुस गरेकी छन् । केही सीमित पसल र डिपार्टमेन्ट स्टोरमा मात्र संचालन गरेर मात्र प्रविधिमैत्री हुन नसक्ने उनको भनाइ छ । उनले भनिन्, ‘यो प्रविधि सहज त हो तर हरेक क्षेत्रमा नहुँदा अप्ठ्यारो पनि उत्तिकै हुने रहेछ, सीमित ठाउँ र सीमित व्यक्तिले मात्र संचालन गरी डिजिटल पेमेन्टको कुरा गरेर मात्र सम्भव हुँदैन ।’ डिजिटल वालेटहरूले पनि प्रयोगकर्ताहरूलाई आकर्षित गर्नका लागि विभिन्न योजना ल्याएका छन् ।


बैंकहरूले पनि मोबाइल बैंकिङलाई प्राथमिकता दिँदै सेवा–सुविधा बिस्तार गर्दै लगिरहेका छन् । सन् २००५ बाट नेपालमा स्ट्यान्डर्ड चाटर्डले मोबाइल बैंकिङको सुरुवात गरेको हो । बैंकले सुरुवाती समयमा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा जानकारी गराउने सुविधा ल्याएको थियो । त्यसलाई पछ्याउँदै २००६ मा लक्ष्मी बैंकले लन्च गर्‍यो । त्यसबेला ग्राहकहरूले आफ्नो खाताको जानकारी र कारोबार भएको सूचना पाउँथे । यसरी मोबाइल बैंकिङको सुरुवात गर्दै २००९ मा नै ‘मोबाइल मनी’ को सुरुवात गर्दै लक्ष्मी बैंकले ग्राहकहरूलाई सेवा प्रदान गर्न थालेको पाइन्छ । मोबाइल मनीका प्रयोगकर्ताहरूलाई म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचनादेखि मोबाइलमा रिचार्ज गर्न सकिने सुविधा रहेको थियो । खाताको सामान्य जानकारी दिँदै नेपालमा मोबाइल बैंकिङ सुरुवात भएको समयदेखि अहिले कलेजको बिल, बिजुलीको बिल तिर्नेदेखि लिएर हरेक कारोबार सम्पन्न हुन थालेका छन् । मोबाइल बैंकिङमा आकर्षक गर्नका लागि बैंकहरूले पनि आकर्षक सुविधा उपलब्ध गराउँदै आएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार पनि दिनप्रतिदिन मोबाइल बैंकिङ प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको छ । राष्ट्र बैंकको मंसिरसम्मको तथ्यांकअनुसार मोबाइलबाटै बैंकिङ कारोबार गर्नेहरू बढ्दै गएको देखिन्छ । केन्द्रीय बैंकका अनुसार मोबाइल बैंकिङका ग्राहक १ करोड ९७ लाख ६६ हजार पुगेका छन् । त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ७० हजार पुगेका छन् भने वालेट प्रयोगकर्ताहरू १ करोड ५५ लाख पुगेका छन् । अहिले १ करोड १९ लाख २७ हजार डेबिट कार्ड, २ लाख ७० हजार क्रेडिट कार्ड र १ लाख २६ हजार प्रिपेड कार्ड प्रयोगमा छन् ।

यस्तै कनेक्ट आईपीएस प्रयोगकर्ताहरू ९ लाख ७४ हजार छन् । संख्यात्मक रूपमा प्रयोगकर्ताको वृद्धि भए पनि डिजिटल वालेटहरूको महत्व र सहजपन थाहा नपएका कारणले अझै पनि महिलाहरू जोडिन नसकेको बताउँछिन् एक बैंककी कर्मचारी अञ्जु घिमिरे । उनका अनुसार ग्राहकहरूमा अझै बैंकिङ शिक्षा र प्रयोग गर्ने तरिकामा जानकारी पुगेको छैन । ग्राहकहरू डिजिटल पेमेन्टको समस्या लिएर दिनहुँ बैंकमा आउने गरेको उनले बताइन् । उनले भनिन्, ‘बैंकहरूले डिजिटल भुक्तानीमा जोड दिएका छन्, तर आवश्यक जानकारी र शिक्षा पहुँचकर्तासम्म पुग्न सकेको छैन ।’ 

