Successfully Copied

बचत–कर्जा

महिलालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले विभिन्न नामका बचत खाता सञ्चालनमा ल्याउने क्रम बढ्दो छ । महिला आर्थिक क्रियाकलापमा सक्रिय हुँदै गएकाले बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदरमा खाता खोल्न प्रोत्साहन गरिरहेका छन् ।

महिलालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले विभिन्न नामका बचत खाता सञ्चालनमा ल्याउने क्रम बढ्दो छ । महिला आर्थिक क्रियाकलापमा सक्रिय हुँदै गएकाले बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदरमा खाता खोल्न प्रोत्साहन गरिरहेका छन् । वाणिज्य बैंकहरूले नारी बचत खाता, गृहिणी बचत खाता, सिर्जनशील महिला बचत खाता आदि सञ्चालनमा ल्याएका छन् । महिलाका लागि आकर्षक ब्याजदरका साथै बिमा समेत हुने भएकाले पनि बैंकमा खाता खोल्न र कारोबार गर्न महिला उत्साहित छन् ।


सिभिल बैंकले नारीलाई लक्षित गर्दै ‘नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत न्यूनतम एक हजार रुपैयाँ बचत गर्न सकिन्छ । यो खाताका लागि बैंकले चेक बुक सित्तैमा उपलब्ध गराउँछन् र मोबाइल बैंकिङदेखि इन्टरनेट बैंकिङ सञ्चालन गर्न सकिन्छ । सिभिल बैंकका एक अधिकारीका अनुसार महिला यस्ता स्किममा आकर्षित हुँदै गएका छन् । घरपरिवारको खर्चको निर्णय लिनुपर्ने भएकाले पनि महिलाले सानो रकममा पनि बचत गरिरहेका छन् ।
बैंक अफ काठमाडौंले महिलाका लागि ‘गृहलक्ष्मी बैंक खाता’ सञ्चालनमा ल्याएको छ । पाँच सय रुपैयाँमा खाता खोल्न सकिने उक्त बैंकमा लकरमा समेत ५० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ ।

सहुलियत ब्याजदरमा खाता खोल्न सकिने उक्त खातामा फ्रि डेभिड कार्डको समेत सुविधा छ । सहुलियत ब्याजदरमा उपलब्ध हुने भएकाले महिलाहरूलाई लक्षित गरी बैंक खाता सञ्चालन गर्नाले महिलाहरू पनि बचत गर्न अग्रसर भएको बैंककी व्यवस्थापन प्रमुख अञ्जु पन्त बताउँछिन् । उनका अनुसार नारी लक्षित बैंक खाताहरूले महिलाहरूलाई बचत गर्ने बानीको विकास गराउँछ । घरको आर्थिक क्रियाकलापदेखि व्यवस्थापनसम्म महिलाको हातमा हुने भएकाले बचत गर्न आवश्यक ठानिरहेका हुन्छन् । त्यसैले पनि बैंकले प्रतिस्पर्धामा आधारित रहेर महिलालाई आकर्षित बनाइरहेको उनको भनाइ छ ।


एनसीसी बैंककी मार्केटिङ अफिसर सुस्मिता श्रेष्ठका अनुसार महिलाहरू बैंकिङ कारोबारमा निकै अगाडि बढिसकेका छन् । गृहिणीदेखि लिएर अफिसियल महिलाहरूमा बैंकिङ चेतना बढ्दै गएको छ । डिजिटल बैंकिङमा पनि महिलाहरूले फड्को मारिसकेका छन् । उनी भन्छिन्, ‘महिलाहरू बचत गर्नेदेखि आर्थिक क्रियाकलापमा निकै अगाडि छन्, जसले गर्दा बैंकहरूले पनि महिलाहरूलाई लक्षित गर्दै विभिन्न योजना ल्याउने आवश्यकता महसुस गर्न थालेका छन् ।’ महिलाहरूलाई बचतको आवश्यकता महसुस गरेर एनसीसी बैंकमा ‘सुरक्षित महिला बचत खाता’ सञ्चालित छ । सय रुपैयाँमा खाता खोल्न सकिने उक्त खातामा लकरमा ५० प्रतिशतसम्म छुटको व्यवस्था छ । त्यस्तै १० हजारसम्मको बिमा प्राप्त गर्न सकिन्छ ।

महिला उद्यमशील कर्जा
नेपाल सरकारले महिला उद्यमीलाई थप प्रोत्साहन गर्न १५ लाख रुपैयाँसम्म ऋणमा अनुदान दिने कार्यविधि बनाएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत ‘कार्यविधि २०७५’ मा उल्लेख भएअनुसार यस्तो अनुदान व्यक्ति वा संस्थालाई सीधै नदिई, ऋण दिने बैंक तथा वित्तीय संस्थाबाट लिन सकिन्छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ । बैंकहरूले यो प्रक्रियाबाट कायम गरेको ब्याजदरमा सरकारले ६ प्रतिशत ब्याज आफैले अनुदान दिन्छ । नगदे बाली, पशुपालन, सिचाइ, स्वरोजगारमूलक व्यवसाय गर्ने महिलाका लागि कर्जाको व्यवस्था छ । यस्तो ऋण बढीमा पाँच वर्षमा तिर्नुपर्ने प्रावधान छ । तर व्यवसायको प्रकृतिअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई ऋण चुक्ता गर्नुपर्ने अवधि तोक्न सक्ने सुविधा पनि छ ।
प्रभु बैंकका प्रवक्ता मनिराम पोखरेलका अनुसार महिलाहरूको उद्यमलाई अगाडि बढाउन यस्ता कर्जाले सहयोग पुगेको छ । १५ लाखसम्म कर्जा लिन मिल्ने भएकाले पनि यो कर्जाले महिलालाई सहयोग पुगेको उनी बताउँछन् । सरकारले महिला उद्यमशील कर्जाको धारणा अघि सारे पनि बैंक वा वित्तीय संस्थामार्फत कर्जा नपाइएको गुनासो ग्राहकले गरिरहेका छन् । कर्जाका लागि बैंकले विभिन्न समस्या देखाउने गरेको ग्राहकहरूले गुनासो गरिरहेका छन् । आवश्यक कागजात पूरा नभएको समयमा कहिलेकाहीँ समस्या हुने पोखरेल बताउँछन् । उनी भन्छन्, ‘ग्राहकहरूले प्रक्रिया नपुर्‍याई कर्जा माग्दा कहिलेकाहीँ समस्या हुनाले केही ढिला हुन्छ । प्रक्रियाअन्तर्गत रहेर कर्जा दिन बैंकलाई केही समस्या छैन ।’ महिला उद्यमशील कर्जाबाहेक महिलाका लागि अन्य कर्जाहरू पनि सञ्चालनमा ल्याएका छन् । जस्तै, ग्लोबल आइएमी बैंकले ‘ग्लोबल नारी कर्जा’ ल्याएको छ । यसअन्तर्गत बैंकले सामूहिक जवानीमा कर्जा उपलब्ध गराउँछन् । यसमा ९० हजारदेखि सात लाखसम्म कर्जा लिन सकिने बैंकका रिेटेल बैंकिङ प्रमुख नरहरि सिलवालले बताए ।
 

कर्जाका लागि


विलियम मान रञ्जित
कस्टमर सर्भिस, बैंक अफ काठमाडौं

- १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।
- उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव
- स्पष्ट रूपमा आवेदन फाराम ।
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- व्यवसाय तथा स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि ।
- कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वघोषणा ।

 Image