Successfully Copied

प्राकृतिक मोस्चराइजर

जाडो मौसममा छाला सुख्खा हुन्छ । पहिलादेखि नै सुख्खा छाला हुनेहरूको यो मौसममा अझ बढ्न सक्छ । ‘कस्मेटिक’ प्रसाधनमा विभिन्न किसिमका रसायन मिसाइएको हुन्छ ।

जाडो मौसममा छाला सुख्खा हुन्छ । पहिलादेखि नै सुख्खा छाला हुनेहरूको यो मौसममा अझ बढ्न सक्छ । ‘कस्मेटिक’ प्रसाधनमा विभिन्न किसिमका रसायन मिसाइएको हुन्छ । यसले छालामा नकारात्मक प्रभाव पार्न सक्छ । यस्ता सामग्री महँगा पनि हुन्छन् । भान्सामा उपलब्ध सामग्रीहरूको प्रयोग गरी छालालाई स्वस्थ र मुलायम बनाउन सकिन्छ । यी सामग्रीले छालामा नकारात्मक प्रभाव पनि पार्दैनन् । 

गुलाब जलले छालालाई ‘हाइड्रेट’ गर्छ । यसले भित्रैबाट छालालाई ‘मोस्चराइज’ (आद्रता/नमी) गर्छ । नौनी घिउमा ‘ओमेगा–३ फ्याटी एसिड’ हुन्छ । यसले ‘न्युट्रीलाइव’ गर्छ र ‘पीएच लेभल’ लाई सन्तुलनमा राख्छ । यसमा ‘एन्टी–अक्सिडेन्ट’ गुण भएकाले कोषहरूलाई स्वस्थ राख्छ । धेरै सुख्खा छाला छ भने राति अनुहारमा नौनी लगाएर सुत्ने र बिहान मनतातो पानीले पखाल्दा छाला नरम हुन्छ । त्यस्तै बदामको तेलमा भिटामिन ‘ई’ पाइन्छ । यो अनुहारमा मात्र नभएर पूरै शरीरमा लगाउँदा धेरै समयसम्म छालालाई ‘मोस्चराइज’ राख्छ । दहीमा ‘ल्याक्टिक एसिड’ प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा ‘हाइड्रेसन’ को गुण पनि हुन्छ । यसले छालालाई सुख्खा हुन दिँदैन । नरिवलको तेल लगाउँदा पनि धेरै फाइदा हुन्छ । यो अनुहार, शरीर र ओठमा लगाउन सकिन्छ । यसमा भएको ‘फ्याटी एसिड’ ले छालालाई भित्रैबाट पोषण प्रदान गर्छ । 

किन आवश्यक ?

‘मोस्चराइजर’ को काम भनेको छाला नरम र सुख्खापन कम गराउनु हो । ‘ओलिभ आयल’, ‘ओटमिल’ वा नरिवल तेलको प्रयोग गर्दा छाला मुलायम बन्छ । प्राकृतिक ‘मोस्चराइजर’ को प्रयोग गर्दा छालाको प्राकृतिक तेल नष्ट हुँदैन । यसले गहिराइमा पुरेर छाला ‘मोस्चराइज’ गर्छ । छालालाई ‘हाइड्रेट’ राख्नका लागि घरमा बनाइएको ‘मोस्चराइजर’ उपयोगी हुन्छ । बजारमा पाइने ‘मोस्चराइजर’ ले केही समय छाला नरम बनाए पनि लामो समयसम्मका लागि उपयोगी मानिँदैन । 

घिउकुमारी 

छाला सुख्खा र ‘सन वर्न’ पनि भएको छ भने घिउकुमारीको प्रयोग गर्दा फाइदा पुग्छ । घिउकुमारीको ‘मोस्चराइजर’ बनाउन दुई चम्चा यसको जेल, चार चम्चा बदामको तेल र चार चम्चा भिटामिन ‘ई’ को आवश्यक पर्छ । यी तीनै थरी एकैठाउँमा मिसाएर मज्जाले चलाउनुपर्छ । क्रिमजस्तै नबनुन्जेल चलाइराख्नुपर्छ । एक रात डिब्बामा बन्द गरेर राख्नुपर्छ । दिनमा दुई पटक यसको प्रयोग गर्न सकिन्छ । सुगन्धका लागि जस्मिनको तेल प्रयोग गर्न सकिन्छ ।

