Successfully Copied

नीताले नसोचेको यात्रा

जीवनको यो अवस्था अत्यन्त जटिल रहेको नीता सम्झन्छिन् । सिमेन्टको पक्की घरबाट माटोको घर, ग्याँसबाट दाउरे चुल्हो, मीठोमसिनोबाट छाक धान्नैपर्ने स्थितिमा पुगेपछि असाध्यै दुःख पाएको उनी बताउँछिन् । ‘पहिला दुःख पाएर पछि सुख पाएको भए राम्रो हुन्थ्यो होला तर यहाँ त उल्टो भयो,’



काठमाडौं वसन्तपुरको गल्ली चहार्दै, नेवारी टोलमा हुने विभिन्न जात्रामा फुरूङ्ग भएर स्टेज चढ्थिन् नीता । स्कुल पढ्दा उनलाई शिक्षक वा साथीसंगीले ठूलो भएपछि के बन्ने भनेर सोधे भने उनको उत्तर हुन्थ्यो, ‘हिरुनी’ । अनि शिक्षकहरू हिज्जे सिकाउँथे, ‘हिरुनी होइन हिरोइन ।’
यसरी नाच्दै रमाउँदै बित्यो नीताको बाल्यकाल । नुवाकोटका सोमप्रसाद ढुंगाना र हेटौंडाकी मीनाकुमारीले छोरीलाई लाडप्यारमै हुर्काए ।नीताको युवावस्था आधा काठमाडौं र आधा हेटौंडामा बित्यो । काठमाडौंको सुखसयलमा बसेको ढुंगाना परिवारको व्यावसायिक अवस्था बिग्रिएकाले हेटौंडा–यात्रा तय भएको थियो । जीवनको यो अवस्था अत्यन्त जटिल रहेको नीता सम्झन्छिन् । सिमेन्टको पक्की घरबाट माटोको घर, ग्याँसबाट दाउरे चुल्हो, मीठोमसिनोबाट छाक धान्नैपर्ने स्थितिमा पुगेपछि असाध्यै दुःख पाएको उनी बताउँछिन् । ‘पहिला दुःख पाएर पछि सुख पाएको भए राम्रो हुन्थ्यो होला तर यहाँ त उल्टो भयो,’ उनी भन्छिन्, ‘जीवनको त्यो घडीले आगामी दिनमा जस्तोसुकै दुःख आए पनि बाँच्न सकिन्छ भन्ने सिकायो ।’


करिअर र मुभी
नीताको मुभी करियर ‘मितिनी’ चलचित्रमा बालकलाकारदेखि सुरु भयो । क्रमशः उनको करिअरले यति उचाइ लिँदै गयो कि एकताका उनलाई खाने फुर्सदसम्म भएन । करिअरको चुचुरोमा रहँदै गर्दा उनी सवारीदुर्घटनामा परिन्, अनुहार बिग्रियो । ‘त्यसपछि मुभीमा काम पाउन कठिन हुन थाल्यो । काठमाडौंमा जीवन धान्नैपर्‍यो भनेर रिसेप्सनिस्ट जागिर खोज्दै हिँडें,’ नीता भन्छिन्, ‘उपचारद्वारा रिकभर हुँदै गएपछि फेरि काम पाउन थालें ।’


७५ फिल्ममा अभिनय
नीताले ७५ वटा फिचर फिल्ममा काम गरिसकिन् । यसका अलावा चार सयभन्दा बढी म्युजिक भिडियो तथा डेढ दर्जन विज्ञापनमा अभिनय गरिसकेकी उनी भजन गायनमा समेत रुचि राख्छिन् ।‘मनोरञ्जन क्षेत्रमा काम गर्नुको विकल्प छैन,’ उनी भन्छिन्,‘बच्चैदेखि यसमा रस पस्यो, यसैलाई माया र सम्मान गरें, यसैलाई पेसा बनाएँ ।’ उसो त नीताले ज्योतिषी श्रीमान् हरिहर अधिकारीको व्यवसायमा समेत सहयोग गरिरहेकी छिन् । ब्रिलियन्ट कलेजबाट ब्याचलरसम्मको अध्ययन पूरा गरेकी उनी हाल ज्योतिष पढ्दैछिन् ।
नीताले निर्माण गरेको ‘ह्रस्वदीर्घ’ असोज ३ मा रिलिज हुँदैछ । ‘धेरै सोच्नुपर्ने जटिल खालको चलचित्र होइन यो । बच्चादेखि बूढासम्मले बुझ्ने रमाइलो पारिवारिक कथा यसभित्र छ,’ उनी भन्छिन्, ‘त्यसैले यसलाई हामीले फ्यामिली ड्रामा भनेका छौं । हेर्दा आनन्द आउने मुभी बनेको छ ।’



सम्बन्ध र विवाह
जन्मदेखि नै मानिस विविध सम्बन्धमा बाँधिएरै आएको हुन्छ भन्ने नीताको धारणा छ । मानव भएर जन्मिएपछि हरेक चरण पार गर्नुपर्छ र जीवनका तिनै चरण पार गर्ने क्रममा आउने एउटा चरण हो विवाह । बच्चा, युवावस्था, वैवाहिक अवस्था, वृद्धावस्था सबैको उपभोग गर्नुपर्छ भन्छिन् उनी ।


धर्म, संस्कृति र चाडपर्व
धर्मले मानिसलाई ध्यानी, ज्ञानी र संस्कारी बनाउँछ भन्ने नीताको बुझाइ छ । यस्तो आचरण सिकाउने धर्मले जन र जगत्का लागि फाइदा गर्ने उनको तर्क छ । ‘हाम्रा हरेक पर्वको आफ्नै अर्थ, महिमा र विशेषता छन्,’ भन्छिन्, ‘म हरेक पर्व उत्तिकै इन्जोय गर्छु । पारिवारिक सुख, सामाजिक संस्कारका लागि पनि धर्म मान्नुपर्छ जस्तो लाग्छ ।’


तीज र व्रत
पहिलो रजस्वलापछि नै व्रत बस्न सुरु गरेकी नीता हरेक ब्रतमा आनन्द अनुभूति गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘धर्मप्रति आस्था छ । हरेक व्रतमा म आनन्द, शान्ति, सकारात्मक ऊर्जा थपिएको महसुस गर्छु । तीजले भने नारीहरूलाई नारीजस्तै देखाउँछ, मलाई मनपर्ने चाड हो तीज ।’



मनपरेका आफ्ना चलचित्र
मितिनीले पहिचान बनायो, छ एकान छ हिट भयो, मसान र पञ्चायत हृदयमै बस्यो ।
महिलाका लागि गर्नसक्ने योगदान
महिला केन्द्रित चलचित्र निर्माण एवं सशक्त महिला पात्रको भूमिका निर्वाह गरेर ।
योजना
चलचित्र निर्माण र अभिनयमार्फत समाज र राष्ट्रका लागि योगदान गर्ने ।
पहिरन– लक्की सुनुवार, स्टाइलक्स बुटिक लाजिम्पाट ।
मेकअप तथा हेयर– पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी नयाँबानेश्वर ।
लोकेसन–ल्यान्डमार्क पार्टी प्यालेस कालिमाटी ।
तस्बिरहरू–महेशमान प्रधान ।

गहना– रियान फेसन इन्द्रचोक 

 Image