प्रयोगकर्ता बढ्दो

प्रफुल्ल रिजाल 
‘फोन पे’ ब्रान्ड म्यानेजर 


हामीले तीन वर्षदेखि ‘डिजिटल वालेट’ का रूपमा ‘फोन–पे’ लाई बिस्तार गर्दै आएका छौं । हामीसँग ६० भन्दा बढी ‘पार्टनर’ छन् । जसमा प्रयोगकर्तारूको संख्या १ करोड ६० लाखभन्दा बढी छ । दिनप्रतिदिन प्रयोगकर्ताहरूको संख्या पनि बढ्दै गएको अवस्था छ । अस्पतालदेखि रेस्टुराँसम्म ‘फोन पे’ मार्फत ‘पेमेन्ट’ गर्ने सुविधा छ । यतिमात्र नभई नियमित फोन प्रयोग गर्नेहरूले बैंकमार्फत बिनाधितो ऋण लिन सकिन्छ । जुन क्रेडिट कार्डजस्तै प्रयोग गर्न सकिन्छ । कोभिड महामारीपछि भने ‘डिजिटल पेमेन्ट’ गर्नेहरूको संख्या बढ्न थालेको छ । 
‘फोन पे’ ले ‘डिजिटल पेमेन्ट’ लाई मात्र प्रवर्द्धन गरेको छैन । प्रयोकर्ताहरूलाई कसरी चलाउने, फाइदा के छन् आदि तालिम पनि दिइरहेको छ । विभिन्न समयमा दिइएका त्यस्ता तालिमले १५ देखि ३५ प्रतिशतसम्म प्रयोगकर्ताहरूमा हामी पुग्न सफल भएका छौं । ‘डिजिटल पेमेन्ट’मा सुरक्षित पेमेन्टको सुरक्षाको चुनौतीको कुरा पनि उठिराख्छ । यसमा हामी सँगसँगै प्रयोगकर्ताहरू पनि सचेत हुनुपर्छ ।

‘डिजिटल पेमेन्ट’को युग 

अमित अग्रवाल
सह–संस्थापक, खल्ती एप

यो ‘डिजिटल पेमेन्ट’को युग हो । हामीले ६ वर्षदेखि ‘डिजिटल’ भुक्तानीमा काम गर्दै आएका छौं । सबैभन्दा बढी युवाहरूले चलाउने गरेका छन् । हामीसँग ३० लाख प्रयोगकर्ता छन् । यसमा महिला १७ प्रतिशत छन् । महिलामा पनि ‘डिजिटल’ भुक्तानी गर्ने ‘ट्रेन्ड’ बढेको छ । ‘खल्ती एप’ सबैभन्दा बढी मुभी टिकटका लागि प्रयोग हुने गर्छ । ‘डिजिटल’ भुक्तानीमा महिलाहरूलाई सहभागिता गराउन हामीले ‘स्मार्ट छोरी’ कार्यक्रम सञ्चालन गरेका छौं । यसको उद्देश्य सबै महिला ‘खल्ती एप’ मार्फत भुक्तानीमा जोडिउन् भन्ने हो । स्मार्टफोन र इन्टरनेटको पहुँच भएका वा रहेका अभियानमा सामेल हुन सक्नेछन् । यसअन्तर्गत ‘डिजिटल वालेट’, बैंक खाता खोल्ने, ‘अनलाइन’ सुरक्षाका साथै अनलाइन प्रशिक्षण सेवा पनि पर्छ । खल्तीमा बैंकमा लिंक गर्नासाथ भुक्तानी गर्न सकिन्छ । यसका लागि छुट्टै पैसा लोड गर्नु पर्दैन । ‘वालेट’ प्रयोगकर्ताहरूलाई हामीले भिडियो बनाएर सिकाइरहेका हुन्छौं । डिजिटल पेमेन्टको बजार बिस्तार हुँदै जाँदा हामीले पनि सेवा बिस्तार गर्दै गएका छौं । हाम्रो मुख्य उद्देश्य प्रयोगकर्ताहरूको सन्तुष्टि हो । हामीले समयअनुसार क्रमशः आफूलाई स्तरोन्नति गर्दै लगेका छौं । 
 

महिला प्रयोगकर्तामा जोड

स्वेता बग्लागार्ग 
बिजनेस अफिसर ‘नेपाल–पे’

नेपाल टेलिकम र वाणिज्य बैंकको सहकार्यमा ‘डिजिटल पेमेन्ट’ ‘नेपाल पे’ विगत डेढ वर्षदेखि सञ्चालित छ । यसलाई नेपाल राष्ट्र बैंकले मान्यता दिएको छ । यो सरकारी कम्पनीको पहिलो डिजिटल कम्पनी हो । अहिले यसमा तीन लाख प्रयोगकर्ताहरू छन् । २० प्रतिशत त महिला नै छन्। ‘नेपाल पे’ अन्तर्गतका सेवाग्राहीहरूले मोबाइलबाट रिचार्ज गर्नेदेखि ‘क्युआर स्क्यान’ र हवाई टिकटसम्म लिन सकिन्छ । यसमा पिएसी र डिएसी कन्सेप्ट छ । आगामी दिनमा थुप्रै योजना पनि निर्माण गर्ने क्रममा छौं । जस्तै विद्यालयको फि, क्लिप बिल (नेपाल पे टु नेपाल पे) अन्य सरकारी संस्थाहरूमा पनि जोड्दै लैजाने तयारीमा छौं । डिजिटल पेमेन्टमा महिलाहरूको सहभागिताको कुरा गर्दा लक्षित समूहसम्म हामी पुग्न सकेका छैनौं । धेरै महिला अझै पनि डिजिटल पेमेन्ट र यसको प्रयोगबाट बेखवर छन् ।

 Image