दूध

दूधमा ‘एन्टी–फ्लामेटरी’ र ‘ल्याक्टिक एसिड’ जस्ता गुण पाइन्छ । दूधको ‘मोस्चराइजर’ बनाउनका लागि आधा चम्चा ‘सी बटर’, आधा कप ‘पास्चराइड’ दूध, दुई चम्चा बदामको तेल र केही थोपा ‘एसेन्सियल’ तेलको आवश्यकता पर्छ । एउटा कपमा दूध र ‘सी बटर’ राम्रोसँग घोलेर त्यसपछि बदामको तेल हाल्नुपर्छ । वासनादार बनाउनका लागि आफूलाई मनपर्ने ‘एसेन्सियल’ तेल हालेर राम्रोसँग मिक्स गर्नुपर्छ । यसरी तयार पारिएको ‘मोस्चराइजर’ बेलुका सुत्नुअघि अनुहार एवं हातखुट्टामा लगाउन सकिन्छ । 

ओटमिल

‘ओटमिल’ मा छालालाई ‘हाइड्रेट’ गर्ने क्षमता हुन्छ । यसको ‘मोस्चराइजर’ बनाउनका लागि थोरै ‘ओटमिल’, नरिवलको तेल र केही थोपा ‘रोजमेरी’ तेल चाहिन्छ । सबै सामग्री एकैसाथ मिसाएपछि चिसो बनाउनका लागि ‘फ्रिज’ मा राख्नुपर्छ । दिनमा दुई पटक यो मोस्चराइजरको प्रयोग गर्न सकिन्छ । ‘डिप मोस्चाइरजर’ को आवश्यक परे यसैमा एक चम्चा ‘ओलिभ आयल’ मिसाउन सकिन्छ । 

जाभाकुसुम 

यो फूलमा ‘एन्टी–अक्सिडेन्ट’ गुण पाइन्छ । यसको प्रयोगले छाला नरम र चम्किलो बनाउँछ । यसको ‘मोस्चराइजर’ बनाउनका लागि यो फूलको पत्रलाई सुकाउनुपर्छ । सुकेको पत्रलाई पिसेर धूलो बनाउने र त्यसमा नरिवलको तेल मिसाएर पेस्ट बनाउनुपर्छ । केही समय ‘फ्रिज’ मा राखेपछि ‘मोस्चराइजर’ प्रयोग गर्न सकिन्छ । 

मह

महमा ‘एन्टी–ब्याक्टेरियल’ गुण हुन्छ । साथै यसमा छालालाई ‘हाइड्रेट’ गर्ने तत्व पनि हुन्छ । यसको ‘मोस्चराइजर’ बनाउनका लागि दुई चम्चा मह, एक चम्चा ग्लिसिरिन, दुई चम्चा ‘ग्रिन टी’ र एउटा कागतीको रसको आवश्यकता पर्छ । यी सबै सामग्रीलाई राम्रोसँग मिसाउनुपर्छ । यसलाई दिउँसो लगाउँदा ३० मिनेटपछि पखाल्नुपर्छ । राति लगाउँदा बिहान पखाल्न सकिन्छ । यो ‘मोस्चराइजर’ को प्रयोगले छाला नरम बनाउँछ र रुखोपनबाट बचाउँछ । 

नरिवलको तेल

नरिवलको तेलले छाला सुख्खा हुनबाट जोगाउँछ । यसका लागि नरिवलको तेल र महको आवश्यकता पर्छ । दुवैलाई बराबरी मात्रामा मिलाएर राम्रोसँग मिसाएर ‘मोस्चराइजर’ बनाउन सकिन्छ । यसलाई लगाएर आधा घण्टा त्यत्तिकै छोडिदिएपछि अनुहार राम्रोसँग पखाल्नुपर्छ । यसरी बनाएको ‘मोस्चराइजर’ अनुहार, हातखुट्टा एवं गर्दनमा प्रयोग गर्न सकिन्छ । 

 

 Image